+

पीएमजीसी : पहिलो दिनको समाप्तिमा होरा १३औं स्थानमा, बाहिरिने खतरा

२०८३ मंसिर  १३ गते २२:१४ २०८३ मंसिर १३ गते २२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टर्किएमा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको समूह चरणमा नेपालको होरा ईस्पोर्ट्स पहिलो दिन ६ खेलबाट २७ अंक जोडेर १३औं स्थानमा पुगेको छ।
  • समूह ‘ग्रीन’ मा १६ टोली रहेकामा शीर्ष तीन ग्रान्ड फाइनलमा पुग्नेछन् भने चौथोदेखि ११औं स्थानका टोलीले लास्ट चान्स राउन्ड खेल्नेछन्।
  • समूहको पुछारका पाँच टोली बाहिरिने भएकाले होराले सोमबार हुने बाँकी ६ खेलमा अंक थपेर शीर्ष ११ भित्र पर्ने प्रयास गर्नेछ।

१३ मंसिर, काठमाडौं । टर्किएमा जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) को समूह चरणमा नेपालको होरा ईस्पोर्ट्स पहिलो दिनको खेलपछि १३औं स्थानमा रहेको छ ।

समूह ‘ग्रीन’ मा रहेको होराले पहिलो दिनका ६ खेलबाट २७ अंक मात्र जोडेको छ । पहिलो खेलमा १७ अंक जोडेको होराले दोस्रोमा ४ अंक जोड्दा तेस्रो र चौथोमा खाता खोल्न सकेन । पाँचौं खेलमा ५ अंक जोड्दा छैटौं खेलमा १ अंक मात्र जोड्यो।

होराभन्दा माथि अल उला पनि समान २७ अंकका साथ १२औं स्थानमा छ । नवौं, दशौं र ११औं स्थानमा रहेका फ्युरिया, बीएम र केआरएक्सको समान ३१ अंक छ ।

शीर्षस्थानमा फ्ल्याश ईस्पोर्ट्स छ जसले दुई चिकेन डिनर जित्दा ४४ इलिमिनेसन र २६ प्लेसमेन्ट पोइन्ट सहित ७० अंक जोडेको छ । दोस्रोमा रहेको ओल्ड नटको ६१ अंक छ ।

यस समूहमा १६ टोली सहभागी छन् । समूह चरणको पहिलो दिन सकिँदा होरा शीर्ष १२ मा पर्न सकेको छैन । समूहको पुछारका पाँच टोली प्रतियोगिताबाट बाहिरिने भएकाले होरालाई दोस्रो दिनको खेलमा सुधार गर्नुपर्ने दबाब छ ।

समूह चरणमा शीर्ष तीन टोली ग्रान्ड फाइनलमा पुग्नेछन् । चौथोदेखि ११औं स्थानसम्म रहने टोलीले लास्ट चान्स राउन्ड खेल्ने अवसर पाउनेछन् । पुछारका पाँच टोली भने बाहिरिनेछन् ।

समूह ‘ग्रीन’ का बाँकी ६ खेल सोमबार हुनेछन् । होराले ती खेलबाट अंक थप्दै शीर्ष ११ भित्र पर्ने प्रयास गर्नेछ ।

नेपालकै अर्को टोली ट्रेन्ड टु किल (टीटुके) भने समूह ‘रेड’ मा छ । उक्त समूहका खेल डिसेम्बर २ र ३ मा हुनेछन् ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप होरा ईस्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय