छायांकनको तयारीमा रहेको चलचित्र ‘ऐश्वर्या’का लागि नायिका केकी अधिकारीले ५ केजी तौल घटाएको केही समय अगाडि अनलाइनखबरसँग भनेकी थिइन् । यो चलचित्रमा केकीको भूमिका पावरफूल थियो ।
तर, अब कथाले अर्कै मोड लिएको छ । सुरुवातमै पक्का भएकी केकी अब यो चलचित्रमा नहुने भएकी छिन् । केकीको स्थान कुन नायिकाले लिनेछिन्, पक्का भएको छैन ।
केकी दीपेन्द्र लामाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘घामपानी’मा काम गर्दैछिन् । यो चलचित्रको घोषणा आज हुँदैछ । यही चलचित्रका लागि समय दिनुपर्ने भएकाले केकीले ‘ऐश्वर्या’मा काम गर्न नसकेकी हुन् । निर्देशक दीवारक भट्टराइले केकी हुने वा नहुने फाइनल भैनसकेको बताए ।
तर, चलचित्रका नायक तथा निर्माता रमेश उप्रेतीले नै केकी अधिकारी चलचित्रमा नहुने बताइसकेका छन् । चलचित्रमा नायिका दीपिका प्रसाई पक्का भैसकेकी छिन् । चलचित्रको हाल वर्कशप चलिरहेको छ ।