चाँगुनारायण थान, गाजलु आँखैले हान्यो मलाई बाण
यो मायाले रित मात्रै जनायो, जिन्दगीलाई भारी पीर बनायो
चाँगुनारायण थान ….
पशुपतिको भित्री ढोका नजिकै ४८ वर्षका ‘बाह्रबिसे माइलो’ मादल ठोक्दै यही गीतको तालमा मानिसलाई डाकिरहेका थिए । उनी दृष्टिविहीन हुन् ।
असली नाम लालबहादुर गुरुङ भए पनि ‘बाह्रबिसे माइलो’ उपानाम पाएका उनी पहिले स्पिकर जोडेरै गाउँथे । तर, पछिल्लो समय पशुपति क्षेत्र विकास कोषले स्पिकर बजाउन रोक लगाएपछि मादल ठोक्न थालेका हुन् ।
त्यसो त पशुपति क्षेत्रमा माग्नलाई नै रोक लगाइएको छ । त्यसले उनलाई छोएको छैन । बरु चिट्ठा परेझै भएको छ ।
लालबहादुरको भनाइमा चार जनाको टोलीमा उनी मीठो गीत गाउँछन् । त्यसैले साथीहरुले पैसा र्झछ भनेर उनलाई बोलाइहाल्छन् ।
अर्का दृष्टिविहीन साथी ‘एकाउन्टेन’ छन् । चारै जनाले जम्मा पारेको पैसा उनी लिन्छन् र बेलुका बाँड्छन् । उनीहरुको भागमा पहिले भन्दा पैसा ह्वात्तै बढेको छ । माग्ने निषेधित पशुपतिमा उनीहरुले मात्रै माग्दा एक जनाको भागमा दिनको झण्डै ३ हजार रुपैयाँ आइरहेको छ ।
पहिले प्रतिव्यक्ति झण्डै एक हजार रुपैयाँ जति कमाइ हुन्थ्यो । त्यसैले उनीहरुको माग छ, ‘यहाँबाट हटाउने हो भने एक जनालाई महिनाको ३० हजार रुपैयाँ दिनुपर्छ ।’
उनीहरुकै समूहमा एकजना आँखा देख्ने महिला छिन् । यहाँ बसेर नमाग भनेर सम्झाउन आउनेलाई उनी थर्काएर पठाउँछिन् । अर्की आंशिक दृष्टि भएको महिला घरी नरम देखिन्छिन्, घरी उग्र ।
पहिलो प्रश्नमै उनले आफ्नो उग्रता देखाइन् ।
घर कहाँ दिदी तपाईंको ?
‘कहिँ पनि होइन । जहाँ भए पनि के चाहियो तपाईंलाई ?’
उनी बाह्रबिसे माइलालाई पनि नबोल्न सम्झाइरहेकी थिइन् ।
‘ए दाइ तिमी नबोल त । बस थुपुक्क । केही नभन्नु, फेरि अहिले लैजान्छन् । यिनीहरु झुक्याएर नाम टिपाएर आश्रम पठाउँछन् । केही नबोल्नु भनेको ।’
यसको कारण छ । त्यहाँ जो गए पनि उनीहरुलाई लाग्छ, ‘पुशपति क्षेत्र विकास कोषका मान्छे आए । अब यहाँ बस्न दिँदैनन् । कतै आश्रममा लगिदिन्छन् ।
०००
पशुपति क्षेत्र गत चैत २० गतेदेखि ‘मगन्ते निषेधित क्षेत्र’ घोषणा भयो । यसमा धेरैले राम्रो कामको थालनी भएको भन्दै सकारात्मक प्रतिक्रिया दिए । कतिले चाहिँ माग्नेको बाध्यता बताउँदै मानवीय संवेदनासँग जोडे ।
‘माग्ने निषेधित क्षेत्र’ घोषणा भएको २३ दिन हुँदा पशुपति परिसर फेरिएको छ । यस अर्थमा कि त्यहाँ हात पसारेर जीवनको आश गर्नेहरु, नभएको घाउमा झुम्रो कसेर पैसा बटुल्नेहरु, दिनभर रक्सीमा टिल परेर बेलुका रक्सीकै लागि पैसा जम्मा पार्नेहरु देखिँदैनन् ।
तर, पशुपतिमा अझै केही माग्नेहरु छन् । केही पुरानै शैलीमा मागिरहेका छन्, केहीको शैली फेरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले यिनीहरुको पनि व्यवस्थापन गर्न नखोजेको भने होइन । तर, कोही आँखा छलेर मागिरहेका छन् । कोही अटेर गरेर ।
बसेर माग्नेहरु केही हिँड्न थालेका छन् । उनीहरु यताउति हेर्छन् र यसले त देला कि भन्ने लागेपछि हात फैलाउँछन् ।
कानून अटेर गरेर माग्न बस्नेहरुको अवस्था भने भिन्दै छ । उनीहरुमध्ये केही दृष्टिविहीन छन् ।
केही दृष्टि भएर पनि विहीन बनेका छन् । ‘उनीहरुलाई पनि व्यवस्थापन गर्न नखोजेको होइन । केही दिनमै व्यवस्थापन हुन्छ । अहिले अटेर गरीरहेका छन्’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल भन्छन्, ‘हामीले सबैलाई सम्झाई बुझाई नै गरिरहेका छौं ।’
कसैले ठाउँ फेरे, कोही सुध्रिए
पशुपति विकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुली झण्डै २५० माग्नेको व्यवस्थापन सकिएको बताउँछन् ।
तर, आवश्यकताले माग्ने र ठगेर खानेहरुको बीच वास्तविक असहाय पहिचान गर्न सहज भने छैन । ‘हामीले नै कतिजनाको पट्टी खोल्दा बाहिर घाउ देखाए पनि भित्र केही नभएको पायौैं’ पराजुलीले भने, ‘दर्दनाक अवस्था देखाउने र माग्ने कामलाई पेशा बनाउने काम राम्रो होइन ।
उनीहरुलाई पेशेवर माग्ने नबनेर आफै केही गर्न प्रेरित गरेका छौं ।’
अहिले पशुपति पस्ने तिलगंगा छेउ र वनकाली छेउमा केही माग्नेहरु बसिरहेका छन् । पशुपतिबाट हटाएपछि केही चाबहिल गणेस्थानमा सरेका छन् ।
‘मागेर हुने भए काम किन गर्ने त ? हरेकले सक्ने केही न केही काम त छन् नि । कस्तो कस्तो नसक्नेले त काम गरिरहेका छन् । सक्दै नसक्नेलाई त राज्यले पनि त हेर्छ’ पशुपति क्षेत्रमा गएको १३ वर्षदेखि गार्डको काम गरिरहेका रन्तबहादुर गुरुङ भन्छन् ।
जिन्दगीको अर्थ नभेटेर भड्किएका हुन् या, माग्नुलाई नै जिन्दगीको उद्देश्य बनाएका हुन्, अहिले पशुपति क्षेत्रमा सजिलो छैन । यसैले झण्डै ३० जना चाबहिल गणेश स्थानमा मागिरहेका देखिन्छन् ।
‘पहिले यहाँ एक/दुई जना हुन्थे । अहिले त धेरै छन् । घाम लाग्दा यताउता जान्छन् नत्र ३० जनाभन्दा बढी त यतै हुन्छन्’ गणेश मन्दिर छेउमा सामान बेचिरहेकी इन्दि्ररा भुजेलले भनिन् ।
‘माग्नु भनेको त विवशता हो, रहर होइन । तर कतिले माग्ने कुरा व्यवसाय बनाएका छन् । उनीहरुलाई सुधार्नु पर्छ’ सदस्य सचिव डा. ढकाल भन्छन्, ‘हामीले अवस्था हेरेर काम गरेका छौं । आश्रय चाहिनेलाई मानव सेवा आश्रमसँग सहकार्य गरेर व्यवस्थापन गरेका छौँ । परिवारमा र्फकन सक्नेलाई सम्झाएर पठाएका छौं । काम गर्न सक्नेलाई कामका लागि प्रोत्साहन दिएका छौं । केही तालिमको व्यवस्था हुन सक्छ कि भनेर हेरेका छौं ।’
सानो बच्चा भएका एक जोडीलाई रक्षा नेपाल भन्ने संस्थामा राखेको उनले बताए । सहारा नभएका ८४ जना मानव सेवा आश्रमको शरणमा छन् । उनीहरुमध्ये धेरै अहिले फेरिएका छन् । माग्नुको विकल्प देख्न थालेका छन् ।
‘मागेर सजिलै कमाउन सकिन्छ भन्नेर वर्षौंदेखि मागिरहेका पनि फेरिएका छन् । कति जना त अन्य क्षेत्रमा माग्नेहरुलाई परामर्श गर्ने काममा लागिसकेका छन् । पहिले मागेर पनि कुलतमा फस्ने र पैसा सक्ने गरेकोमा उनीहरुलाई पछुतो छ’ आश्रमका प्रवक्ता सुमन वर्तौलाले भने ।
कानूनमा माग्न निषेध
भिक्षा माग्ने (निषेध) ऐन, २०१८ ले माग्ने प्रथालाई निषेध गरेको छ । बालबच्चालाई कुनै पनि किसिममा माग्ने काममा लगाएको पाइए लगाउनेलाई दण्ड जरिवानाको व्यवस्था कानूनमा छ । यस्तोमा ३० हजार रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद या दुवै सजाय हुन सक्नेछ ।
कुनै वयस्क व्यक्तिले पनि माग्ने काम गरेमा न्यायाधीशको आदेशबाट ३० हजार रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने व्यवस्था कानूनमा छ ।
यस्तै सर्वोच्च अदालतमा अधिवक्ता राजुप्रसाद चापागाईं, अधिवक्ता विष्णुप्रसाद पोखरेल डा. सर्वराज खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई विपक्षी बनाइ ०७३ सालमा हालेको मुद्दामा माग्नेको व्यवस्थापनमा परमादेशसहितको आदेश भएको छ ।
न्यायाधीशहरु दीपकराज जोशी र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशमा भनिएको छ, ‘विभिन्न आधार र कारणबाट जीवन नै संकटमा परेका अशक्त, असाहाय, परित्यक्त तथा चरम गरिबीमा रहेका महिला, बालक तथा बृद्धाअवस्थाका नेपाली नागरिकहरुको बाँच्न पाउने मौलिक अधिकारको संरक्षणका लागि त्यस्तो अवस्थाका नागरिकहरुको वास्तविक विवरण संकलन गरी एक वर्षभित्र उचित बासस्थान र भरणपोषणको कार्य सम्पन्न गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेतका विपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ ।’