Comments Add Comment

होटल र सडकमै सलामी खाने मन्त्रीज्यूको अनौठो रहर !

प्रहरीमाथि कस्तो प्रश्नः कसलाई कुनबेला सलाम ठोक्ने ?

२९ कात्तिक, काठमाडौं । बीबीसी साझा सवालकी प्रस्तोता विद्या चापागाईले कालिकोटबाट पोष्ट गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । उनले विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले आफू बसेको होटलकै बाहिर नेपाल प्रहरीबाट सलामी लिइरहेको भिडियो पोष्ट गरेकी थिइन् ।

भिडियो पोष्ट गर्दै चापागाईले लेखिन्- ‘सर्वहारा वर्गका मन्त्रीज्यू चुनाव लागेर एक महिना जिल्ला बस्दा पनि होटेलको आँगनमा हरेक बिहान यसरी सलामी ग्रहण गर्नुहुँदो रहेछ । संसारलाई फेर्छु भन्थ्यो,आफैं फेरिएछ…. ।

माओवादी लडाकूका तत्कालीन डिभिजन कमाण्डर समेत रहेका मन्त्री शाहीले हरेक विहान सदरमुकाम मान्मको होटलमै प्रहरी बोलाएर सलामी लिने गरेको विद्याले दाबी गरेकी छिन् । मन्त्री शाही अहिले कालीकोट (ख) बाट प्रदेश सभाका उम्मेदवार छन् । र, उनी मुख्यमन्त्रीका दाबेदार समेत हुन् ।

 

अर्का मन्त्री पनि सलामी खाँदै

विद्याले ट्वीट गरेको सोही भिडियोमा अर्का एकजना मन्त्रीले सडकमै सलामी लिइरहेको फोटो मेन्सन भयो । उनी रहेछन्, सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट ।

प्रदेशसभाको उम्मेदवार विष्ट पनि चुनावी अभियानकै क्रममा गृहजिल्ला सुर्खेतमै छन् । विष्टले सुर्खेत सदरमुकामको सडकमै प्रहरीको सलामी खाएका रहेछन् ।

सामान्यतः मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीलाई प्रहरीको टुकडीले यसरी सलामी दिने गर्दैन । औपचारिक समारोहमा दिइने सलामी बाहेक, मन्त्रीहरुसँग नेपाल प्रहरी र नेपाली सेनाबाट खटाइएका अंगरक्षक मात्रै हुन्छन् ।

झण्डावाल गाडीमा सवार भएका मन्त्रीलाई प्रहरीले सलाम गर्नु एउटा कुरा भयो, तर आफू बसेकै होटलमा र हिँड्दा हिँड्दै सडकमा प्रहरीको टुकडीबाट सलामी ग्रहण गर्नु कति जायज हो ? यी तस्वीरले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् ।

नेपाल प्रहरीले पनि कसलाई कुन अवस्थामा औपचारिक सलामी अर्पण गर्ने भन्ने विषयमा तल्ला युनिटसम्म स्पष्ट निर्देशन दिएको देखिँदैन ।

महेन्द्रबहादुर शाही कालिकोटबाट प्रदेशसभाको उम्मेदवार तथा ६ नम्बर प्रदेशका भावी मुख्यमन्त्रीका दावेदार मानिएका छन् । त्यस्तै तप्वहादुर बिष्ट नेपाली कांग्रेसबाट सुर्खेत क्षेत्र नम्बर २ बाट प्रदेशसभाको उम्मेदवार छन् ।

उनीहरुले निर्वाचन जितेपछि सलामीबारे कस्तो नीति बनाउलान् ? त्यो चाँहि पक्कै पनि हेर्न लायकको होला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment