५ पुस, काठमाडौ । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले सहमतिका लागि सत्तारुढ दलहरुसँग हदैसम्मको लचिलो बन्ने निर्णय गरेको छ । सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेले सहमतिका लागि एकीकृत माओवादीसँग शनिवार नै निर्णायक छलफल गर्ने भएकाले सत्तारुढ दलसँगको छलफलअघि मोर्चाको बैठक बसेको हो ।
संविधान जारी गर्नको लागि तोकिएको समय नजिकिएको भन्दै सत्तारुढ दलहरुसँग हदैसम्मको लचिलो बन्ने निर्णय गरिएको मोर्चाका सदस्य समाजवादी प्रजातान्त्रिक जनता पार्टीका अध्यक्ष तथा सभासद् प्रेमबहादुर सिंहले जानकारी दिए ।
वैठकमा दलहरुबीचको वार्ता प्रक्रियालाई तीब्र पार्ने र सहमति निर्माणका लागि अधिकतम पहल गर्ने निर्णय भएको सिंहले बताए । संविधान निर्माणको अन्तिम समय भएकाले दलहरुले आफ्नो अडानबाट पछि हट्नुपर्ने भएकाले लचिलो भएर अघि बढ्ने मोर्चाले निर्णय गरेको हो ।
‘दलहरु आआफ्ना अडानबाट पछि हटेर भए पनि सहमति खोज्नुपर्छ भन्ने भएको छ,’ सिंहले भने, ‘अब गिभ एण्ड टेकको बेला आएको छ ।’ एकीकृत माओवादीको संसदीय दलको कार्यालयमा शनिवार विहान बसेको मोर्चाको शनिवारको बैठकमा १८ दलको सहभागिता रहेको थियो ।
आजै निर्णायक वार्ता
सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेले शनिवार नै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीसँग संविधानको विवादित विषयमा निर्णायक छलफल गर्दैछन् । दई-तीन दिन भित्रमा नै सहमति गर्ने गरि सत्तारुढ दुई दलले निर्णायक वार्ता गर्न लागेका हुन् ।
एकीकृत माओवादीसँगको छलफलपछि मधेसवादी तथा अन्य साना दलहरुसँग पनि छलफल गर्ने कांग्रेस एमालेले जनाएका छन् । दलहरुबीचको सहमतिको अन्तिम प्रयास गर्दा पनि सहमति जुट्न नसकेमा भने प्रक्रियाबाटै टुङ्गो लगाउने कांग्रेस एमालेको तयारी छ ।