+
+
Shares
विचार :

जति लेख्छौँ, त्यति नजान्ने हुन्छौँ

प्राध्यापकीय लेखनयात्रा : लहर, छाल, लीला र ऋत

लेख्नु जरुरी छ, किनभने अनुभव बचाएर मात्र हुँदैन। अनुभवलाई बुझ्न, व्यवस्थित गर्न र अरूसामु राख्न लेखन चाहिन्छ।

बाल चन्द्र लुइटेल/निरोज दहाल बाल चन्द्र लुइटेल/निरोज दहाल
२०८३ मंसिर १३ गते ७:२१

गिल्स डिल्युजले भनेझैँ लेखन लहरहरूको सम्मिश्रण हो। हामीलाई पनि लाग्छः लेखनी शुरू गर्दै गर्दा कागज आमन्त्रण गर्छ, कलम बोलाउन थाल्छ, स्क्रिनमा आकर्षण हुन्छ, र मनभित्र थुप्रै लहरहरू चलिरहेका हुन्छन्। हाम्रो विचारमा लेखन यिनै लहरहरूको सम्मिश्रण हो। कुनै लहर स्मृतिको हुन्छ, कुनै लहर प्रश्नको, कुनै लहर यात्राको। हामी तीनै लहरमा हराउँदै लेख्न थाल्छौँ। एउटा वाक्य लेखिसकेपछि अर्को वाक्य आउँछ, एउटा छाल उठेपछि अर्को छाल उठेझैं। प्राध्यापकीय लेखनयात्रा यही छालहरूको शृङ्खला हो।

ग्यारी बार्खुजियनको भनाइमा यो यात्रा विचार र प्रमाणको किनारबाट सुरु हुन्छ, अनुभवको गहिराइमा पुग्छ र फेरि नयाँ पाठको किनारमा आएर टुङ्गिन्छ। तर यो शब्दको मात्र होइन, रूपान्तरणको यात्रा पनि हो। स्वर्गीय नोर्मान डेन्जिनको भनाइमा लेखाइ आफैँभित्रको यात्रीलाई भेट्ने यात्रा, आफ्नै आवाजलाई पहिचान गर्ने यात्रा र आफ्नै अभ्यासलाई आलोचनात्मक  ढङ्गले बुझ्ने यात्रा हो।

यहाँ हामी तीन पुस्ताका लेखन पाइलालाई सम्झँदै आफ्नै प्राध्यापकीय लेखनयात्राको लहर र छाललाई पढ्न खोज्छौँ। पिटर चार्ल्स टेलरले लेखनलाई संरचना र आवाज दिने कला दोस्रो पुस्ताका मध्ये  बालचन्द्र लुइटेललाई सिकाए। बालचन्द्र लुइटेलले त्यही आवाजलाई ‘लेखन नै अनुसन्धान’ भन्ने विधिलाई आफ्नो अभ्यासको केन्द्रमा राखे। तेस्रो पुस्ताका निरोज दहाल, जसले त्यही छहारीमा उभिएर सहकार्यात्मक स्वयम्-जातिवृत्तान्त  (Autoethnography)र ‘स्व-त्वम्-तत्’ (first-second-third persons inquiry) अनुसन्धानलाई नयाँ गहिराइ दिए। यी तीन पुस्ता एउटै नदीका तीन छाल हुन्ः एउटाले अर्कोलाई छुन्छ, एउटाले अर्कोलाई बाटो देखाउँछ। यो लेख अन्तिम विश्लेषण होइन; यो स्मरणको खुला पाना हो। यो प्रमाणको दस्तावेज होइन; यो अनुभूतिको सहयात्रा हो। हामी लेखकद्वय जानेर हैन नजानेर लेखिरहेका छौं। टीएस इलियटले भनेजस्तै आधुनिकताले दिने नादानी नै हाम्रो लेखाइको आधार हो। नजान्नु नै लेखनको लागि प्रेरणा हो।

लेखनको लीला र ऋत : जीवन नै पाठ, पाठ नै जीवन

पूर्वीय परम्परामा सृष्टिलाई लीला भनिन्छ र अर्को हिसाबले ईश्वरको नबुझिने खेल। यो खेल हल्का होइन; यो सृष्टिको सहज प्रवृत्ति हो। यो लेखका पहिलो लेखक लुइटेलले लीला र ऋतलाई द्वन्द्वात्मक र द्वन्देतर सम्बन्धका रूपमा प्रस्तुत गरेका छन्। संस्कृतमा लीला भन्नाले अव्यवस्था, खेल र अराजकता बुझाउँछ, जबकि ऋतले व्यवस्था, नियम र सत्यको व्यवस्थालाई जनाउँछ। वैदिक परम्परामा ऋत र लीला दैनिक जीवनका दुई विपरीत पक्ष हुन्: ऋतले जीवनको व्यवस्थित पक्षलाई बुझाउँछ भने लीलाले अराजकता, मिथक र खेलपूर्णतालाई। तर हाम्रा लागि यी दुई विरोधी होइनन्; एकले अर्कोलाई पूर्ण बनाउँछ। विज्ञान सामान्यतया ऋत, संज्ञान र तर्कको पक्षबाट बहस गर्छ; लीला, भावना र कल्पनाले कलालाई डोर्‍याउँछ।

यस्तो लेखनमा एउटा वाक्यले जति भन्न खोजेको हुन्छ, त्यसभन्दा बढी बोल्छ; एउटा शब्दले देखिनेभन्दा बढी बोक्छ। यही नै प्राध्यापकीय लेखकीयताको सौन्दर्य हो: शब्दको सतहमुनि बगिरहेको अर्थको लहरो।

हाम्रो लेखन यही लीला र ऋतको सन्तुलन हो। जब हामी लेख्छौँ, हामी शब्दसँग खेल्छौँः यो लीला हो। एउटा शब्द अर्कोलाई बोलाउँछ, एउटा वाक्य अर्कोको हात समात्छ। यो खेलमा आनन्द छ, स्वतन्त्रता छ, र नयाँ सम्भावनाको सुगन्ध छ। तर लीला जति स्वतन्त्र छ, त्यति नै अनुशासित पनि छ। यही अनुशासन ऋत हो: सत्यको व्यवस्था, नैतिकताको आधार, प्रमाणको सीमा। हामी शब्दसँग खेल्छौँ, तर त्यो खेल झुटको खेल होइन। हामी कल्पना गर्छौँ, तर त्यो कल्पनाले प्रमाणको सीमा नाघ्दैन। यही लीला र ऋतको सन्तुलनमा प्राध्यापकीय लेखकीयता जन्मन्छ। लीलाबिना लेखन सुख्खा हुन्छ; ऋत बिना लेखन अनुत्तरदायी हुन्छ।

यही सन्तुलनले हामीलाई एउटा सत्यतर्फ लैजान्छ: हामी जति लेख्छौँ, त्यति नजान्ने हुन्छौँ। फ्लानेरी ओकन्नरले भनेझैँ नजानेको थाहा पाउनु विरोधाभास होइन; यो लेखनको स्वभाव हो। जति धेरै लेख्छौँ, त्यति धेरै प्रश्न खुल्छन्। जति धेरै उत्तर खोज्छौँ, त्यति धेरै अज्ञानको क्षितिज फैलिन्छ। उपनिषद्को ‘नेति नेति’ भन्ने वाणीले यही भन्छ: यो होइन, त्यो पनि होइन। हरेक वाक्यले अर्को वाक्यको सीमा देखाउँछ। हरेक पाठले अर्को पाठको अन्धकार देखाउँछ। यसैले लेखन ज्ञानको घमण्ड होइन; अज्ञानको स्वीकार हो। हामी लेख्छौँ, किनभने हामी जान्दैनौँ। र लेख्दै जाँदा थप जान्दैनौँ भन्ने थाहा पाउँछौँ। यही थाहा नै लेखनको सबैभन्दा ठूलो उपहार हो।

शब्दसँग खेल्छौँ, लीला हो यो,
तर सत्यको डोरी छोड्दैनौँ।
जति लेख्छौँ, त्यति थाहा पाउँछौँ—
हामी अझै जान्दैनौँ।
ऋतले बाटो देखाउँछ,
लीलाले पाइला नचाउँछ।
लेखन यही दुईको सङ्गम हो—
खेलभित्रको अनुशासन,
अनुशासनभित्रको खेल।

जीवन लेखन: रैथाने र आदिवासी दृष्टिकोणको केन्द्रीयता

अब हामी प्राध्यापकीय लेखनको जग नै हल्लाउने प्रश्नसामु उभिन्छौँ। के लेखन जीवनभन्दा बाहिरको कुरा हो? के अनुसन्धान जीवनभन्दा माथिको कुरा हो? रैथाने र आदिवासी ज्ञान परम्पराले यी प्रश्नको उत्तर स्पष्ट यसरी दिन्छः जीवन नै पहिलो पाठ हो, र लेखन त्यही पाठको पुनर्पाठ हो।

पश्चिमा ज्ञानमीमांसामा आधारित मानवशास्त्रीय अध्ययन अपूरो मात्र होइन, त्यो दृष्टिकोणबाट निसृत ज्ञानले नेपालजस्तो बहुसांस्कृतिक समाजको विशिष्टता नै बुझ्न र बुझाउन सक्दैन। आज आदिवासी र रैथाने अध्येताहरू आफ्नै समुदायले ज्ञान कसरी निर्माण गर्छन् भन्ने खोजी गरिरहेका छन्। उनीहरू बाह्य विद्वानहरूद्वारा गरिने अनधिग्रहित अध्ययनलाई शोषणका रूपमा व्याख्या गर्छन् र आफ्नै जिउने मौलिक तौरतरिकामा आधारित ज्ञान प्राप्त गर्ने विधिलाई प्रोत्साहन गर्छन्। यो जातीय पहिचानको पुनरुत्थान मात्र होइन; यो ज्ञानको अनौपनिवेशीकरण विरुद्धको संघर्ष हो।

यही ठाउँमा जीवन लेखन प्रवेश गर्छ। डोरिस लेसिङको भनाइमा लेख्नु भनेको आफ्नो जीवनको कथालाई बाहिरबाट वर्णन गर्नु होइन; आफ्नै जीवनलाई पाठका रूपमा पढ्नु हो। रैथाने ज्ञान परम्परामा ज्ञान जीवनबाट अलग हुँदैन। जस्तो कि किरात राई समुदायमा ज्ञानको जरा दैनिक जीवन, आध्यात्मिकता र पुर्ख्यौली बुद्धिमत्तामा गाडिएको हुन्छ। शिक्षा स्वाभाविक रूपमा पारिस्थितिक, आध्यात्मिक र व्यावहारिक हुन्छ। यस अर्थमा लेखन भनेको जीवनको आन्तरिक पुनर्संरचना हो।

हामी दुवैको काम यही रैथाने दृष्टिकोणलाई गहिरोसँग जोड्नु हो। हामीले ट्यामी स्प्राईले भनेझैं स्वयम्/जातिवृत्तान्तलाई अनुसन्धान विधिका रूपमा मात्र होइन, जीवनलाई ज्ञानको स्रोतका रूपमा स्थापित गर्ने साधनका रूपमा प्रयोग गरेका छौं। हाम्रा लागि  स्वयम्-जातिवृत्तान्तीय लेखनले ‘आत्म-चेतनालाई उठाउने’ र ‘अन्तर्मुखी र बहिर्मुखी आत्माको रूपान्तरण’ गर्ने माध्यम बन्छ। यो त्यो लेखन हो, जसले ‘पीडादायी र आनन्ददायी जीवित अनुभवहरूलाई’ व्यक्त गरेर सिमानाहरूको खाडललाई जोड्छ। लुइटेल र दहालको साझा कृतिको शीर्षक नै Autoethnography: Writing Lives and Telling Stories अर्थात् स्वयम्-जातिवृत्तान्त: जीवन लेखाइ र कथा भनाइ छ। यो शीर्षक आफैँमा एउटा घोषणा हो: जीवन लेखन अनुसन्धानको विषय मात्र होइन; जीवन लेखन अनुसन्धानको विधि हो।

लुइटेलको शोध निर्देशनमा दहालले गरेको पछिल्लो कामले यो दिशालाई अझ स्पष्ट पारेको छ। उनले स्व-त्वम्-तत् अनुसन्धान विधि प्रस्ताव गरेका छन्, जुन तत् त्वम् असि भन्ने प्राचीन अवधारणामा आधारित  छ र पश्चिमा ज्ञानमीमांसाको विकल्पका रूपमा उभिएको छ। यो अनुसन्धानले ‘स्व’ लाई ज्ञानको केन्द्रमा राख्छ, र त्यही ‘स्व’ बाट सामूहिक ‘त्वम्’ र परम ‘तत्’ सम्मको यात्रा गर्छ।

जीवन पहिलो पाठ हो,
लेखन त्यसको पुनर्पाठ।
हामी बाँच्छौँ, त्यसपछि लेख्छौँ—
तर लेख्दा फेरि बाँच्न थाल्छौँ।
रैथाने माटोमा जरा गाडेको शब्द,
आदिवासी स्वरमा उम्रेको अर्थ।
जीवन लेखन भनेको यही हो—
आफ्नै कथामा आफैँलाई भेट्नु,
र त्यही भेटमा संसारलाई बुझ्नु।

लेख्नु किन जरुरी छ? 

लेख्नु जरुरी छ, किनभने अनुभव बचाएर मात्र हुँदैन। अनुभवलाई बुझ्न, व्यवस्थित गर्न र अरूसामु राख्न लेखन चाहिन्छ। हामी प्रत्येक दिन कक्षाकोठामा प्रवेश गर्छौँ, विद्यार्थीसँग संवाद गर्छौँ, सिद्धान्त पढ्छौँ, प्रश्न सोध्छौँ। यी सबै क्रिया अनुभवका लहरा हुन्। तिनलाई लेखनले छालमा बदल्छ। लेखनले हाम्रा अपरीक्षित जीवनलाई क्रमशः परीक्षाको केन्द्रमा उभ्याउँछ।

तर लेख्ने भनेको प्रकाशनका लागि मात्र होइन। क्यारोलाइन एलिसको भनाइमा लेखन आत्म-रूपान्तरणको औजार हो। लुइटेलले ‘writing as inquiry’ अर्थात् खोजको रूपमा लेखन भन्ने विधिलाई आत्मसात् गरे। उनका अनुसार लेखन अनुसन्धानको अन्तिम उत्पादन होइन; लेख्ने क्रममै अनुसन्धान जन्मन्छ। यसरी लेख्नु भनेको आफ्नै जीवनको पाठ पढ्नु हो, आफ्नै कथालाई सिद्धान्तको ऐनामा हेर्नु हो।

इन्द्रबहादुर राईले प्रयोग गरेको लीलालेखन भनेजस्तै दहाल पनि स्वीकार्छन्ः लीलालेखनमा उभिएको स्वयम्-जातिवृत्तान्तीय लेखनमा लेखन खोज र आविष्कारको विधि बन्छ; यसले लेखकलाई आफ्नो अनुभव उत्खनन गर्न, विश्लेषण गर्न र व्याख्या गर्न मद्दत गर्छ। लेखनका क्रममा नयाँ प्रश्न जन्मन्छन्, लुकेका भावनाहरू प्रकट हुन्छन्, र व्यक्तिगत अनुभव व्यापक सांस्कृतिक सन्दर्भसँग जोडिन्छ। यसैले लेख्नु भनेको सोच्नु हो, खोज्नु हो, आफैँलाई प्रश्न गर्नु हो।

पूर्वीय परम्परामा यसलाई स्वाध्याय भनिन्छ। स्वाध्याय भनेको आफैँलाई पढ्नु हो। जब हामी लेख्छौँ, हामी आफैँलाई पढिरहेका हुन्छौँ। लेखन त्यो ऐना हो, जसले हामीलाई हाम्रै अनुहार देखाउँछ। तर उल्टो अनुहार होइन, अर्थको अनुहार र अनुहारको अर्थ। यीनै अर्थहरू  पढ्दै जाँदा हामी बदलिन्छौँ। र यही बदलाइमा हामी थप जान्दैनौँ भन्ने थाहा पाउँछौँ। यही थाहा नै लेखनको लीला हो, ऋतभित्रको खेल।

रूपान्तरणमुखी सिकाइ: लेखनले बदल्ने दृष्टि

रूपान्तरणमुखी सिकाइ भनेको केवल नयाँ जानकारी थपिनु होइन। यो त्यो प्रक्रिया हो, जहाँ सिक्ने व्यक्तिको दृष्टिकोण, मान्यता र आत्म-बोध नै बदलिन्छ। ज्याक मेजिरोको सिद्धान्तअनुसार वयस्क सिकाइमा दृष्टिकोणको रूपान्तरण केन्द्रीय हुन्छ। रोचक कुरा के छ भने, मेजिरोको यो सिद्धान्त पूर्वीय परम्परासँग टाढा छैन। कन्फुसियसको दर्शनमा आत्म-प्रतिबिम्ब र आन्तरिक अनुभव केन्द्रीय छन्, र मेजिरोको सिद्धान्तले पनि आन्तरिक प्रतिबिम्बलाई रूपान्तरित दृष्टिकोणसँग जोड्छ।

लेखन यो रूपान्तरणको सबैभन्दा शक्तिशाली माध्यम बन्छ। दहालका अनुसार स्वयम्-जातिवृत्तान्तीय लेखनले आत्म-चेतनालाई उठाउँछ र अन्तर्मुखी तथा बहिर्मुखी आत्माको रूपान्तरण गर्छ। जब लेखक आफ्नै जीवनको कथा लेख्छ, तब त्यो कथा लेखकलाई नै फर्केर हेर्छ। यही फर्केर हेर्ने क्रियामा रूपान्तरण जन्मन्छ। रूपान्तरणमुखी सिकाइको सुन्दरता यही हो: यो सिकाइमा हामी भन्ने पाठ केन्द्रीय बन्छ। हामी आफ्नो अनुभव लेख्छौँ, तर त्यो अनुभव हाम्रो मात्र हुँदैन। त्यो अनुभव सामूहिक संवादमा पस्छ, अरूका अनुभवसँग जोडिन्छ, र नयाँ सामूहिक अर्थ जन्माउँछ।

पूर्वीय परम्परामा दर्शनले दिने दृष्टि  इन्द्रिएत्तर हुन्छ। इन्द्रियकृत प्रमाण साँघुरो हुन्छ। हाम्रो लेखाइ इन्द्रिएत्तर प्रमाण खोज्ने अभियान हो, तर हामी त्यसमा हामी पूर्ण छौं, जान्दछौं भन्दैनौं। रमण महर्षिले भनेझैं स्व-ज्ञान नै सर्वज्ञान खोज्ने अभियान, मुन्धुमले भनेझैं बितिसकेका पुर्खासँग संवाद गर्ने अभियान, किर्किगार्डले भनेझैं अस्तित्वमा पुग्ने अभियान। तर यी अभियान लेखकीय रूपले जन्मान्तरका अभियान हुन्। केन् टोविनले भनेझैं यी अभियान आजै प्राप्त हुँदै हुँदैनन्।

पुरानो ऐनामा नयाँ अनुहार देख्छौँ,
पुरानो कथामा नयाँ अर्थ भेट्छौँ।
लेख्दै जाँदा हामी आफैँलाई भेट्छौँ,
र त्यही भेटमा नयाँ हामी जन्माउँछौँ।

प्राध्यापकीय लेखकीयता: विचार, प्रमाण र अनुभवको सङ्गम

परम्परागत मान्यता अनुसार प्राध्यापकीय लेखकीयता भनेको प्राध्यापक वा शिक्षाविद्ले आफ्नो विधाभित्र गर्ने लेखनको पहिचान हो। यो पहिचान प्रमाणमा आधारित हुनुपर्छ भनिन्छ, तर प्रमाणको साँघुरो परिभाषाभन्दा माथि उठेर आफ्नो बहुप्रमाणको आवाज खोज्ने साहस भने परम्पराइतर अभ्यास हो। जोनी साल्डनालाई मान्दै हाम्रा लेखनमा यो देखियोस भन्ने चाहन्छौं: यस्तो लेखनमा एउटा वाक्यले जति भन्न खोजेको हुन्छ, त्यसभन्दा बढी बोल्छ; एउटा शब्दले देखिनेभन्दा बढी बोक्छ। यही नै प्राध्यापकीय लेखकीयताको सौन्दर्य हो: शब्दको सतहमुनि बगिरहेको अर्थको लहरो।

लेखन त्यो यात्रा हो, जसको कुनै अन्त्य हुँदैन। प्रत्येक पाठ अर्को पाठको लहरा बन्छ।

रैथाने दृष्टिकोणले यो लेखकीयतालाई अझ फराकिलो बनाउँछ। पश्चिमा ज्ञानमीमांसाले सिर्जना गरेको शरीरविहीन शिर र शिरविहीन शरीरको समाजमा ज्ञान शरीरबाट, माटोबाट र जीवनबाट अलग भएको हुन्छ। रैथाने ज्ञानमीमांसा भने ज्ञानलाई जीवनबाट अलग गर्दैन; यो ज्ञानलाई शरीर, भूमि र समुदायसँग जोड्छ। यसैले हाम्रो प्राध्यापकीय लेखकीयता भनेको केवल प्रमाण र करुणाको सन्तुलन होइन; यो जीवन र ज्ञानको पुनर्मिलन पनि हो। हामी लेख्छौँ, किनभने हामी बाँचिरहेका छौँ; र बाँचिरहेका छौँ, किनभने हामी लेखिरहेका छौँ। यी दुई अलग छैनन्।

लेखन नै अनुसन्धान: पाठभित्रको खोज

गुणात्मक र उत्तर-गुणात्मक अनुसन्धानको परम्परामा लेखनलाई रिपोर्टिङको औजार मात्र मानिँदैन। यहाँ लेखन आफैँ अनुसन्धानको विधि बन्छ। रिचर्डसन र सेन्ट पियरेले भनेझैँ, लेखन केवल अनुसन्धान सकिएपछि गरिने काम होइन; लेखन आफैँमा ज्ञान उत्पादन गर्ने प्रक्रिया हो। लुइटेलले यही विधिलाई आफ्नो स्नातकोत्तर, विद्यावारिधि र त्यसपछिको अनुसन्धानयात्राको केन्द्रमा राखे। उनका लागि लेखन अनुसन्धानको अन्तिम उत्पादन होइन; लेख्ने क्रममै अनुसन्धान जन्मन्छ।

टेलर, लुइटेल र दहालको अनुसन्धानले यही विचारलाई अझ स्पष्ट पार्छ। यस अनुसार स्वयम्-जातिवृत्तान्तीय लेखनमा लेखन खोज र आविष्कारको विधि बन्छ। लेखनलाई अन्तिम उत्पादनका रूपमा होइन, ज्ञान-निर्माणको सक्रिय प्रक्रियाका रूपमा बुझ्दा लेखकले अनिश्चितता, जटिलता र रूपान्तरणको सम्भावनालाई अझ गहिरोसँग भेट्न सक्छ। यस अर्थमा लेखन नै अनुसन्धान हुनुका तीन कारण छन्। पहिलो, लेखनले अनुभवलाई दूरीबाट हेर्न सक्ने बनाउँछ। यो दूरी नै विश्लेषणको सुरुवात हो। दोस्रो, लेखनले अर्थलाई पुनर्कथन गर्छ: पुनर्कथनमा नै नयाँ अर्थ जन्मन्छ। तेस्रो, लेखनले लेखकलाई आफ्नै पाठको आलोचक बनाउँछ: यही आलोचनात्मक दूरीले अनुसन्धानलाई गहिराइ दिन्छ।

हामी लेख्दै खोज्छौँ,
खोज्दै लेख्छौँ।
एउटा वाक्य नयाँ प्रश्न बन्छ,
अर्को वाक्य नयाँ उत्तर।
अनुसन्धान कहिल्यै सकिँदैन,
किनभने लेखन कहिल्यै सकिँदैन।

गुणात्मक र उत्तर-गुणात्मक अनुसन्धान

गुणात्मक र उत्तर-गुणात्मक अनुसन्धानले संसारलाई संख्यामा होइन, अर्थमा बुझ्न खोज्छ। यसले बहुल सत्यलाई स्वीकार्छ र अनुसन्धातालाई अर्थ-निर्माणको सक्रिय सहभागी मान्छ। लुइटेल र दहालको काम यही परम्पराभित्र पर्छ। लुइटेलले आफ्नो शोधमा स्वयम्/जातिवृत्तान्त विधिलाई प्रतिरोधी अनुसन्धान पद्धति (contestatory methodology) का रूपमा प्रयोग गरे। यसले उनलाई सांस्कृतिक रूपमा विस्थापित शिक्षाका शक्ति-सम्बन्धहरू बुझ्न मद्दत गर्‍यो। दहालले पनि स्वयम्-जातिवृत्तान्तीय लेखनलाई गुणात्मक अनुसन्धानको विधिका रूपमा प्रयोग गरे, र देखाए कि लेखन आफैँमा ‘तथ्याङ्क सङ्कलन’ होइन; यो अनुभवको अर्थ-निर्माण हो।

रैथाने दृष्टिकोणले गुणात्मक अनुसन्धानलाई अझ गहिरो बनाउँछ। लिन्डा स्मिथको भनाइमा आदिवासी ज्ञानमीमांसा पश्चिमा ज्ञानमीमांसा जत्तिकै प्रमाणिक  छ र आदिवासी अध्ययन विधिहरू आफैँमा पूर्ण छन्। जब हामी आफ्नै जीवनलाई पाठका रूपमा पढ्छौँ, हामी पश्चिमा विधिको नक्कल गरिरहेका हुँदैनौँ; हामी आफ्नै माटोको ज्ञान परम्पराबाट बोलिरहेका हुन्छौँ। यही नै गुणात्मक र उत्तर-गुणात्मक अनुसन्धानको रैथाने रूप हो- जीवनबाट सिक्ने, जीवनलाई लेख्ने, र लेखनलाई फेरि जीवनमा फर्काउने।

तीन पुस्ताको लहर

बालचन्द्र लुइटेलको पहिलेदेखिकै लेखनको हुटहुटी  वास्तविक लेखनयात्राको रूपमा अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट फैलिएको हो। त्यहाँ उनले पिटर चार्ल्स टेलरलाई भेटे। टेलर उनका अनुसन्धान सुपरिवेक्षक मात्र होइन, सह-लेखक र मेन्टर बने। टेलरले लुइटेलको लेखनलाई संरचना र आवाज दिने कला सिकाए। टेलरसँगको सहकार्यले लुइटेललाई लेख्न मात्र सिकाएन; लेखकीय आवाज दियो। यही कारण लुइटेल लेखनमा नेपाली माटोको सुगन्ध र विश्वव्यापी सिद्धान्तको सिकाइलाई जोड्नुपर्छ भन्छन्।

रैथाने र आदिवासी दृष्टिकोणले हामीलाई एउटा सत्य सिकाउँछ: जीवन नै पहिलो पाठ हो। लेखन त्यही पाठको पुनर्पाठ हो। हामी जति लेख्छौँ, त्यति नजान्ने हुन्छौँ। तर त्यही नजान्नेपनमा नै जीवनको गहिराइ छ।

निरोज दहालको लेखनयात्रा काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनबाट सुरु भएको हो। उनका शोध-निर्देशक थिए, बालचन्द्र लुइटेल। दहाल आफैँ स्वीकार्छन्ः ‘बालचन्द्र सरले हामीलाई सन्दर्भ, सामग्री र हाम्रो शैक्षिक यात्रामा नयाँ जीवन सुरु गर्ने बाटोतिर लाग्न उत्प्रेरणाको काम गर्नुभयो।’ यो मेन्टरसिप सुपरिवेक्षण मात्र थिएन; यो त्यो यात्रा थियो, जहाँ दहालले आफ्नो लेखकीय आवाज खोजे। दहालले लुइटेलसँग मिलेर सहकार्यात्मक स्वयम्-जातिवृत्तान्तमा काम गरे, र पछि स्व-त्वम्-तत् अनुसन्धानको माध्यमबाट पश्चिमा ज्ञानमीमांसाकै विकल्प खोजे। यो खोज्ने यात्रा सकिएको छैन।

यसरी हेर्दा पिटर टेलर, बालचन्द्र लुइटेल र निरोज दहाल लहरका तीन पुस्ताका प्रतिनिधि बन्छन्। टेलरले लुइटेललाई दिएको आवाज र सीप लुइटेलले दहालमा विकास गराए। यो शृङ्खला व्यक्तिगत मात्र होइन; संस्थागत पनि हो। यसरी नै त्यही छाल र लहरहरू मार्फत उनीहरूका वरिपरि लेखकीय घर बन्यो र यही समूहबाट लुइटेल र दहालहरू लेखक जन्माउने प्रयत्न गर्दैछन्। यो स्वतन्त्रता लेख्ने स्वतन्त्रता मात्र होइन; गल्ती गर्ने, पुनर्लेखन गर्ने, र आफ्नै आवाज खोज्ने स्वतन्त्रता हो।

हामी छालसँग बोल्छौँ,
छालले किनारसँग बोल्छ।
एक लहरा अर्को लहरालाई छुन्छ,
एक आवाज अर्को आवाजमा हराउँछ।
लेखन पनि यही हो—
एक हातले अर्को हात समात्छ,
एक पुस्ताले अर्को पुस्तालाई बाटो देखाउँछ।

लेखनको लहर कहिल्यै सकिँदैन

लेखन त्यो यात्रा हो, जसको कुनै अन्त्य हुँदैन। प्रत्येक पाठ अर्को पाठको लहरा बन्छ। लुइटेलको लेखनले टेलरको सिकाइलाई विस्तार गरेको छ; दहालको लेखनले लुइटेलको सिकाइलाई बढाएको छ। यो शृङ्खला अझै जारी छः नयाँ विद्यार्थीहरू, नयाँ लेखकहरू, नयाँ छालहरू। हामी यही शृङ्खलाको एउटा सानो हिस्सा हौँ। हामी लेख्छौँ, किनभने हामी बुझ्न चाहन्छौँ। हामी लेख्छौँ, किनभने हाम्रा अनुभवलाई अर्थ चाहिन्छ। हामी लेख्छौँ, किनभने लेखनले हामीलाई आफैँसँग र अरूसँगको (अ)चेतनालाई जोड्छ।

रैथाने र आदिवासी दृष्टिकोणले हामीलाई एउटा सत्य सिकाउँछ: जीवन नै पहिलो पाठ हो। लेखन त्यही पाठको पुनर्पाठ हो। हामी जति लेख्छौँ, त्यति नजान्ने हुन्छौँ। तर त्यही नजान्नेपनमा नै जीवनको गहिराइ छ। लीला र ऋतको सन्तुलनले हामीलाई खेलभित्रको अनुशासन सिकाउँछ। लेखनकृत अनुसन्धानले हामीलाई पाठभित्रै अर्थ खोज्न सिकाउँछ। गुणात्मक अनुसन्धानले हामीलाई अर्थको बहुलता स्वीकार्न सिकाउँछ। र जीवन लेखनले हामीलाई आफ्नै कथामा आफैँलाई भेट्न सिकाउँछ। यी सबै विचार मिलेर प्राध्यापकीय लेखनयात्रालाई नयाँ गहिराइ दिन्छन्। हामी त्यही यात्रामा छौँ। हामी लेख्छौँ। हामी पढ्छौँ। हामी फेरि लेख्छौँ। र हरेक पाइलामा थाहा पाउँछौँः हामीले जति लेख्छौँ, त्यति नजान्ने हुन्छौँ। यो लेख त्यही यात्राको एउटा सानो छाल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?