Comments Add Comment

प्रधानमन्त्रीको दाबीः १०० दिनमा गरिएका यी हुन् उपलब्धि !

सिंहदरबारमा पत्रकार सम्मलेन गर्ने प्रचण्डको तयारी

prachanda (6)

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले संविधानको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन उच्च अदालत स्थापना गरिएको विषयलाई सरकारको मुख्य उपलब्धीका रुपमा लिएको छ ।

यस्तै संघीयतामा प्रशासन पुनः संरचनाका लागि कामहरु भइरहेको र स्थानीय तह पुनःसंरचना आयोगको कामकारवाहीलाई सहजीकरण गरिएको भन्दै प्रधानमन्त्रीको कार्यालयले आफ्नो १०० दिन उपलब्धिमूलक भएको दाबी गरेको छ ।

यस्तै मधेसी, जनजातिलगायत संविधानप्रति असन्तुष्ट पक्षसँग सम्वाद र संविधान कार्यान्वयनका लागि वातावरण तयार गर्न सम्वद्ध सबै पक्षबीच दुरी घटाई सहकार्यको आधार तयार गरिएको भन्दै प्रधानमन्त्रीको सचिवालयले खुशी व्यक्त गरेको छ ।

भूकम्पपश्चात्को पुनःनिर्माणमा १०० दिन

प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले भुकम्पबाट प्राभावित परिवारलाई पहिलो किस्ताबापतको ५० हजार रुपैँया ४५ दिनभित्र बाँडी सक्ने घोषणा गरेका थिए । १०० दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्रीको सचिवालयले अति प्रभावित ११ जिल्लाका पीडितहरु मध्ये करिब ९१ प्रतिशतसंग अनुदान सम्झौता भएको भन्दै खुशी व्यत्त गरेको छ ।

यस्तै प्यूठान जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण एवं चाडवाड मनाउन प्रतिपरिवार रु. १५ हजारका दरले रकम उपलब्ध गराइएको विषयमा प्रधानमन्त्रीको सचिवालयले गर्व गरेको छ ।

यस्तै प्राकृतिक प्रकोपका मृतकलाई दिने राहत रकम ४० हजारबाट बढाएर १ लाख पुर्‍याइएकोमा खुशी प्रकट गरेको छ ।

संक्रमणकाल व्यवस्थापनमा १०० दिन

प्रधानमन्त्री दाहालले शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्नु आफ्नो मुख्य काम हुने बताएका थिए । तर, १०० दिनको उपलब्धिमा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ०७१ को पहिलो संशोधन मस्यौदा तयार गरिएकोमा नै खुशी व्यक्त गरिएको छ ।

सेवा प्रवाहमा प्रधानमन्त्रीको एक सय दिन

यातायात कार्यालयको सेवा निकै आलोचित र विकृत रहृयो । त्यसलाई सुधार गरेर सहज सेवा वितरणका लागि कलंकी, चावहील र सल्लाघारी गरी उपत्यकाका थप तीन स्थानमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेका छौँ । त्यसको काम शूरु भएको छ, प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको उपलब्धीको बुँदामा उल्लेख छ ।

यस्तै सार्वजनिक यातायात सेवालाई सहज बनाउनसाझा यातायातमा ३० वटा साझा बस थपिएकोमा समेत प्रधानमन्त्रीको सचिवालयले खुशी व्यक्त गरेको छ ।

पूजीगत खर्च वृद्धि गरी आर्थिक सम्वृद्धि हासिल गर्न १०० दिन

मेलम्ची खानेपानी, सिक्टा सिंचाइ, रानाीजमरा सिंचाइ, ४५६ मेगावाटको माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण कोशी लोकमार्ग आयोजना लगायत राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्री स्वयंबाट अनुगमन गरी कामलाई तीव्र गर्दै कामलाई तोकिएको समयभन्दा पहिला र उच्च गुणस्तरमा सम्पन्न गर्नेतर्फ अगाडि बढाउने काम भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै आफ्नो कार्यकाल शुरु भएको १०० दिनमा औद्योगिक उत्पादनले गति लिएको पनि प्रधानमन्त्रीको सचिवालयको दाबी छ । यस्तै नेपालको आˆनै सेटेलाइट स्थापना गर्ने कार्य अगाडि बढाइएको विषयमा पनि प्रधानमन्त्रीकार्यालयले सन्तोष प्रकट गरेको छ ।

जनजीविकाका सवाल सम्बोधन

यातायात लगायत सबै क्षेत्रमा रहेको सिन्डिकेट अन्त गर्ने घोषणा अनुरुप सिण्डिकेट र कार्टेलिङ विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनु महत्वपूर्ण भएको सचिवालयले जनाएको छ ।

‘काभ्रे, धादिङ लगायतका जिल्लामा भएका सडक दुर्घटनामा परेकाहरुको हेलिकप्टर र एम्बुलेन्स परिचालन गरी तत्काल उद्धार गरी उपचारको प्रबन्ध गरियो’ सचिवालयले भनेको छ, ‘नक्कली डाक्टरलाई काम गर्न नदिन र मेडिकल काउन्सिलबाट निलम्वन गर्ने कार्य अगाडि बढाइएको छ । यसले स्वास्थ्य क्षेत्रमा सुधार आएको छ ।’

त्यसैगरी कालोबजारी विरुद्ध बजार अनुगमनलाई आम उपभाक्ताले अनूभूत गर्ने गरी प्रभावकारी रुपमा अगाडि बढाइएको र उपभोक्ता ठग्ने, कालोबजारी गर्नेलाई कारवाही गर्ने कार्यलाई तीब्र पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैदेशिक रोजगारीमा रहेका कामदारहरुको हितमा खाडी मुलुकका कारागारमा रहेका र कामविहीन अवस्थामा रहेका नेपालीहरुको तथ्याङ्क संकलन गरिएको बताएको छ । तथ्यांक संकलनलगत्तै विशेष कार्यक्रम ल्याउने बताएको छ । यस्तै साउदी र श्रीलंकामा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्ने व्यवस्था गरिएको विषयलाई पनि प्रधानमन्त्रीको १०० दिनको उपलब्धी भनिएको छ ।

सिंहदरबारमा पत्रकार सम्मलेन

यसैवीच प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनको सय दिन पुगेको उपलक्ष्यमा शुक्रबार अपरान्ह सिंहदरबारमा पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

सरकारका उपलब्धिबारे जानकारी दिनका लागि पत्रकार सम्मेलन गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले अनलाइनखबरलाई बतायो । पत्रकार सम्मेलन अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment