+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

एमालेबाट कांग्रेस छिरेका राठौर दुवै पार्टीका मतदाता फकाउँदै

भन्छन्- कांग्रेस एक भएको छ, चुनाव जित्छु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १७ गते १९:१३

१७ मंसिर, कैलाली (धनगढी) । कात्तिक दोस्रो साता काठमाडौंबाट आएको समाचार एमाले नेता/कार्यकर्ताका लागि अप्रत्यासित थियो । २७ वर्ष लामो कम्युनिस्ट राजनीति छाडेर कैलालीका नेता मोहनसिंह राठौर कांग्रेस प्रवेश गरेका थिए । तिनै राठौर १५ मंसिरमा कैलाली क्षेत्र नम्बर २ को बौनिया बजारमा घरदैलो गर्दै गरेको अवस्थामा भेटिए ।

कम्युनिस्ट पार्टी छाडेर प्रजातान्त्रिक धार समातेका उनको नयाँ घरको अभ्यासमा उत्साह देखेर अनौठो लाग्थ्यो । कैलाली-२ मा उनलाई एमालेबाट टक्कर दिइरहेका छन्, यसअघि राज्यमन्त्री बन्दा निजी सचिव रहेका झपट रावलले ।

युवा वयका रावल आफूभन्दा वरिष्ठ नेतालाई हराएरै छाड्ने अभियानमा लाग्नु स्वाभाविकै हो । राठौर पनि एमाले र कांग्रेसका मत आफ्नो पोल्टामा पार्न गम्भिर रुपमा लागेका छन् । एमालेका प्रदेश-७ इन्चार्ज भीम रावलले आफ्ना भाइ नाता पर्ने झपटलाई टिकट दिलाएकामा असन्तुष्टी जनाउँदै पार्टीबाट बाहिरिने निर्णय लिएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राठौरको त्यही मनोविज्ञान बुझेर कैलाली-२ बाट प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरे । अहिले राठौर र रावलबीच चुनावी घम्साघम्सी छ । रावलले चुनावी अभियानका क्रममा राठौरको आलोचना गर्ने गरेका छन् । राठौरको भने झपटभन्दा भीम रावलप्रति ज्यादा आक्रोश देखिन्छ ।

वाम गठबन्धनलाई उनी अस्वाभाविक बताउँछन् । भ्रम, अन्योल र आशंका उक्त गठबन्धनप्रति चुलिएको उनको ठम्याइ छ ।

त्यसो त, तत्कालीन नेकपा मालेको गाउँ पार्टी सक्रिय दलमा पनि आवद्ध थिए, उनी । निर्वाचनको दौडमा भने ०४९ सालयता सक्रिय बनेका हुन् । उनी स्वर्गीय मदन भण्डारीका अनुयायीका रुपमा आफूलाई चिनाउने गर्छन् । एमालेले स्वर्गीय भण्डारीको प्रजातान्त्रिक धार छाडेर माओवादीसँगको गठबन्धनमार्फत् उग्र वामपन्थी धार पक्रेको उनको ठम्याइ देखिन्छ ।

‘लोकतान्त्रिक गठबन्धनले शान्ति र समृद्धिको सही मार्ग पहिल्याएको छ,’ राठौर भन्छन् ।

एमालेमा छँदा ०४९ र ०५४ सालको स्थानीय निर्वाचनमा साविकको प्रतापपुर गाविस अध्यक्ष जितेका थिए । कांग्रेसको पकड मानिने उक्त गाविसमा उनले विपक्षीलाई राम्रै मत अन्तरले पराजित गरेका थिए ।

त्यस अघिसम्म कृषि मन्त्रालयका अधिकृत थिए, उनी । त्यहाँबाट राजीनामा दिएर व्यावसायिक कृषिमा लाग्ने उनको योजना थियो । पहिलेदेखि नै कम्युनिस्ट राजनीति नजिक रहेका उनलाई एमालेले गाविस अध्यक्षको टिकट दियो । त्यो नै उनको जीवनको ‘टर्निङ पोइन्ट’ थियो ।

२०५४ सालमा एमालेले उनलाई जिविस सभापतिको उम्मेदवार बनायो । राप्रपासँगको गठबन्धनमार्फत् उनी कैलाली जिविस सभापति बने ।

२०५६ सालको आम निर्वाचनमा कांग्रेसका रामजनम चौधरीसँग उनी पराजित भए । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि उनी माओवादीसँग पराजित भए । तर, ०७० सालको दोस्रो संविधानसभामा भने उनी कैलालीमा विजयी हुने एक मात्र एमाले उम्मेदवार थिए ।

अहिले कांग्रेसबाट चुनाव लड्दै गर्दा घरदैलोका क्रममा धेरैको प्रश्न हुने गर्छ, यत्रो वर्ष कम्युनिस्ट हुनु हुन्थ्यो, किन कांग्रेस प्रवेश गर्नु भएको ? उनको जवाफ हुने गर्छ, प्रजातान्त्रिक मूल्य र मान्यता अनुसरण गर्न ।

पछिल्लो समयमा एमालेमा आन्तरिक लोकतन्त्र कमजोर बनेको र निरंकुशता मौलाएको उनको आरोप छ ।

चुनावी भाषणमा उनले आफू कांग्रेस प्रवेश गर्नुको औचित्य मदन भण्डारीको विचारलाई प्रस्तुत गर्दै पुष्टी गर्ने प्रयास गर्छन् । एमालेमा भण्डारीको विचार मरेको, व्यापारिक तत्वको घुसपैठ र निरंकुशता हाबी भएकाले कांग्रेस प्रवेश गरेको बताउने गरेका छन् ।

आफूभन्दा फरक शैली अपनाउनेहरुलाई सिध्याउनेसम्मका खेलमा एमालेका केही नेता लाग्ने गरेको राठौरले मतदातालाई बताउने गरेका छन् ।

एमाले प्रदेश-७ इन्चार्ज रावललाई उनले राणाकालको पश्चिम कमान्डिङ जनरल -पकज)को संज्ञा दिने गरेका छन् । उनी भन्छन्, ‘म नै सर्वेसर्वा हुँजस्तो गरेर कोतपर्व र भण्डारखाल पर्व मच्चाउँदै आफू इतरका नेताहरुलाई मास्ने षडयन्त्र भए पार्टीको आन्तरिक जीवनमा । त्यो प्रत्यक्ष देखे/भोगेका साथीहरुले ठीक गर्नु भयो भनिरहेका छन् ।’

एमाले छाड्दै गर्दा कांग्रेसबाट आएको प्रस्ताव आफ्नो राजनीतिक जीवनको सञ्जीवनी बुटी बन्न पुगेको राठौर बताउँछन् । कांग्रेसका मतदाताबाट राम्रो ‘रेस्पोन्स’ पाइरहेको उनको भनाइ छ ।

कैलाली-२ मा कांग्रेसबाट ०७० सालको निर्वाचनमा टिकटका आकांक्षी थिए, कमल शाह । आफूले टिकट नपाएकामा असन्तुष्टी नजाई चुनावी अभियानमा शाहबाट राम्रो सहयोग पाइरहेकामा राठौर उत्साहित देखिन्छन् ।

चुनावी अभियानमा आफूलाई गाली गरिरहेका एमाले उम्मेदवार झपटप्रति कुनै प्रतिक्रिया जनाउन चाहँदैनन् । गाली गलौज राजनीतिक चरित्र नभएको र त्यो घाटाको व्यापार सावित हुने राठौर बताउँछन् ।

कांग्रेसको नेतृत्वमा संविधान कार्यान्वयन तथा आर्थिक समृद्धिको कार्यभार पुरा गर्ने उनको चुनावी एजेन्डाको राजनीतिक पाटो हो । त्यसबाहेक स्थानीय तहमा विकास, निर्माण अगाडि बढाउने उनका एजेन्डा छन् । अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उनले मतदातालाई आश्वासन बाँड्ने गरेका छन् ।

र, पर्यटन विकास, औद्योगिकरण, बेरोजगारी समस्या अन्त्यलगायत उनका एजेन्डा छन् । राप्रपाको समेत समर्थन रहेकाले आफ्नो जित सुनिश्चित रहेको राठौरको दाबी छ । लोकतान्त्रिक फोरमबाट पार्टी एकतासँगै कांग्रेसमा आएका अरुण चौधरीलाई प्रदेशसभा ‘ख’मा उम्मेदवार बनाएका छन् । प्रदेशसभा ‘क’मा हेम रावल उम्मेदवार बनेका छन् ।

थारु जातिका पक्षमा बोलेको बेलादेखि नै एमालेमा आफू लखेटाईमा परेको राठौरको बुझाइ देखिन्छ । सोही कारण थारु समुदायको मत आफूतिर एकोहोरिने ठानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?