+
+

आज ‘पुसी पूर्णिमा’ मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते १०:५०

१८ पुस, सप्तरी । आज पुसी पूर्णिमा भव्यताका साथ मनाइँदैछ । सप्तरीसहितका जिल्लाहरुमा कोशीको स्नान गरी, मिठोचाखो खाएर यो पर्व मनाउने गरिन्छ । खासगरी सप्तरीको कोशी व्यारेजमा नुहाउनेहरुको घुइँचो लाग्ने गर्दछ पुसी पूर्णिमाको अवसरमा ।

कोशी व्यारेजसहित आफ्नो नजिकको जलाशयहरुमा स्नान गर्ने चलन यो पर्वमा छ । आजका दिन कोशी व्यारेजमा नुहाउन तराई क्षेत्रका बिभिन्न जिल्लाका साथै सिमावर्ती भारतीयहरु समेत आउने गर्दछन् । बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधन चढेर कोशी व्यारेजमा नुहाउन आउँछन् ।

यस पूर्णिमाको अवसरमा भव्य मेलासमेत लाग्ने गर्दछ । कोशी व्यारेजसहित जलाशयहरुको घाटमा मेला लाग्ने गर्दछ । हनुमाननगर, मेगरीन चुरीया, पथरी, धनकट्टा, मलकौर, इटहरी विष्णुपुरसहितका ठाउँमा भव्य मेला लाग्ने गर्दछ पुसी पूर्णिमाका अवसरमा ।

कोशी नदीसहित जलाशयहरुको घाटमा कौशिका देवीको मूर्तीसमेत बनाइने गर्दछ । कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रही आएको छ ।

पुस महिनाको शुक्ल पूर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास पनि कायमै छ ।

कृषि मेलाको रुपमा समेत चिनिने यो मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्री गर्ने गरिन्छ ।

यस दिन जाशयहरुमा स्नान गरेर भुजा, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाइहरु खाने गरिन्छ । यद्यपि पछिल्लो समयमा माछा, मासु खानेहरुको संख्या पनि बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?