Comments Add Comment

कीर्तिपुर नगरले तोक्यो जनप्रतिनिधिको तलब

भुस्याहा कुकुर ठेगान लगाउन १५ लाख बजेट

९ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिकाले जनप्रतिनिधिको तलब तोकेको छ । नगरसभाले मेयर, उपमेयर र वडाध्यक्षले मासिक तलब नै लिने निर्णय गरेको छ भने सदस्यहरुले बैठक भत्ता पाउने छन् ।

कीर्तिपुर नगरपालिकाको बजेट ८४ करोड विजियोजन गरेको छ । त्यसमा आन्तरिक श्रोतबाट जुटाउने गरी जनप्रतिनिधिको तलब तोकिएको मेयर रमेश महर्जनले बताए ।

उनका अनुसार मेयरले मासिक ३५ हजार, उपमेयरले २५ हजार र वडाध्यक्षले १८ हजार तलब लिनेछन् । वडा सदस्यहरुका लागि भने ५ बैठकको एकमुष्ट ५ हजार भत्ता दिइनेछ ।

कानुन नबनेसम्मका लागि तलब लिने निर्णय नभएको भन्दै मेयर महर्जनले भने, ‘म आफैं दिनमा १४ घन्टा काम गर्छु । अरु पनि काम गर्छन् । पारिश्रमिक नलिई काम गर्ने कुरा आदर्शका लागि राम्रो होला । तर, व्यवहारिक रुपमा कति सकिन्छ ?

भुस्याहा कुकुर ठेगान लगाउन १५ लाख बजेट

कीर्तिपुर नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा भुस्याहा कुकुर तह लगाउन १५ लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

व्यवस्थित र सुरक्षित शहर बनाउनका लागि भुस्याहा कुकुर व्यवस्थापनमा बजेट नै छुट्याइएको मेयर महर्जनले बताए ।

भुस्याहा कुकुरलाई के गर्ने भन्ने चाहिँ नगरपालिकाले प्रष्ट पारेको छैन ।

यस्तै कीर्तिपुरलाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्न नगरपालिकाले नेपाल टेलिकम लगायत सेवा प्रदायकहरुसँग छलफल थालेको छ । फ्री वाइफाई जोन विकासका लागि यस आर्थिक वर्षमा २ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

नगरपालिकाभित्रका विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि सघाउने, जेष्ठ नागरिकहरुलाई घरघरमै भत्ता दिन शुरु गर्न बजेट छुट्याइएको छ ।

मेयर महर्जनले यसै वर्षबाट कीर्तिपुर नगरपालिकालाई खाल्डाखुल्डीमुक्त नगर बनाउने घेाषणा समेत गरेका छन् । नगरपालिकाभित्र युवाहरुलाई रोजगारी सिर्जना गर्न र स्वरोजगार बनाउन एक करोड बजेट बिनियोजन गरिएको उनले बताए ।

नगरसभाले उपमेयर सरस्वती खड्काको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ । त्यस्तै कीर्तिपुरको समग्र विकासको खाका तय गर्न पूर्वमेयर हिराकाजी महर्जनको संयोजकत्वमा परामर्श समिति गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment