१२ मंसिर, काठमाडौं । गत अक्टोबर २७ मा सम्पन्न आम निर्वाचनबाट कुनै पनि दलले स्पष्ट बहुमत नल्याएपछि इजरायलमा नयाँ सरकार गठनको प्रक्रिया थप अनिश्चित बनेको छ।
मध्यमार्गी याशार पार्टीका प्रमुख गादी आइजनकोट र उनका मुख्य प्रतिद्वन्द्वी कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीबीच संयुक्त सरकार गठनका लागि भइरहेका वार्ता निष्कर्षविहीन बनेका छन्।
इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायल र सार्वजनिक प्रसारक कानका अनुसार नेतन्याहूले आइजनकोटलाई पहिले प्रधानमन्त्री बनाउने गरी आलोपालो सरकार सञ्चालनको प्रस्ताव अघि सार्ने तयारी गरेका छन्।
प्रस्तावअनुसार सुरुको दुई वर्ष आइजनकोट र त्यसपछिको दुई वर्ष नेतन्याहू प्रधानमन्त्री बन्नेछन्। कानका अनुसार लिकुड पार्टीभित्र सर्तहरूबारे अझै मतभेद रहेकाले आवश्यक पर्दा अस्वीकार गर्न मिल्ने गरी उक्त प्रस्ताव अनौपचारिक रूपमा आइजनकोटसमक्ष पुर्याइसकिएको छ।
तर, आइजनकोट र उनका सहयोगीहरूले नेतन्याहूको उक्त प्रस्तावमाथि विश्वास गरेका छैनन्। इजरायल बेतेनु पार्टीका प्रमुख एभिगडोर लिबरम्यानले शुक्रबार सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै यो प्रस्ताव पुनः निर्वाचन गराउने नेतन्याहूको चाल मात्र भएको दाबी गरेका छन्।
‘नयाँ सरकार बन्ने अवस्था देखिएको छ। नेतन्याहूले आइजनकोटलाई आलोपालोको प्रस्ताव दिन सक्छन्, तर यो केवल एक चाल हो भन्ने सबैले बुझ्नुपर्छ,’ लिबरम्यानले लेखेका छन्।
उनका अनुसार नेतन्याहूले संयुक्त सरकारको वार्तालाई अन्तिम समयसम्म लम्ब्याएर कुनै बहानामा भङ्ग गर्ने वा सरकार बनिहाले पनि केही महिनामै विवाद खडा गरेर देशलाई पुनः चुनावमा धकेल्ने रणनीति बनाएका छन्।
आइजनकोटको आरोप : लिकुड समय गुजार्ने नाटक गर्दै छ
आइजनकोटले शुक्रबार सामाजिक सञ्जालमा लामो विज्ञप्ति जारी गर्दै लिकुड पार्टीले नयाँ चुनाव निम्त्याउन वार्ता लम्ब्याइरहेको आरोप लगाएका छन्।
पछिल्लो दुई सातामा दुवै पक्षको वार्ता टोलीबीच जम्मा पाँचपटक मात्र भेटघाट भएको र लिकुडले थप बैठक गर्नसमेत अस्वीकार गरेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार लिकुड तीनवटा मुख्य एजेन्डामा छलफल गर्नबाट पन्छिएको छ । उनका अनुसार, पहिलो, ७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणसम्बन्धी कमजोरीको छानबिन गर्न सरकारी जाँचबुझ आयोग गठन गर्ने। दोस्रो, सरकारबाट कट्टरपन्थी नेताहरूलाई हटाउने र तेस्रो, सबै नागरिकका लागि सैन्य वा राष्ट्रिय सेवा अनिवार्य गर्ने कानुन बनाउने।
आफ्नो गठबन्धन जाँचबुझ आयोगका सर्त र न्याय प्रणालीमा सुधारका विषयमा सम्झौता गर्न तयार रहे पनि लिकुडले दुई सातामा एउटै ठोस प्रस्ताव नदिएको आइजनकोटको दाबी छ। उल्टै लिकुडले ‘उही सरकार, उही साझेदार, कुनै परिवर्तन नहुने र सैन्य सेवा कानुन पनि नल्याउने’ सबैभन्दा खराब प्रस्ताव राखेको उनले आरोप लगाएका छन्।
‘नेतन्याहूको रणनीति मेरो समयसीमा सकिने बेलासम्म घडी गुजार्ने र कामचलाउ सरकारकै नेतृत्वमा इजरायललाई अर्को चुनावमा धकेल्ने हो,’ आइजनकोटले भनेका छन्, ‘म यस्तो नाटकमा सहभागी हुने छैन।’
संसद्को गणित र गठबन्धनको सकस
इजरायलको १२० सदस्यीय संसद् (नेसेट) मा बहुमतका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ। अक्टोबर २७ को निर्वाचनमा नेतन्याहूको गठबन्धनले ५३ र आइजनकोटका सम्भावित साझेदार दलहरूले ४८ सिट जितेका थिए।
तर, अरब नेतृत्वका दलहरूसहित ६७ सांसदले आइजनकोटलाई समर्थन जनाएपछि (नेतन्याहूको पक्षमा ४६ मात्र) राष्ट्रपति इसाक हर्जोगले नोभेम्बर ८ मा आइजनकोटलाई सरकार गठनको जिम्मेवारी सुम्पिएका थिए।
मङ्गलबार याशार पार्टीले लिबरम्यानको यिजरायल बेतेनुसँग औपचारिक गठबन्धन सम्झौता गरेको थियो। तर, नेतन्याहूको लिकुड पार्टीसँग संयुक्त सरकारको वार्ता भएको विरोधमा ८ सिट रहेको वामपन्थी डेमोक्रेट्स पार्टीले यसै साता आइजनकोटसँगको वार्ता स्थगित गरेको छ।
४८ सिटको सम्भावित गठबन्धनलाई बहुमत पुर्याउन अझै १३ सिटको खाँचो छ। यसका लागि आइजनकोटसामु दुई जटिल विकल्प छन् । ती हुन्- धार्मिक दलसँग सहकार्य र अरब दलको समर्थन ।
दुई कट्टरपन्थी यहुदी धार्मिक दल ‘युनाइटेड टोरा जुडिज्म’ र ‘शास’ लाई साथमा ल्याउन सके आइजनकोटसँग ठ्याक्कै ६१ सिट पुग्छ। अनि, चुनावमा कीर्तिमानी १९ सिट जितेका अरब दलहरू (तीन दलको गठबन्धन ‘जोइन्ट लिस्ट’ सँग ११ र ‘राअम’ सँग ८ सिट) को समर्थन लिँदा सहज बहुमत पुग्छ।
तर, आइजनकोट र लिबरम्यान दुवैले अरब दललाई सरकारमा सहभागी नगराउने अडान राख्दै आएका छन्। यद्यपि, पुनः चुनाव टार्न युनाइटेड टोरा जुडिज्म र राअमलाई मिलाएर मध्यमार्गी बाटो खोज्ने प्रयास भइरहेको चर्चा छ।
उता, डेमोक्रेट्स पार्टीका प्रमुख यायर गोलानले भने नेतन्याहूलाई सत्ताबाट हटाउने एकमात्र उपाय अरब दलहरूको समर्थनमा अल्पमतको सरकार गठन गर्नु रहेको बताएका छन्।
पूर्वइजरायली शान्ति वार्ताकार तथा युएस/मिडल इस्ट प्रोजेक्टका अध्यक्ष ड्यानियल लेभीले अलजजिरासँग कुरा गर्दै यदि धार्मिक दलहरूसँग वार्ता असफल भए आइजनकोटले आफ्ना सहयोगीसामु ‘नेतन्याहूलाई सत्तामै राखिरहने कि केही महिनाका लागि अरब दलको समर्थन लिएर नेतन्याहूलाई हटाई नयाँ चुनावमा जाने’ भन्ने विकल्प राख्न सक्ने विश्लेषण गरेका छन्।
डिसेम्बर ६ को समयसीमा : सहमति नभए के हुन्छ ?
राष्ट्रपति हर्जोगले आइजनकोटलाई सरकार गठनका लागि आगामी डिसेम्बर ६ सम्मको समय दिएका छन्, जसलाई राष्ट्रपतिले आवश्यकताअनुसार १४ दिन थप गर्न सक्छन्। आइजनकोटका लागि यो समय व्यक्तिगत रूपमा पनि भावनात्मक छ, किनकि डिसेम्बर ७ मा गाजा युद्धमा ज्यान गुमाएका उनका २५ वर्षीय छोरा गालको तेस्रो वार्षिकी पर्छ।
यदि निर्धारित समयभित्र आइजनकोटले सरकार गठन गर्न नसके राष्ट्रपतिले नेतन्याहूसहित संसद्का अन्य कुनै सदस्यलाई २८ दिनको म्याद (थप नहुने) दिएर सरकार बनाउने अवसर दिन सक्नेछन्। यद्यपि, हाल नेतन्याहूका लागि पनि आफ्नो सरकार टिकाइरहेका सहयोगी दलहरूभित्रै फुट आउन सक्ने चिन्ता बढेको बताइएको छ।
दोस्रो प्रयासबाट पनि सरकार नबनेमा इजरायल पुनः आम निर्वाचनमा जानेछ र नयाँ सरकार नबनेसम्म नेतन्याहू नै कामचलाउ प्रधानमन्त्री रहनेछन्।
यसअघि सन् २०१९ मा पनि यस्तै राजनीतिक गतिरोध हुँदा इजरायलले एक वर्षभित्र तीनपटक निर्वाचन बेहोर्नुपरेको थियो र सन् २०२० को मार्चमा नेतन्याहू तथा बेनी ग्यान्ट्जबीच संयुक्त सरकारको सहमति भएपछि मात्र गतिरोध अन्त्य भएको थियो।
(अलजजिरा र टाइम्स अफ इजरायलको सहयोगमा)
प्रतिक्रिया 4