+
+

भारतीय नाकामा केही सहज, ९० ट्यांकर इन्धन नेपाल आए

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २६ गते ११:१४

Bhairahawa-Naka,-LP-Gas

२६ असोज, काठमाडौं । वीरगञ्जबाहेक अन्य नाकामा मंगलबार भारतीय पक्षले भन्सार जाँच केही सहज बनाएको छ । जसका कारण अन्य दिन भन्दा धेरै मालबाहक गाडी नेपाल आएका छन् ।

काँकडडभिट्टा, बिराटनगर, भैरहवा, नेपालगञ्ज र कैलाली नाकाबाट दिउँसो ३ बजेसम्म ३ सय भन्दा बढी मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । जसमा ९० वटामा ईन्धन ट्यांकर समेत छन् ।

काँकडभिट्टा भन्सारबाट ४ बुलेट ग्यास भित्रिएको मेची भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिए । भारतमा मंगलबार नै ३२ वटा ट्यांकर भारतीय आयल कर्पोरेशनको सिलगुढी डिपोमा तेल लिन गएकामा २२ वटमा लोड दिएको जानकारी आफुले पाएको उनले बताए ।

बेलुकासम्म २२ वटै ट्यांकर तेल भरेर नेपाल भित्रिने भन्सार प्रमुख अधिकारीको विश्वास छ । दिउँसोसम्म काँकडभिट्टा नाकाबाट १ सय ४ वटा मालबाहक गाडी नेपाल आएका छन् ।

यसैगरी बिराटनगर नाकाबाट पनि १ सय भन्दा बढी गाडी नेपाल भित्रिएका छन् । जसमा ४६ वटा इन्धन बोकेका ट्यांकर छन् । दिउँसोसम्म ३१ वटा डिजेल र पेट्रोल बोकेका ट्यांकर तथा १५ वटा ग्यास बुलेट नेपाल आएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । नाकामा विस्तारै खुकुलो हुँदै गएको र भारतीय भन्सारबाट जाँचपास हुने क्रम चलिरहेको उनले बताए ।

यसैगरी भैरहवा नाकाबाट पनि दिउँसोसम्म १ सय ५० भन्दा बढी मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । सोमबारेदेखि सुचारु भएको भैरहवा नाकाबाट दिउँसोसम्म ४ वटा डिजेल र एउटा ग्यास बुलेट नेपाल भित्रिएका बेलहिया भन्सारका अधिकृत रविन्द्र प्याकुरेलले जानकारी दिए ।

नेपालगञ्ज नाकाबाट पनि दिउँसोसम्म १३ ट्यांकर डिजेल भित्रिएको छ । दिउँसोसम्म ४० वटा मालबाहक गाडी आएको र नाकामा कुनै किसिमको अवरोध नरहेको जमुनाह भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।

यसैगरी कैलालीको गैरीफन्टा नाकाबाट दिउँसोसम्म २२ वटा पेट्रोलियम ट्यांकर नेपाल भित्रिएका छन् । जसमा २० वटमा डिजेल र २ वटामा पेट्रोल रहेको भन्सार प्रमुख हरिप्रसाद पाण्डले जानकारी दिए । भारतीय आयल कर्पोरेशनको बनथरा डिपोमा सोमबार गएका ३० मध्ये २२ ट्यांकरमा तेल भरिएको हो । यसअघि बनथरा डिपोले पनि १० प्रतिशत ट्यांकरमा मात्रै तेल दिँदै आएको थियो ।

यसैबीच वीरगञ्ज नाका सुचारु गर्न भारतीय रक्सौल भन्सारका अधिकारीहरु पनि सकारात्मक देखिएको नेपाली अधिकारीहरुले बताएका छन् । भारतीय भन्सार अधिकारीले नाकाको अवरोध हटे तत्त्कल मालबाहक गाडी पठाउने बताएको वीरगञ्ज भन्सार प्रमुख मित्रलाल रेग्मीले बताए ।

‘कुनै पनि रुपमा नाकामा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्ता त्यहाँबाट हटे तत्काल नाका सुचारु हुन्छ ।’ प्रमुख रेग्मीले भने, ‘छलफलमा भारतीय अधिकारीले नाकामा आफ्नो तर्फबाट अवरोध नहुने बताएका छन् ।’ रेग्मीले आन्दोेलनरत पक्षलाई मितेरी पुलको धर्नाबाट हटाउन पहल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?