१५ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावहीन भएको निष्कर्ष निकालेको छ । साथै भुकम्प प्रभावित क्षेत्रमा प्रमुख नेताहरु जाने र उद्धार तथा राहतमा खट्ने एमाओवादीले निर्णय गरेको छ ।
मंगलबार बसेको एकीकृत माओवादीको स्थायी कमिटीको बैठकले भूकम्प पीडितहरुले पानी, औषधि उपचार र त्रिपाल समेत नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणमा विभेद भयो भन्ने जनगुनासो आइरहेको छ । हामीले यसलाई गम्भीर रुपमा लिएका छौं । प्रमुख नेताहरुलाई उद्धार तथा राहतको कामका लागि जिल्ला-जिल्लामा खटाउँछौं ।’
भूकम्प गएलगत्तै प्रचण्डले एमाओवादी र ३० दलीय मोर्चाका नेता-कार्यकर्ताहरुलाई राहत, उद्धार र पुनःस्थापनाको काममा खटिन निर्देशन दिएका थिए ।
प्रचण्डले केन्द्रीयस्तरमा सर्बदलीय संयन्त्र बनाउन र राहतलाई पारदर्शी तथा व्यवस्थित ढंगले वितरण गर्न आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी गराए । त्यसका लागि तत्काल व्यवस्थापिका संसदको विशेष अधिवेशन आह्वान गर्नुपर्ने उनले बताए ।
‘मैले प्रधानमन्त्री र गृहमन्त्रीलाई आजै टेलिफोन गरी भूकम्प प्रभावित क्षेत्रमा राज्यको उपस्थिति प्रभावकारी भएन भनेर भनिसकेको छुँ,’ प्रचण्डले भने, ‘सरकारले अहिले गरिरहेको काम अव्यवस्थित भएकाले जनताले राहतको महसुस गरिरहेका छै्रनन् ।’