१७ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले देशभर संयुक्त युवा दस्ता बनाउने भएको छ ।
३० दलीय सचिवालयको मंगलबार बसेको बैठकले सबै जिल्लामा स्वयंमसेवक दल तयार गर्ने निर्णय गरेको हो । ‘आन्दोलनमा दमन गर्यो भने प्रतिरोध गर्न युवा दस्ता बनाउन लागिएको हो,’ सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले अनलाइनखबरसँग भने ।
आन्दोलन सुरु भएपछि एमाओवादीले वाइसीएललाई सक्रिय बनाएको छ भने साना जनजाति पार्टीहरुले पहिचानवादी युवा दस्ता बनाएका छन्र । अब सबैलाई मिलाएर संयुक्त युवा दस्ता बनाइने नेताहरुले बताए ।
३० दलको स्वयंमसेवक समितिको संयोजक एमाओवादी नेता टोपबहादुर रायमाझी छन् । संयुक्त दस्ता बनाउन युवाहरुसँग बैठक गर्ने जिम्मा संयोजक रायमाझी र एमाओवादी नेता जनार्दन शर्मा प्रभाकरलाई दिइएको छ ।
सचिवालयको बैठकले २१ गते हुने अन्तरक्रियाका लागि बक्ताहरु समेत तोकेको छ । जस अनुसार काठमाडौंमा प्रचण्ड, भैरहवामा डा. बाबुराम भट्टराई, धनगढीमा विजय गच्छदार लगायतका नेताहरु छन् ।