१३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटालाई दबाब र धम्की दिएर कांग्रेस सभापति गगन थापालगायतविरुद्ध बयान दिन बाध्य पारिएको भन्ने आरोप गम्भीर भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
सापकोटाले आफ्नी श्रीमतीमार्फत शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा कांग्रेस सभापति गगनकुमार थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छाडिदिने र नत्र फसाइदिने धम्की दिइएको विषय उल्लेख भएपछि आङ्देम्बेले आरोपको निष्पक्ष छानबिनका लागि संसदीय समितिको माग गरेका हुन् ।
उनले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका इमनलाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भएको सत्य भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहारको रूपमा लिइने बताए ।
‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?’, उनले स्टाटसमा लेखेका छन्, ‘यदि यस्तो भइरहेको छ भने यो केवल राजनीतिक प्रतिशोध र षड्यन्त्रको विषय मात्र होइन, राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर चुनौती हो ।’
उनले हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेको भनिएको विषय, बयान तयार पार्ने प्रक्रिया र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकासमेत छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
राज्यका अनुसन्धानकारी निकायलाई राजनीतिक प्रतिशोधको औजार बनाउन नहुने भन्दै उनले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् ।
सत्ता स्थायी नहुने स्मरण गराउँदै राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्ने भन्दै आङ्देम्बेले भनेका छन्, ‘ लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ ।’
उनले सरकारलाई क्षणिक सनक र स्वेच्छाचारितामा नभई संविधान र विधिको शासनअनुसार चल्नसमेत आग्रह गरेका छन् ।
प्रतिक्रिया 4