आर.बी मुविजको ब्यानरमा रील एन्ड रीयल सिनेमासँगको सहकार्यमा नेपाली चलचित्र ‘ड्रिम गर्ल’ बन्ने भएको छ । प्रेमकथामा आधारित रहेर तयार हुन लागेको यो चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गर्दैछन् । चलचित्रमा अर्जुन शर्मा र ऋषिको निर्माण, रामेश्वर धितालको सह-निर्माण रहनेछ ।
यो चलचित्रको छायांकन रारा ताल, मुस्ताङ, दुबई र कतारमा हुने निर्माणपक्षले पत्रकार सम्मेलन गरेर जानकारी दियो । चलचित्रको शिर्ष भूमिकामा आश्मा गिरीले काम गर्दैछिन् । चलचित्र ‘रानी महल’मा अनुवन्धित भएपनि यो चलचित्रको छायांकन सुरु नभएपछि आश्माले ‘ड्रिम गर्ल’मा काम गर्न लागेकी हुन् ।
चलचित्रमा उनको जोडीको रुपमा आकाश श्रेष्ठ देखिदैछन् । साथमा, विल्सन विक्रम राई, सरोज खनाल, लक्ष्मी गिरी, रुप सुवेदी, अर्जुन श्रेष्ठ लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका रहनेछ ।
साउथ इन्डियन ब्यानरको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रलाई आफूले २ बर्ष लामो मिहिनेतपछि बनाउन लागेको निर्देशक आचार्यले बताए । चलचित्रकी मुख्य नायिका आश्माले राम्रो काम गर्ने बताइन् ।