डा. भोला रिजाल
हेर आज सगरमाथा रोइरहेछ ।
हिऊँको शीर पग्लिएर आँशु झरेछ ।
आज किन आफ्नो मान्छे आफ्नो हुँदैन ?
नेपाली भई नेपालीको पीर बुझ्दैन ।
आज पनि यी शब्दहरु त्यति नै सान्दर्भिक छन् र हरेकको मन मस्तिष्कमा ताजै छन् । के आज हामी त्यति निरीह अनि स्वार्थी भैसकेका छौं कि हामी आफ्नो स्वाभिमान पनि बचाउन सक्षम छैनौं ?
आफ्नो छिमेकी जसलाई हाम्रो आनीबानी अनि हाम्रा हरेक सुख-दुख थाहा छ । घरको सीमानामा कुनै आपसी छेकबारको पर्खालसम्म पनि छैन । कुनैबेला भन्ने गर्थे …… तेरे दुख अब मेरे, अनि मेरे दुःख अब तेरे ।
महाभूकम्पको घाउसमेत खाटो बस्न नपाउँदै नवजात शिशु सुत्केरी आमा अनि वृद्ध बिरामीहरुलाई मृत्युको शिकार नबनाउन औषधि उपचारका सामार्गी, खाना पकाउने ग्यास यातायात अनि कृषिलाई आवश्यक इन्धनसमेत नेपाल भित्रन नदिने किसिमको नाकाबन्दी गर्नु एउटा अमानवीय कार्य हो ।
आज देशभित्रको स्थितिले हामी सम्पूर्ण नेपालीहरुका लागि एउटा नयाँ चुनौति सिर्जना गरेको छ । जसको समाधान हामी आफैंबाट खोज्नुको कुनै विकल्प छैन । यो हाम्रा लागि श्राप हो, अथवा वरदान !
म आज विगत तीन महिनादेखि उपचारका क्रममा देश बाहिर छु । मैले यस लेखमार्फत केही कुरा गर्दा आदर्श छाँटेझै देखिन सक्छ । केही गरेर आफैं देखाउनुपर्छ भन्नेमा म विश्वास गर्दछु । तर, म विवश छु, मेरो शरीर लण्डनमा भए पनि मेरो मन सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुसँगै छ । जो महाभूकम्पको असैह्य वेदनाबाट छटपट गरिरहेका बेला आफ्नै छिमेकले थोरै पनि मानवीय धर्मको प्रवाह नगरी दूधे वालक, सुत्केरी महिला अनि वयोवृद्धहरुलाई आवश्यक पकाइखाने ग्याँस उपचारका लागी औषधि अत्यावश्यक इन्धनलगायतका सामर्गीमाथि नाकाबन्दि लगाएर अत्यन्तै अमर्यादित र घीनलाग्दो छिमेकीका रुपमा भारतले आफूलाई प्रस्तुत गरेको छ ।
एउटा गीत छ-
मागेको रोटीले मेरो भोक मेटिन्न ।
खोसेको धोतीले मेरो लाज छोपिन्न ।
मेरो शीर उडाउ बरु त्यो सहन्छु,
तर, कोही परायले टेके सहन्न ।
के हामी त्यति निरीह छौं, आफ्नो केही स्वार्थका लागि देशको स्वाधीनता राष्ट्रिय अखण्डता अनि सार्वभौम नै रोटीका लागि बेच्न तयार छौं ? अवश्य पनि हाम्रो लागि त्यो सहृय छैन । आज यो अवस्थाले हामी आफैलाई चिन्ह, एउटा ठूलो अवसर प्रदान गरेको छ भने अर्कोतिर एक भएर देशका असली शत्रुहरुलाई पहिचान गरेर नङ्याउन आपसी कलहहरु बिर्सिएर समस्याको एक भएर सामना गर्ने हाम्रा पूर्खाले खुकुरीको धारले विश्व थर्काएको अनि किल्ला र कांगडामा पानी पनि नखाई लड्ने वीरका सन्ततीले फेरि एउटा अर्को इतिहास रच्ने बेला आएको छ । फेरि एकपटक हिमालको चिसो पानी अनि स्वच्छ हावाको आडमा हाम्रो चन्द्र सुर्य झण्डाको इज्जत राख्ने बेला आएको छ ।
महाभूकम्पले पीडामा छटपटाएकाहरुसँग काँधमा काँध मिलाएर राष्ट्रलाई परेको कठीन घडीमा अन्तिम सामसम्म घुँडा नटेक्न हामी सबै एक हुनुपरेको छ । यतिबेला फुटेर हैन सबै मिलेर नाका बन्दीको सामना गरौं ।
अन्त्यमा
सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई एउटै अनुरोध गर्न चाहान्छु । यो समय हामी एक ढिक्का भएर हाम्रो राष्ट्रिय स्वाभिमान अनि अखण्डताको रक्षा गरौं । आपसी कुराहरु आपसमै बसेर समाधान गरौं । यसैमा हाम्रो कल्याण छ । हामी जहाँ भए पनि, जो भए पनि हामी सबै नेपाली हौं ।
(ओम अस्पतालका अध्यक्ष रिजाल हाल लण्डनमा छन्)