Comments Add Comment

जनताको गुनासो सुन्न घरमै पुगे लुम्बिनीका मेयर

३० असार, भैरहवा । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नवनिर्वाचित मेयर मनमोहन चौधरीले नागरिकको गुनासो सुन्न घरदैलो अभियान सुरु गरेका छन् ।

नगरवासीको घरमै पुगेर प्रत्यक्ष रुपमा गुनासो सुनेर कार्यान्वयन गर्नका लागि अभियान सुरु गरिएको मेयर चौधरीले बताए ।
उनी नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।

नेता विजयी भए पश्चात मतदातालाई बिर्सिने र केही काम नगर्ने जनतामा रहेको भ्रम चिर्नका लागि आफूले यस्तो अभियान चलाएको उनले मेयर चौधरीले बताएका छन् ।

उनले भने, ‘मैले नगरवासीको लागि काम गर्न सक्छु भन्ने विश्वास गरेर नै मलाई विजयी गराएका हुन् । अहिले म उनीहरुको विश्वासको कदर गर्दै प्रत्यक्ष रुपमा गुनासो सुनेर समस्या समाधान गर्नका लागि घर टोलमा पुगिरहेको छु ।’

उनले नगरवासीको घर-घरमा पुग्नुका साथै साविकको प्रत्येक वडामा स्थानीयहरुको भेला गरेर उनीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

नगरवासीले सडक मर्मत गर्ने विषयलाई मुख्य जोड दिएको मेयर चौधरीले बताए । आफूले पनि नगरवासीको सहजताका लागि वर्षायाम रहेपनि सामान्य रुपमा सडकहरु मर्मत गराइरहेको जानकारी दिए ।

उनले नगरको सडकको अवस्था दयनीय रहेको भन्दै सडक मर्मतलाई आफूले प्राथमिकतामा राखेर वर्षायाम सकिएलगत्तै काम सुुरु गर्ने बताए । जनतालाई केन्द्रमा राखेर लुम्बिनीको विकासका लागि आफू लागिरहने मेयर चौधरीले प्रतिबद्धता जनाए ।

उनले यस क्षेत्रमा अझै पनि सडक, यातायात, शिक्षा, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको र अब सम्पुर्ण काम गरेर देखाउने दाबीसमेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment