+
+
Shares

४ महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते ११:४४

१३ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको हो ।

प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुन—अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ । त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीचको त्रिपक्षीय सम्झौता बमोजिम बंगलादेश पनि विद्युत निर्यात हुँदै आएको छ ।

वर्षायामका छ महिनामा अर्थात् प्रत्येक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत् निर्यात हुँदै आएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ ।

चार महिनामा भारतर्फको विद्युत् निर्यात

महिना ऊर्जा निर्यात (युनिट) कारोबार रकम (रुपैयाँ)  प्रतियुनिट औसत दर (रुपैयाँ)
साउन ६२ करोड ९८ लाख ५ अर्ब १३ करोड ३९ लाख ८.१५
भदौ ५७ करोड ८७ लाख ५ अर्ब २२ करोड ९२ लाख ९.०४
असोज ६५ करोड ९ लाख ६ अर्ब ५ करोड ८१ लाख ९.३१
कात्तिक ५२ करोड ९३ लाख ४ अर्ब ६ करोड २५ लाख ७.६८
जम्मा २ अर्ब ३८ करोड ८७ लाख २० अर्ब ४८ करोड ३७ लाख ८.५८

स्रोत- नेपाल विद्युत् प्राधिकरण

प्राधिकरण केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्कअनुसार,उक्त अवधिमा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ प्राप्त भएको छ । चार महिनाको औसत विद्युत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ ।

कात्तिक महिनामा ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ । उक्त महिनाको औसत विद्युत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो ।

असोज महिनामा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत निर्यात भएको छ । उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यस महिनाको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोज महिनामा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारणतर्फका संरचनामा क्षति पुगेर केही आयोजनाको उत्पादन बन्द हुँदा यस वर्ष विद्युत् निर्यात प्रभावित भएको बताए ।

उनले निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको बताए ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ प्राप्त गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो । गत आवमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल विगत दुई वर्षबाट विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?