१९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला वीर अस्पताल पुगेर तराई-मधेसमा भइरहेको आन्दोलनका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
कोइराला तीन दलीय वार्ता टोलीका सदस्य समेत रहेका वनमन्त्री महेश आचार्य, स्वास्थ्यमन्त्री खगराज अधिकारी, गृह सचिव सूर्य सिलवाल लगायतलाई लिएर अस्पताल पुगेका थिए ।
प्रधानमन्त्रीले आन्दोलनका क्रममा विभिन्न स्थानमा घाइते भएका विरामी, उहाँहरुका आफन्त र उपचारमा संलग्न चिकित्सकहरुसंग भेटघाट गरेका छन् ।
उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको जानकारी दिए । साथै उपचारका क्रममा कुनै जटीलता उत्पन्न भए तुरुन्तै आफूलाई खबर गर्न पनि आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाले आन्दोलनबाट घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।