News Summary
Generated by OK AI. Editorially reviewed.- एपीएफले सुर्खेतमा बागमती प्रदेशलाई ४१ रनले हराउँदै १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको फाइनलमा स्थान बनाएको छ।
- एपीएफले २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएकोमा रोमा थापाले अविजित ७१ रनको पारी खेलिन्।
- १३७ रनको लक्ष्य पछ्याएको बागमतीले ८ विकेट गुमाएर ९५ रन मात्र बनायो, र एपीएफले अब त्रिभुवन आर्मी क्लबसँग उपाधिका लागि खेल्नेछ।
१३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
सुर्खेतमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई ४१ रनले पराजित गर्दै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । एपीएफले अब उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।
एपीएफले दिएको १३७ रनको लक्ष्य पछ्याएको बागमतीले ८ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । बागमतीका लागि ओपनर हेलिशा गुरुङले ४१ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
लक्ष्मीमाया रुम्बा लामाले १८, एली यादवले १० र सेविका यादवले ५ रन बनाए । बलिङमा एपीएफकी कप्तान सीता राना मगर र करुणा भण्डारीले दुईदुई तथा सुमन विष्ट र राजमती ऐरीले एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । एपीएफका लागि रोमा थापाले महत्वपूर्ण ७१ रनको अविजित पारी खेलिन् ।
६२ बलको सामना गरेकी उनले १० चौका प्रहार गरिन् । यस्तै राजमती ऐरीले ४६ रन बनाइन् । ३९ बलको सामना गरेकी उनले ६ चौका प्रहार गरिन् । रेवती धामीले १२ रन बनाउँदा कप्तान सीता रानामगरले ४ रन बनाएर आउट भइन् ।
बागमतीका लागि अस्मिना कर्माचार्यले २ तथा पूजा साउद र संस्कृति पुयाँलले एक–एक विकेट लिए । एपीएफकी रोमा थापा प्लेयर अफ द म्याच घोषित भइन् ।
प्रतिक्रिया 4