+
+
Shares

सुकुमवासीहरू विरोधमा उत्रिएपछि होल्डिङ सेन्टरमा फेरि खानाको व्यवस्था

बल प्रयोग नगरी सुकुमवासी हटाउने उद्देश्यले प्रशासनले खानाको व्यवस्था हटाएको थियो । सरकारका तर्फबाट उपलब्ध गराउँदै आएको खाना दशैंदेखि नै नपाएको सुकुमवासीहरूले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १५:४२
फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । भक्तपुर बोडेस्थित कृषि विकास बैंकको भवनमा बसिरहेका सुकुमवासीलाई खानाको व्यवस्था फेरि सुरु गरिएको छ ।

शुक्रबार दिउँसो २ बजेसम्म अस्थायी सेल्टर छाड्न प्रशासनले उर्दी जारी गरेको थियो । सुकुमवासीले बसोबासको व्यवस्था नहुँदासम्म भवन नछाड्ने अडान लिएका थिए ।

सँगै सरकारको उर्दी अस्वीकार गर्दै सुकुमवासीहरू थाल ठटाएर प्रदर्शनमा उत्रिएका थिए ।

उता बल प्रयोग नगरी सुकुमवासी हटाउने उद्देश्यले प्रशासनले खानाको व्यवस्था हटाएको थियो । सरकारका तर्फबाट उपलब्ध गराउँदै आएको खाना दशैंदेखि नै नपाएको सुकुमवासीहरूले बताएका छन् ।

तर, शान्ति सेवा गृह नामक संस्थाले भने खाना दिँदै आएको थियो । उक्त खाना पनि पछिल्ला केही दिनयता सरकारी निर्णयका कारण रोकिएको थियो ।

शान्ति सेवा गृहको खाना पनि प्रशासनका कारणले रोकेपछि शुक्रबार जेनजी अगुवाहरूले खुवाउने व्यवस्था गरेका थिए । शुक्रबार सडकमै बसेर उनीहरूले खाना खाएका थिए ।

‘दशैंदेखि खाना सरकारले खुवाएको थिएन । संस्थाले खुवाएको होे,’ बोडेको सेल्टरमा रहेका झवललाल उराउले भने, ‘खाना रोकेपछि विरोध गर्‍यौं । शनिबारबाट फेरि दिन थालिएको छ ।’

बोडेस्थित कृषि विकास बैंकको भवनमा १९ परिवारका ५७ जना सुकुमवासी बस्दै आएका छन् । तीमध्ये ७ परिवार भूमिहीन नभएको सरकारी दाबी छ ।

भूमिहीन नदेखिएका र जग्गा नभएकालाई सम्बन्धित पालिकाले निस्सा उपलब्ध गराउन जानकारी सहित प्रशासनले हट्न उर्दी जारी गरेको थियो । सुकुमवासीका अगुवा झवललाल उराउले सरकारले जग्गा भएको अभिलेख देखाएका व्यक्तको भूमि नै नभएको दाबी गरे ।

‘रौतहटको मान्छेको झापामा जग्गा छ भनेर सरकारले भन्यो । झापा जाँदा यहाँ जग्गा देखिन्न, माथि नै जाउ भनेर पठाइदिए,’ उराउले भने ।

सुकुमवासीलाई भेट्न भूमि व्यवस्था मन्त्री प्रतिभा रावल शनिबार सेल्टरमा पुगेकी थिइन् । मन्त्री रावललाई स्थायी बसोबास नभएसम्म ठाउँ खालि गर्न नसक्ने अडान लिएको सुकुमवासी उराउले बताए ।

उता खरिपाटीको विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसेका सुकुमवासीलाई पनि शान्ति सेवा गृहले खुवाउँदै आएको त्यहाँ बसोबास गरिरहेका सुकुमवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?