+
+

नरहरि आचार्यको स्वास्थ्य ‘स्थिर तर जटिल’

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २६ गते १५:०५

Nahari Acharya

२६ माघ, काठमाडौं । सुशील कोइरालालाई श्रद्धान्जली दिएर बाहिरिने क्रममा मस्तिकघात भएपछि अस्पताल भर्ना भएका नरहरि अचार्यको चेत खुलेको छ ।

कांग्रेस सभापति कोइरालाको निधन भएपछि पूर्वमन्त्री आचार्य महाराजगञ्ज पुगेका थिए । कोइरालाप्रति श्रद्धान्जली दिएर फर्कने क्रममा उनी बेहोस भए ।

लगतै गंगालाल पुर्‍याइएका उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । चेत खुलेपनि उनी अझै बोल्न सक्दैनन् । र, शरीरको दायाँ भाग चलेको छैन ।

चिकित्सकले आचार्यको अवस्थामा ‘स्थिर तर जटिल’ रहेको बताएको छ । वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाले भने, ‘अरुले बोलाउँदा आँखा हेर्नुहुन्छ, तर बोल्न सक्नुभएको छैन ।’

अबको ४ देेखि ७ दिनभित्र आचार्यको स्वास्थ्यबारे ठोस निक्र्योल गर्न सकिने उनले उल्लेख गरे । हाइपरटेन्सनका कारण मस्तिष्कको बायाँ भागमा रगत जमेकाले उनको दायाँ भाग पक्षघात भएको सिटीस्क्यानबाट देखिएको छ ।

तर, अपरेशन गरिहाल्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छैनन् । ‘जमेको रगत हटाउनलाई तत्कालै शल्यक्रिया आवश्यक देखिएको छैन, हामी औषधिबाटै निदान गर्न प्रयासरत छौं,’ डा. देवकोटाले भने, ‘तर, भविष्यमा अवस्था विगि्रयो भने शल्यक्रिया गर्नुपर्ने हुन सक्छ ।’

२५ वर्षदेखि उच्च रक्तचापबाट पीडित नेता आचार्य नियमित औषधि सेवन गरिरहेको थिए । प्रत्यक्षदर्शीहरुका अनुसार कोइराला निवास सञ्चारकर्मीहरुसँग कुरा गरेपछि आचार्यले असहज महसुस गरे । बेहोस भएर लड्न खोजेपछि सँगै रहेका कांग्रेस सांसद भीमसेन दासले समाए । भित्र लगेपछि अचार्यले हातले इसारा गरेर आफूलाई गाह्रो भएको भन्दै अस्पताल लैजान आग्रह गरे ।

लगत्तै शहीद गंगालाल अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँबाट न्यूरो अस्पताल लगिएको छ । प्रधानले अनलाइनखबरसँग भने- गाडीमा राख्ने क्रममा नै उहाँको हात र खुट्टा चलाउन गाह्रो भएको थियो ।’

न्यूरो अस्पतालका अनुसार आचार्यलाई बिहान सवा सात बजे त्यहाँ पुर्‍याइएको थियो । त्यसबेलासम्म उनको शरीरको दायाँ भाग कमजोर रहेको तर, संवाद गर्न सक्ने अवस्थामा रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्वमन्त्री आचार्यलाई हाल आइसीयूमा राखेर उपचार भइरहेको छ । उपप्रधानमन्त्री विजय गच्छदार, एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता गगन थापा लगायत नेताहरु उनको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?