९ भदौ, झापा । मंगलबार साँझ कनकाई नदीबाट अवैध रुपमा गिटी बालुवाको निकासी हुँदैछ भन्ने जानकारी आयो । आखिर वास्तविकता हो त ? बुझ्नलाई त्यहाँ पुग्दा आश्चर्यजनक स्थिति देखियो ।
सरकारले असार १ गतेदेखि असोज १ गतेसम्म देशभरका खोलानालाबाट निर्माण सामग्री उत्खनन् गर्न प्रतिबन्ध लगाएको भए पनि त्यहाँ करिब ६० को सङ्ख्यामा रहेका ट्याक्टरहरुले धमाधम गिटी बालुवा निकालिरहेका थिए ।
कनकाई नदीको पुलबाट करिब ४ सय मिटर दक्षिणबाट दुई वटा स्काभेटरको प्रयोग गरी नदी उत्खनन् भइरहेको भेटिएको हो ।
स्थानीयको भनाइ अनुसार यसरी त्यहाँ बिहान ११ बजेदेखि राति ९ बजेसम्म निर्माण सामग्री झिक्ने काम भइरहेको छ ।
दिउँसै खुलेआम कानुनको धज्जी उढाइ राखिँदा प्रशासन चाहिँ कहाँ छ त ? उत्सुकता जाग्यो । केहीवेरमा त्यहाँ बालुवा लोड गरिएको ट्याक्टरका एक चालक अनलाइनखबरकर्मी भएतिरै आए ।
खोला तरेर आएका उनले क्यामेरा देखेपछि ‘पत्रकार’ भन्ने लख काटेछन् । भने, ‘सर, अनुमति लिएरै हामीलाई बालुवा झिक्न लगाइएको हो ।’
खासमा झापाका एलडीओ खेमराज ओझाकै अनुमतिमा निर्माण सामग्री उत्खनन् गरिएको रहेछ । कानुनको नियमन गर्ने निकायका अधिकारीले नै कानुनको धज्जी उठाएको भेटियो ।
यस विषयमा स्थानीय विकास अधिकारी ओझासँग कुराकानी गर्दा उनले विगि्रएको ग्रामीण सडकको मर्मतका लागि बालुवा भिकिएको भनेर सजिलैसँग जवाफ दिए । ‘कानुन जे भए पनि जनताको समस्या त बुझ्नु पर्यो नि’ भन्दै उनी पन्छिए ।
कनकाई नदीमा मात्र होइन, प्रभावकारी अनुगमन हुन नसक्दा जिल्लाका बिरिङ्ग, रतुवा, मावा, मेची र टाङ्गटिङ्ग नदीबाट समेत निर्माण सामग्रीको अवैध रुपमा चोरी निकासी हुने गरेको छ ।
प्रायः नदीहरुमा राति निर्माण सामग्री उत्खनन् हुने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
चुरे क्षेत्र संरक्षणका लागि भन्दै सरकारले गिटी बालुवा निकासीमा प्रतिबन्ध लगाएको हो । तर, नियमित रुपमा प्रभावकारी अनुगमन हुन सकेको छैन ।
यसैबीच, झापाको बुधबारे र खुदुनाबारीको सीमा छेऊ बिरीङ नदीबाट अवैध रुपमा निर्माण सामग्री उत्खनन् गर्दै गरेको अवस्थामा ९ वटा ट्याक्टर पक्राउ परेका छन् ।
यसरी पक्राउ परेका ट्याक्टरहरु जरिवाना तिर्दै छुट्ने गरेका छन् । यसरी पक्राउ परेका ट्याक्टरहरुलाई जरिवना रकम ६ हजार रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4