वसन्त रानाभाट
बार्सिलोना । नेपालमा बिभिन्न चिरामा विभाजित माओवादी पार्टीहरुलाई एकताको एउटै मालामा उन्ने सन्देशको लागि भन्दै नेपाली जनप्रगतिशील मञ्च स्पेनले एकीकरणको घोषणा गरेको छ । एकिकृत नेकपा माओवादी र नेकपा माओबादीको रुपमा छुट्टाछुट्टै संरचनामा रहेका मञ्चहरुले एकताको घोषणा गरेका हुन्।
स्पेनमा सन् २००८ देखि नेपाली समुदायमा सक्रिय रुपमा देखिदै आएको जनप्रगतिशील मञ्च सन् २०१२ देखि दुईवटा मञ्चको रुपमा देखिएको थियो। नेकपा–माओवादीको अध्यक्षको रुपमा मोहन वैद्य किरणले पार्टी घोषणा गरेपछि स्पेनमा पनि जनप्रगतिशील मञ्च बिभाजित भएको थियो ।
जनप्रगतिशील मञ्च (एमाओवादी)का अध्यक्ष महेश्वर कंडेल र जनप्रगतिशील मञ्च ( माओवादी) का अध्यक्ष ईश्वर शर्माले संयुक्त विज्ञप्ति जारी गरी एकताकाे घाेषणा गरेका हुन् ।
“समाज परिवर्तनको प्रमुख संबाहक दुई दिशाको यात्राले शसक्त गति लिन सकेन, परिणाम फेरि समाज अन्योलतर्फ धकेलियो, यद्दपी बिभाजनबाट खण्डित प्रगतिशील विचारलाई एकीकृत गर्नुको बिकल्प रहेन र एकताको आवश्यकता महशुस गर्दै एकताको घोषणा गरियो”, संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ”नेपालमा रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरुको एकीकरणका लागि विशेष आग्रह गर्दै हामीहरु यस कर्मभूमि स्पेनमा सम्पूर्ण नेपालीहरुको सुख, दुखमा साथ दिदै हाम्रा समस्याहरु समाधानमा सदैव लागि पर्ने प्रतिबद्धता प्रकट गर्दछौ ।”
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा साम्यवादी नेता लेनिनको १४५ औं जन्म जयन्तीको अवसरमा वुधबार एकताको घोषणा गरिएको हो । मञ्चले स्थापनाकालको ७ वर्षपछि आगामी जुनको पहिलो हप्ता बार्सिलोनामा पहिलो एकता अधिवेशन गर्ने भएको छ।