Comments Add Comment

द्रौपदी स्वयम्बर


‘पुरोहितजी ! तपाईंलाई पाञ्चालको यथार्थ छर्लङ्ग छ । पिता महाराज पृषतबाट प्राप्त राज्यलाई मैले थाम्न सकिन । यो आधा राज्य पनि द्रोणबाट निगाहमा पाएको हुँ । द्रोणले नचाहेको भए म अहिले वनबासी नै हुने थिएँ । आधा राज्य दिएर पनि द्रोणले मेरो अपमानै गरेको हो । द्रोण आफैले मलाई पराजित गरेको मान्नचाहिँ म तयार छैन । उसले केही गर्न सकेको थिएन, सक्थ्यो भने पहिल्यै गथ्र्यो । तर त्यसको चेला अर्जुनसँग म हारेँ । द्रोणसँग हारेको होइन । अर्जुनको र मेरो कुनै दुश्मनी पनि त थिएन । अर्जुन पनि गुरुदक्षिणाको दायित्वले बाध्य थिए । जे भयो, मेरो कर्मको फल ठानेको छु मैले । तर द्रोणसँग बदला लिएर उसले हरण गरेको आधा राज्य फिर्ता नगरी स्वर्गे भएँ भने पितृका अगाडि मैले कसरी मुख देखाउनु ?’ राजा द्रुपदले एकै सासमा यति भन्न भ्याए ।

राजपुरोहितसँग अब के कदम चाल्न उपयुक्त होला भनेर छलफल गर्ने क्रममा राजा द्रुपदले यसरी आफूलाई खुलस्त पारेका थिए । उसो त, राजपुरोहितबाट कुनै कुरा लुकेको थिएन । स्वर्गबासी राजा पृषतकै पालादेखिका पुरोहित थिए यी वृद्ध ब्राह्मण । पाञ्चालको हित बाहेक कुनै कल्पना पनि गर्दैनथे यी पुरोहित । वास्तवमा, राज्यको विभाजन पाञ्चालका प्रजालाई मन परेको त कहाँ थियो र ! तर राजा नै अगाडि बढ्न नसकेपछि कसको के लाग्थ्यो ? द्रुपदले द्रोणको अपमान नगरेका भए यो दिन देख्नु पर्दैनथ्यो शायद । तर द्रोण पनि परशुरामसँग धनुर्वेदको शिक्षा पाएकामा घमण्डले चूर थिए । राजासँग गर्ने शिष्ट व्यवहार द्रोणले देखाएका थिएनन् । भरद्वाजको आश्रमका सहपाठी थिए भन्दैमा सिंहासनमा बसिसकेका मित्रसँग द्रोणले गर्ने व्यवहार मर्यादाअनुकूल थिएन । भर्खर राजा भएका द्रुपदमा पनि घमण्ड थियो नै । अर्जुनमार्फत पराजित गरेर आधा राज्य नै खोसेर लिइदिएपछि भने द्रुपदको अनुहारमा साँच्चै नै मलिनता छाएको थियो ।

राजाले गहिरो मन्त्रणा गर्न लागेको चाल पाएर पुरोहितले भने, ‘द्रोणसँग बदला लिनु भनेको हस्तिनापुरसँग निहुँ खोज्नु हो महाराज । द्रोणलाई हस्तिनापुरको संरक्षण छ । फेरि राजकुमारी अम्बालाई महाराजले संरक्षण दिएदेखि भीष्म पनि हामीसँग टेढिएका छन् ।’

‘भीष्मसँग बदला लिने उद्देश्यले भौंतारिएकी अम्बालाई संरक्षण दिनुको मेरो दुईटा उद्देश्य थियो । पहिलो त म शक्ति सञ्चय गर्न चाहन्थें । दोस्रो, मेरा कुनै सन्तान थिएनन् । परशुराम र महादेवसमेतबाट शस्त्रास्त्र शिक्षा लिएकी अम्बा पाञ्चालमा रहनु गौरवको कुरा थियो । अम्बालाई शाल्वले पनि अपनाएनन्, काशीले पनि स्वीकारेन, भीष्मले त तिरस्कारै गरे । भीष्मको डरले तिनलाई कसैले पनि संरक्षण दिएका थिएनन् । भीष्मको वध गर्ने प्रण गरेकी विरांगना पाञ्चालमा रहनु हस्तिनापुरसँग निहुँ खोज्नुन हुँदै हो । खासमा भीष्मको संरक्षणमा बसेका द्रोणलाई म भीष्मसँग पनि डराउँदिन भन्ने कुरा बताउन चाहन्थेँ ।

सबैबाट बहिष्कृत अम्बालाई धर्मपुत्री बनाएर स्वीकार्नु अपराध त होइन नि । स्त्री भए पनि यिनलाई जामा लगाउन कहिल्यै मन लागेन । युद्ध अभ्यास नै यिनको लक्ष्य थियो । यिनको नेतृत्वमा पाञ्चालले धेरै मोर्चामा विजय हासिल पनि गरेको छ । सेनाको नेतृत्व गर्न थालेपछि मैले यिनलाई शिखण्डी नाम दिएको हुँ । शिखण्डी अम्बाको पुनर्जन्म नै भन्दा हुन्छ । अब त यही नामले यिनको ख्याति भइसक्यो । नारीहरूलाई युद्धमा वर्जित गर्ने हाम्रो प्रचलन छँदा पनि त छैन । हस्तिनापुरकै राजा पाण्डुले विवाह गरेकी मद्रकुमारी पनि त योद्धा नै थिइन् । दशरथले विवाह गरेकी केकय राजकुमारी पनि योद्धा नै थिइन् । आजीवन ब्रह्मचर्यमा रहेर र युद्ध विषयक चिन्तनले शिखण्डीको नारी ग्रन्थि पनि निष्क्रिय भइसक्यो । देख्ने कसैले पनि यिनलाई नारी भन्दैनन् अब । तर सुन्छु, भीष्म शिखण्डी नारी भएकोले सामने परे पनि युद्ध नगर्ने बताउँछन् रे । भीष्मलाई शिखण्डीरूपी अम्बा नै आफ्नो मृत्युको कारण हुने प्रस्ट छ । चोट पाएकी नारी पो हो त अम्बा !

अब त मसँग कवच कुण्डलसहितको धृष्टद्युम्न पनि छन् । द्रोणसँग बदला लिने सङ्कल्प गरेर गरेको यज्ञको प्रतिफल यो पुत्र मेरो अर्को भरोसा हो । मैले पुत्री द्रौपदी पनि युद्ध कलामा पोख्त होस् भन्ने चाहेको थिएँ । तर यिनको मन त्यतातिर कहिल्यै गएन । रूप, गुण, शीलमा भने अद्वितीय छिन् यिनी । अब म चाहन्छु, यिनको सम्बन्ध आर्यावर्तको कोही विशिष्ट योद्धासँग होस् । मैल आज यहाँसँग यही विषयमा परामर्श गर्न चाहेको हुँ ।

‘महाराजको आशयमा म छर्लङ्ग भएँ । आर्यावर्तका अद्वितीय योद्धा त अर्जुन नै थिए । तर यिनको अकालमै मृत्यु भयो भन्ने खबर महाराजलाई ज्ञात नै छ । अर्का अपराजेय व्यक्ति मगध नरेश जरासन्ध हुन् । आर्यावर्तको सम्राट बन्ने ध्याउन्न छ यिनको । उमेर वयको हिसाबले यी हाम्री राजकुमारीका योग्य छैनन् । यिनका नाति मेघसन्धि राजकुमारीका समवयस्क हुन् । मेघसन्धि र राजकुमारीको विवाह गरिदिन सके जरासन्धसँग सम्बन्ध विस्तार हुन्छ । पाञ्चालसँग दौत्य सम्बन्ध राख्न पाए बलाबलमा मगध हस्तिनापुरभन्दा अब्बल हुन्छ । एक्लै मगधको आँट नपुगेरै जरासन्धले हस्तिनापुरमा आक्रमण नगरेका हुन् । शिशुपाल, पौन्ड्रक, शाल्व, रुक्मी, दन्तवक्रजस्ता आर्यावर्तका विशिष्ट योद्धाहरू पनि जरासन्धको नेतृत्वमा छन् । शिशुपाल त यो गठबन्धनको सेनापति नै भए । रुक्मी, शिशुपाल आदिको दुर्योधनसँग पनि नराम्रो नभएकाले जरासन्धले हस्तिनापुरसँग दुश्मनी मोल्न आँट नगरेका हुन् । जरासन्धको अर्को प्रतिद्वन्दी पाञ्चाल नै हो । मौका पाएसम्म पाञ्चालसँग सम्बन्ध गाँस्न जरासन्ध इच्छुक छन् भन्ने सूचना पनि छ महाराज । फेरि हाम्री राजकुमारी जस्तो वधु पाउनु मगधको सौभाग्यको कुरा हो । राजकुमारीमार्फत मगधलाई पाञ्चालतर्फ झुकाउन सकिन्छ महाराज !’
एकछिन मौन रहेर पुरोहित फेरि बोल्न थाले । मानौं पुरोहित आफैसँग कुरा गर्दै छन् ।

‘तर जरासन्धसँग कौटुम्बिक सम्बन्ध गाँस्नु भनेको आर्यावर्तका अर्का महान् हस्तीबाट टाढिनु हो । जरासन्धसँग यिनको पुरानो दुश्मनी छ । युद्धकौशल त यिनमा छँदै छ, त्यसमाथि कूटनीति र चतुरतामा आर्यावर्तमा यिनलाई भेट्नसक्ने कोही छैन भन्छन् जान्ने बुझ्नेहरू । धनुषवाण, गदा, तलबार सबै विद्यामा यी पारङ्गत छन् । तर्जनी औंलामा राखेर घुमाउँदै प्रहार गर्ने अलौकिक हतियार चक्रको साधनाले यिनलाई अरूभन्दा बेग्लै बनाएको छ । अग्निदेवबाट प्राप्त यो हतियारको अगाडि कोही टिक्न सक्दैन । परशुरामले पनि यिनलाई चक्र शिक्षा दिएका थिए भन्छन् ।’
‘कसको कुरा गर्दै हुनुहुन्छ पुरोहितजी ?’ द्रुपदलाई ठूलै जिज्ञासा भयो ।

द्वारकाधीश कृष्णको नाम नसुन्ने आर्यावर्तमा को होला ? महाराजले पनि सुनिबक्सेकै हुनुपर्छ ।

द्वारकाधीश कृष्ण र उनका दाजु बलरामको बारेमा प्रशस्तै सुनेको छु । कृष्णले विदर्भकी राजकुमारी रुक्मिणीलाई हाकाहाकी हरण गरेर लगेको कुरा कसलाई थाहा छैन ? तिनको त विवाह भइसक्यो, रुक्मिणीलाई पटरानी नै घोषित गरिसके । दोस्री पत्नीका रूपमा द्रौपदीलाई पाउँदैमा हाम्रो पक्षमा युद्ध गर्लान् र कृष्णले ? फेरि हस्तिनापुरसँग शत्रुता मोल्ने कुरा ! स्वर्गबासी भए पनि पाण्डु त यिनका फुपा नै भए । पाण्डुकै राज्यविरुद्ध यिनलाई मनाउन सकिएला ?

महाराजको कुरा सही हो । तर अहिले कृष्ण धृतराष्ट्र र दुर्योधनसँग रिसले आगो भएका छन् । कुन्ती र कुन्तीपुत्र पाण्डवहरू वारणावतको अग्निकाण्डमा मारिए भन्ने सुन्ने वित्तिकै कृष्ण हस्तिनापुर नगई सीधै वारणावत नै पुगेका थिए महाराज । वारणावतमा यिनले धेरै अनुसन्धान गरे । कुन्तीसहित पाँचै पाण्डवलाई दुर्योधन र धृतराष्ट्रले षडयन्त्रपूर्वक मारेका हुन् भनेर कृष्णलाई त्यहाँका प्रजाहरूले बताएछन् । कृष्ण धृतराष्ट्र र दुर्योधनसँग प्रतिशोध लिने मौकाको खोजीमा छन् महाराज । हस्तिनापुरसँग कृष्णको द्वन्द्व भयो भने जरासन्ध हस्तिनापुरको पक्षमा लाग्ने प्रस्ट छ । कृष्ण एक्लै यो खतरा उठाउने पक्षमा पक्कै पनि छैनन् । यही मौकामा कृष्णसँग सम्बन्ध विकास गर्न सकिन्छ महाराज । तर कृष्णसँग सम्बन्ध स्थापित गर्दा जरासन्धका साथसाथै शिशुपाल, दन्तवक्र, रुक्मी, शाल्व, पौण्ड्रक पनि हाम्रो विपक्षमा पुग्ने खतराचाहिँ छ । उसो त, रुक्मिणी हरण गर्दा यी सबै स्वयम्बर स्थलमै थिए । कसैले पनि कृष्णलाई रोक्न सकेनन् । कृष्ण एक्लै अजेय देखिएका थिए उतिबेला । द्वारका र पाञ्चालको गठबन्धन हस्तिनापुरसहितको जरासन्धको गठबन्धन भन्दा बलियो हुने पक्का छ । फेरि कृष्ण आफूले गर्ने हरेक अभियानलाई धर्मको संज्ञा दिन्छन् । सामान्य मानिसको मन जित्न यो धेरै कामयाब हुन्छ । कृष्णसँग यादव समूहको ठूलो बल पनि छ । कृष्णकै कारण कालयवन मारियो । जरासन्धका दायाँ बायाँ हात जस्ता मन्त्रीहरू हंस र डिम्भक पनि कृष्णसँगको युद्धमा मारिए । जरासन्धले अहिलेसम्म कृष्णलाई युद्धमा जित्न सकेको छैन ।

यहाँको कुरा युक्तिपूर्ण छ पुरोहितजी । पाण्डव वधमा दुर्योधनको हात थियो होला त ? हुन त धृतराष्ट्रले हस्तिनापुरबाट एक प्रकारले निष्कासन नै गरेका हुन् पाण्डवलाई । पाण्डवलाई निष्कासन गर्नुमा भीष्मको मौन सहमति थियो भन्ने चर्चा पनि चलेको हो । खास गरेर कुन्तीको राजकाजप्रतिको सक्रियतालाई भीष्मले मन पराएका थिएनन् भनिन्छ । पाण्डुलाई वनबास पठाउनुमा पनि कुन्ती नै कारण थिइन् भन्ने सुनिन्थ्यो । राजकाजको काममा कुन्तीभोजलाई यिनको ठूलो भर थियो । भीष्मको भयले मात्र कुन्तीभोजले आफ्नी पुत्रीको विवाह पाण्डुसँग गरिदिएका हुन् । पाण्डु पुरुषत्वहीन थिए भन्ने कुन्तीभोजलाई थाहा नभएको हो र !

अँ, त्यो वारणावत काण्डको बारेमा थप के सूचना छ पुरोहितजी ?

पाण्डवहरूलाई वारणावत पठाएको लगभग एक वर्षपछि अग्निकाण्ड भएको हो महाराज । आगलागी भएको भवन प्रज्वलनशील पदार्थले बनेकोले दुर्योधनको षडयन्त्र हो भन्ने चर्चा चलेको हो । सबभन्दा ठूलो शङ्काचाहिँ दुर्योधनको विश्वस्त मन्त्री पुरोचनलाई पाण्डवहरूको मन्त्री बनाएर पठाइनुमा रहेको छ । पाण्डवहरूलाई हस्तिनापुरका प्रमुख मन्त्री विदुरको सद्भाव थियो । तर अग्निकाण्डमा पुरोचनको पनि मृत्यु भयो । यो अग्निकाण्ड रहस्यमय देख्छु म महाराज । मलाई त के लाग्छ भने यो अग्निकाण्डको पछाडि पाण्डवहरूकै हात छ । मलाई चाहिँ धृतराष्ट्रले उनीहरूलाई हस्तिनापुर फर्कन दिने छैनन्, मौका पाए वध नै गरिदिन्छन् भन्ने लागेर धृतराष्ट्र र दुर्योधनलाई भ्रममा पार्न उनीहरू आफैंले आगो लगाएर भागेका त होइनन् भन्ने शंका लागेको छ ।

कृष्ण वारणावत पुगेर गहिरो अनुसन्धान गरेर द्वारका फर्किसकेका छन् । एक पटक महाराजले कृष्णलाई आमन्त्रण गरिबक्सिनु पर्यो । अहिले कृष्ण आर्यावर्तमा आफ्नो पक्षमा शक्ति केन्द्रीकरण गर्ने ध्याउन्नमा छन् महाराज । हजुरले निमन्त्रणा पठाइबक्सियो भने पक्कै आउँछन् । निमन्त्रणा लिएर बरु मै जान्छु ।



कृष्णको हातमा पाञ्चाल नरेश द्रुपदले पठाएको पत्र थियो । कृष्णले दुई तीनचोटि पढिसकेका थिए । पत्रमा त्यस्तो धेरै कुरा लेखिएको पनि थिएन । ‘आर्यावर्तमा भइरहेको शक्ति केन्द्रीकरणमा छलफल गर्न’ भन्ने महत्वपूर्ण बुँदा पत्रमा परेको थियो । यसबाहेक पत्रवाहक पुरोहितले राजकुमारीको विवाहबारे परामर्श गर्ने महाराजको मनसाय भएको कुरा पनि सङ्केत गरेका थिए । राजा द्रुपदले कृष्णका फुपू र फुपूका छोराहरूको दुःखद मृत्युमाथि गहिरो शोक व्यक्त गरेको कुरा विशेष महत्वका साथ दूतले बताएका थिए । यो पछिल्लो कुरालाई लिएर कृष्ण धेरै बेर सोचमग्न भए । शोकको कुरा पत्रमा नलेखेर किन मौखिक सन्देशमा उल्लेख गरियो भनेर कृष्णलाई आश्चर्य लागेको थियो ।

कृष्णलाई वारणावतमा रहँदाका दृश्यहरू सरसर्ती याद आए । उनले वारणावतको लाक्षागृहमा लागेको आगो र जलेका भनिएका लासहरूको बारेमा विभिन्न मानिसलाई प्रश्नहरू सोधेका थिए । देख्नेहरूका अनुसार आगो मूलद्वारबाट सुरु भएको थियो । जलेका लासका आकारप्रकारका सम्बन्धमा कुरा गर्दा कसैले पनि असाधारण आकृतिको शवको चर्चा गरेका थिएनन् । उसो त कृष्णले पनि पाण्डवहरूलाई देखेका थिएनन् । भीमको शरीर सामान्यभन्दा ठूलो थियो भन्नेसम्म उनले सुनेका थिए । अर्जुन र भीमको पराक्रमबारे पनि कृष्ण अनविज्ञ थिएनन् । त्यस्ता पराक्रमी दाजुभाइ कमजोर भित्ताको घरमा जलेर स्वर्गबास भए भन्ने कुरा पत्याउन कृष्णलाई गाह्रो परेको थियो । गदाको एकै चोटले जस्तै घर पनि ढाल्नसक्ने क्षमता भएका भीम चुपचाप आगोमा जले होलान् भनेर कृष्णलाई पटक्कै विश्वास थिएन ।

लाक्षागृहको पछाडि केही पर भयानक जङ्गल थियो । जङ्गलको बाटो थोरै दूरीमा नै गंगा भेटिन्थ्यो । तर त्यो प्रचलनको बाटो भने थिएन । एक दिन कृष्ण शिकार खेल्ने विचारले जङ्गलतिर जाँदै गर्दा मान्छेका पाइलाजस्ता आकृतिमा यिनको नजर पर्यो । धेरै दिन भइसकेकाले छाप अस्पष्ट भइसकेको थियो । कृष्णको शंकालाई पुष्टि गर्न त्यो ठूलो आधार बन्यो । वारणावतबाट फर्किंदा कृष्णले व्यासलाई भेटेका थिए । व्यासले पनि पाण्डवहरू जीवित हुन सक्ने सम्भावना बताएका थिए ।

दिन जति बित्दै जान्थ्यो, उति कृष्णलाई द्रुपदसँग भेट्नु अनिवार्य जस्तो लाग्न थाल्यो । जेसुकै भए पनि पाञ्चालसँग गठबन्धन हुनुले आर्यावर्तको शक्ति सन्तुलनमा ठूलो महत्व राख्थ्यो । यही मेसोमा व्याससँग पनि भेट्न पाइने सम्भावना थियो । पाण्डु र धृतराष्ट्र दुवै व्यासका पुत्र थिए । तथापि व्यास पाण्डुपुत्रप्रति केही नरम रहेछन् भन्ने सङ्केत कृष्णलाई अघिल्लो भेटमै परिसकेको थियो । पाण्डवहरूको बारेमा व्यासले केही न केही सूचना प्राप्त गरिसकेका होलान् भन्नेमा कृष्ण विश्वस्त थिए । कृष्णको मनमा पाञ्चाल नरेश द्रुपदको प्रस्तावलाई लिएर ठूलै योजनाको बीजारोपण भइसकेको थियो ।



कृष्ण पाञ्चाल जाने सोच बनाउँदै थिए । वनको डढेलो जसरी हिडिम्ब वधको खबर द्वारका पुग्यो । राक्षसराज हिडिम्ब महाशक्तिशाली थिए । द्वन्द्व युद्धमा जो कोहीले पराजित गर्न नसक्ने भनेर प्रसिद्ध थिए हिडिम्ब । राज्य विस्तारमा खासै चासो नदिने हिडिम्बको वध कृष्णलाई रहस्यमय लाग्यो । वनमा लुकिछिपी हिँड्दै गरेका पाण्डवसँग त हिडिम्बको भेट भएन ? यदि यसो हो भने भीमको हातबाट हिडिम्ब मारिन सक्थ्यो । पाण्डवहरू जीवितै छन् भन्ने पुष्टि गर्ने झिनो आधार थियो यो । नत्र हिडिम्बको वध गर्नुपर्ने कुनै पनि कारण आर्यावर्तको राजनीतिमा देखिएको थिएन ।

हिडिम्बको वन वारणावतबाट गंगा तरेर पाञ्चाल जाने बाटोमै पथ्र्याे । अब कृष्णलाई पाञ्चाल पुग्न हतारो पर्‍याे  । कृष्ण सात्यकिलाई साथ लिएर द्वारकाबाट निस्के । वारणावत नपुगी गंगा तरेर उनको यात्रा हिडिम्ब वनतर्फ बढ्यो । आसपासका बस्तीको जीवन सामान्य थियो । हिडिम्बको वध हुनु र नहुनुले सामान्य मानिसको जीवनमा कुनै फरक पारेको जस्तो देखिएन । हिडिम्बको वध भएको केही महिना भइसकेकाले जनजीवन सामान्यावस्थामा फर्किसकेको पनि हुन सक्थ्यो । कृष्णले खासै उल्लेखनीय सूचना पाउन सकेनन् ।

बाटोमा शालीहोत्र ऋषिको आश्रम थियो । ऋषिको दर्शन गर्ने र स्थानीय राजनीतिबारे परामर्श गर्ने उद्देश्यले कृष्ण आश्रममा पुगे । ऋषि केही दिनअघि मात्र यात्रामा निस्केका रहेछन् । केही दिन अघिसम्म व्यास पनि सोही आश्रममा रहेको सूचना पनि पाए कृष्णले । भेट नभए पनि त्यस क्षेत्रमा व्यासको उपस्थिति अर्थपूर्ण लाग्यो कृष्णलाई ।

अन्ततः पाञ्चाल पुगे कृष्ण । द्रुपदले कृष्णको धूमधाम स्वागत गरे । एकअर्काको बारेमा जति सुनेका भए पनि कृष्ण र द्रुपदको पहिलो भेट थियो यो । कृष्णको स्वागत गर्न द्रुपदका वयोवृद्ध पुरोहित पनि उपस्थित थिए । कृष्ण र द्रुपदबीच आर्यावर्तको राजनीतिमाथि सामान्य विचार विमर्श हुँदै थियो, कानमा कुण्डल पहिरेका, बलिष्ठ हात, पाखुरा र चौडा छाती भएका पहेंलो वर्णका प्रभावशाली युवकको प्रवेश भयो । यी अरू कोही नभएर द्रुपद पुत्र धृष्टद्युम्न थिए । आगोजस्तै धपक्क बलेका धृष्टद्युम्न साँच्चै नै यज्ञकुण्डबाट फुत्त निस्किएर आएजस्ता तेजिला थिए ।

कृष्णलाई चाहिँ द्रौपदीलाई भेट्न मन थियो । द्रौपदीको बारेमा प्रशस्तै सुनेका थिए कृष्णले । केही क्षणको मौनता चिर्दै द्रुपदले नै द्रोणसँगको आफ्नो वैमनश्यताको प्रसङ्ग निकाले । द्रोणको कुरा गर्दा द्रुपदको अनुहारमा रोषको मात्रा एक्कासि बढेको देखिन्थ्यो । रिसले थोरै कामेजस्ता पनि देखिए । कुराको निचोड के थियो भने राजा द्रुपद पुत्री द्रौपदीमार्फत एक महायोद्धासँग सम्बन्ध गाँस्न चाहन्छन्, ता कि द्रोणसँग बदला लिने क्रममा हस्तिनापुरसँग युद्ध भयो भने भरोसापूर्ण सहयोग मिलोस् । र अन्तमा भने, ‘कुन्ती र कुन्तीपुत्रलाई निर्वासनमा पठाएर जुन जघन्य अपराध हस्तिनापुरले गर्याे , त्यसको पाठ धृतराष्ट्र र दुर्योधनलाई पढाउनुपर्छ । धृतराष्ट्र र दुर्योधनले जे जति गरेका छन्, त्यो आँटको पछाडि भीष्म र द्रोण नै रहेका छन् । पाञ्चाल यो योजनामा सक्रिय सहभागिता जनाउन इच्छुक छ ।’



विहानीको समय । कृष्ण द्रुपदको उद्यानमा परिभ्रमण गर्दै थिए । केही परबाट नारी स्वरको कलबलाहट नजिकिँदै आयो । राजसी पहिरनकी एक युवती आफ्नी सहयोगीको साथ कृष्ण भएतिरै आउँदै थिइन् । आगोमा तप्त तामाजस्तो धपक्क परेकी यिनै युवती द्रौपदी हुन् भन्ने अनुमान गर्न कृष्णलाई कुनै गाह्रो परेन । कामदेवकी स्त्री रतिको बारेमा शास्त्रमा पढेको कुरा सजीव भए जस्तो लाग्यो कृष्णलाई । मै हुँ भन्ने युवकको मनलाई विचलित पार्न काफी थियो द्रौपदीको रूपराशि । कृष्ण आफूलाई बल गरेरै सामान्य अवस्थामा राख्न सफल भए ।

टहल्दै आएको जस्तो भावभङ्गिमा प्रदर्शन भए पनि उद्यानको जुन छेउमा कृष्ण उभिएका थिए, त्यो स्थानसम्म आउनु पर्ने कुनै कारण थिएन द्रौपदीलाई । द्रौपदी पक्कै पनि आफूलाई नै भेट्ने निहुँ गरेर आएकी हुन् भन्ने स्पष्ट भयो कृष्णलाई । औपचारिक परिचय नभएकोले कुरा प्रारम्भ गर्न अप्ठेरोजस्तो देखियो । द्रौपदीको अनुहारमा थोरै लज्जा जस्तो भाव दौडियो । फर्किहाल्न मिल्ने अवस्था पनि थिएन । द्रौपदीकी सहयोगीले सहज गरिदिइन्, ‘आर्य ! राजकुमारी द्रौपदी र म उहाँकी सहेली दिनदिनै यही समय उद्यानमा टहल्न निस्कन्छौं । हजुरलाई महाराजको यस उद्यानमा यसअघि कहिले पनि देखिएको थिएन ।’

‘मलाई कृष्ण भन्छन् । महाराज द्रुपदको निमन्त्रणा प्राप्त भएकोले हिजो मात्र महाराजको दर्शन गर्न यहाँ आइपुगेको हुँ । उद्यानको सुन्दरताले यहाँबाट निस्कन मन मानिरहेको थिएन । राजकुमारीको सवारीभन्दा पहिल्यै म फर्किसक्नुपर्ने थियो शायद । गल्ती भए पनि राजकुमारीको दर्शन लाभ भयो । म फर्किहाल्छु । माफ गर्नुहोला ।’ यति भनेर कृष्ण साँच्चै नै अघि बढिहाले ।

‘महारानीबाट मर्जी भएको थियो । म एक्कैछिनमा आइहाल्छु । हजुरहरू कुरा गरिबक्सेला ।’ द्रौपदीसँग आएकी सहेली कृष्णलाई उछिनेर अगाडि बढी ।

‘कोसँग कुरा गर्नु ? बस न सुमुखी ।’ द्रौपदीको बोली मधुरो थियो । सुमुखीले सुनिन । अघि पुगिसकेकी थिई । तर कृष्णले चाहिँ सुने ।

‘राजकुमारीको सेवाका लागि मै बस्नुपर्ने भयो ।’ यति भन्दै कृष्ण फर्किए । कृष्णको कटाक्षले वातावरणलाई सहज गराइदियो ।

वास्तवमा द्रौपदी कृष्णलाई नै भेट्न भनेर आएकी थिइन् । कृष्णको बारेमा दरबारमा धेरै पटक चर्चा भएको थियो । राजा द्रुपद पुत्रीलाई सकेसम्म कृष्णसँग विवाह गराइदिने विचारमा थिए । द्रौपदीबाट यो कुरा लुकेको थिएन । पिताकै कारण द्रौपदीको मन मस्तिष्कमा आचार्य द्रोणप्रति घृणा भाव थियो । कृष्ण द्रोणसँग बदला लिने पिताको उद्देश्यमा सहयोगी हुन तयार छन् कि छैनन् भन्ने जान्न चाहन्थिन् द्रौपदी । कृष्ण त्यसमा अनिच्छुक देखिए विवाह गर्नु जरुरी छैन भन्ने कुरामा द्रौपदी स्पष्ट थिइन् ।

‘द्वारकाधीशको सेवा पाउने सौभाग्य पनि मेरो ठूलै हो,’ द्रौपदी पनि कटाक्षमा कम निस्किनन् । अनि थपिन्, ‘तर दर्शन पनि दुर्लभ । हिजो आएको मान्छेलाई भेट्न आज यसरी खोजिहिँड्नु परेको छ ।’
द्रौपदी विषयमै प्रवेश गर्न लागेको चाल पाइहाले कृष्णले । भने, ‘राम्रा मान्छेलाई सुन्दर उद्यानमा भेट्नुको आनन्द नै छुट्टै छ । प्रकृतिजस्तै मन पनि छर्लङ्ग खोल्न पाइने ।’

‘ब्रजका गोपीहरू किन लठ्ठिए प्रस्ट भयो । हजुरसँग दिनदिनै यसरी कुरा गर्न पाउन त भाग्यमै लेखेको हुनु पर्छ ।’

‘हो । तर कृष्णा ! राजकुमारीको कुराको मूल्य धेरै चर्को छ भन्ने सुनेको छु । त्यो मूल्य चुक्ता गर्नसक्ने व्यक्ति आर्यावर्तमा एउटै मात्र छ । त्यो हो कुन्तीपुत्र अर्जुन ।’

‘कृष्णा !’ यो शब्दले आजसम्म द्रौपदीलाई कसैले पनि सम्बोधन गरेकै थिएन । ‘कृष्णको कृष्णा’ ? ‘कृष्णको आशय यही हो?’ पलकभरको लागि समाधिमै पुगेजस्तो भयो द्रौपदीलाई । तर कृष्णले अर्जुनको नाम लिएर आफू द्रुपदले राखेको शर्त पूरा गर्न नसक्ने सङ्केत प्रस्ट पारिसकेका थिए । अर्जुनको नाम द्रौपदीले नसुनेकी होइनन् । आफूलाई पाता कसेर लैजाने यी युवकलाई द्रुपदले चाहिँ कहिल्यै नराम्रो सोचेका थिएनन् । वास्तवमा अर्जुनसँग सम्बन्ध गाँस्न द्रुपद त्यही बेला उत्सुक थिए, जब सारा कौरव सेना पराजित भइसकेपछि एक्लैले द्रुपदलाई पराजित गरेका थिए । अर्जुनको शौर्य, वीरता र व्यक्तित्वबाट द्रुपद साँच्चै नै प्रभावित थिए । अर्जुन त गुरु द्रोणको आदेशअनुसार मात्र आएका थिए, द्रुपदसँग कुनै दुश्मनी भएर होइन । तर दुर्भाग्यवश केही महिनाअघि वारणावतको अग्निकाण्डमा अर्जुनसहित सबै पाण्डवको मृत्यु भयो भन्ने खबर आएको थियो ।

अर्जुनको नामले द्रौपदीलाई साँच्चै रोमाञ्चित तुल्यायो एकपटक । भनिन्, ‘अर्जुन जीवितै छन् र द्वारकाधीश ?’

कृष्णले भने, ‘हेर कृष्णा ! संसारमा असम्भव भन्ने केही छैन । आर्यावर्तकै महान् धनुर्धर अर्जुन एउटा घरमा थुनिएर जलेर मरे भन्ने कुरा दुनियाँले कसरी विश्वास गरिराख्यो मैले बुझ्न सकेको छैन । सिङ्गै पर्वतलाई उठाउन सक्ने बल भएका भीमलाई एउटा घरको भित्तोले छेक्यो होला ? सत्यवादी युधिष्ठिर, परम् बुद्धिमान सहदेव के चुपचाप आगोलाई पर्खेर बसे होलान् ? म तिम्रो लागि अर्जुनलाई पाञ्चाल झिकाउने योजनासहित आएको छु । महाराजसँग कुरा गर्नुअघि तिमीसँग प्रस्ट हुन चाहन्थेँ । तिमीसँग एकान्तमा कुरा गर्ने मौकाको खोजीमै म यो उद्यानमा आएको हुँ ।’

‘कृष्ण !’ द्रौपदी योभन्दा बढी बोल्न सकिनन् । कहिल्यै नभेटेका कृष्णको यतिसाह्राे अपनत्व कल्पनातीत कुरा थियो । कृष्णले यति सजिलै मन जित्न सक्छन् भन्ने द्रौपदीलाई लागेकै थिएन । द्रोणसँग बदला लिने पिता द्रुपदको योजनामा जुनसुकै बलिदान गर्न द्रौपदी तयार थिइन् । कृष्ण अन्धकारमा बत्ती जसरी प्रकट भएको देखेर उनको आँखाबाट हर्षको आँसु नै बग्यो ।

आँसुका ढिक्कामा विहानीको किरण ठोक्किर बनेको इन्द्रेणीले द्रौपदीको श्याम वर्णको अनुहारमा अव्यक्त सुन्दरता टाँसिदिएको थियो । कृष्ण मोहित भएर हेरिरहे । कृष्णलाई लाग्यो विश्वकर्माले मिहिनेत गरेर बनाएका सर्वोत्तम कलाझैं सर्वाङ्ग सुन्दरी द्रौपदीको रोजाइमा पर्ने युवक साँच्चै नै भाग्यवान हुनेछ । द्रौपदीको सुगन्ध आर्यावर्तमा फैलिएकै थियो । समस्या थियो त अर्जुनसम्म पुर्‍याउने । अर्जुन र द्रौपदीको मिलन गराउन सके आर्यावर्तको शक्ति सन्तुलन आफ्नो पक्षमा ढल्किन सक्ने कृष्णले देखेका थिए ।

दुवै हातका बूढी औंलाले द्रौपदीको गालामा बगेका आँसु पुछिदिँदै कृष्णले भने, ‘कृष्णे ! तिमीसँग मेरो भेट यो पहिलो हुँदै होइन । नत्र मलाई तिमी किन यति परिचित, यति आफ्नो जस्तो लाग्थ्यो ? अर्जुन मेरा आफ्नै फुपूका पुत्र हुन् । उनीसँग पनि मेरो प्रत्यक्ष भेट भएको छैन । तर अर्जुनजत्तिको धनुर्धर आर्यावर्तमा अर्को छैन । अर्जुनलाई पाञ्चाल झिकाउन एउटा महान् योजना बनाउनुपर्छ । त्यो योजना हो धनुर्विद्याको चुनौती । आर्यावर्तका प्रमुख धनुर्धरहरूको नाम भन्छु सुन– परशुराम, भीष्म, द्रोण, अर्जुन, कर्ण, एकलव्य र कृष्ण । परशुराम, भीष्म, द्रोण र कृष्ण प्रतिस्पर्धामा भाग लिँदैनन् । आर्यहरूको द्वन्द्वमा एकलव्यलाई कुनै चासो छैन । बाँकी कर्ण हुन् । तर कर्ण सुतपुत्र हुन् । धनुषवाणको परीक्षा तिम्रो स्वयम्वरको प्रयोजनको लागि आयोजना गरियो भने सुतपुत्रलाई तिमीले नै स्वीकार्ने छैनौ । क्षत्रियहरूको प्रतिस्पर्धामा विकल्पमा ब्राह्मणलाई सहभागी गराउन सकिन्छ, तर सुतजाति स्वीकृत हुँदैनन् ।’

‘तर कृष्ण, पिता महाराजको उद्देश्यमा सहयोगी हुन्छन् र पिता महाराजलाई आपत्ति छैन भने सुतपुत्रै भए पनि मेरो कुनै अवरोध हुँदैन,’ द्रौपदी प्रस्ट भइन् ।

‘तिमीलाई आर्यावर्तको राजनीतिको विस्तृत कुरा थाहा छैन कृष्णे । कर्ण बलवान छन्, महान धनुर्धर हुन् तर हुन् दुर्योधनका मान्छे । स्वयम्बरमा विजयी भए पनि कर्णले तिमीलाई दुर्योधनको जिम्मा दिन सक्छन् । दुर्योधनबाट द्रोणसँग शत्रुता मोल्ने काम हुँदैन । यो घाम झैं छर्लङ्ग छ । त्यसैले बरु ब्राह्मणलाई वरण गर्छु तर सुतपुत्रलाई वरण गर्ने छैन भनेर तिमी स्पष्ट हुनु पर्छ ।’

एकछिन चिन्तन गरे झैं देखिएर कृष्णले फेरि थपे, ‘तर एउटा समस्या पर्नसक्छ । पाण्डवहरू कसैको पनि विवाह भएको छैन । ज्येष्ठ भ्राता युधिष्ठिरको विवाह नभएको स्थितिमा अर्जुन विवाह गर्न तयार हुन्छन् कि हुँदैनन् भन्ने हो । फेरि कुन्ती फुपूको इच्छा पनि पहिले ज्येष्ठ पुत्रको नै विवाह होस् भन्ने हुन सक्छ । माहिला भीमको पनि विवाह भएको छैन ।’

अर्जुन जीवित छन् र अर्जुनसँग विवाह गरेर द्रोणसँग बदला लिने पिताको उद्देश्यमा सहयोगी बन्न सक्छु भन्ने द्रौपदीको कल्पना एकाएक मुर्झायो । मलिन अनुहार पार्दै भनिन्, ‘कृष्ण, मेरो जीवन मैले पिताजीको लागि अर्पण गरेको छु । शूरवीर र पितालाई साथ दिने जोसुकै पुरुषसँग बाँधिन म तयार छु । तर मानौं अर्जुनले स्वयम्बरको स्पर्धा जिते । त्यसो हुँदा युधिष्ठिरसँग विवाह गरे पनि अर्जुन पिता महाराजको मोर्चामा सेनापति बन्छन् त ? अर्जुन युधिष्ठिरका अधीन छन् र युधिष्ठिर मेरा पिताका अधीन हुन्छन् भने स्वयम्बरको स्पर्धा नराखी पनि म युधिष्ठिरलाई वरण गर्न तयार छु ।’

यो अप्ठेरो स्थिति हो कृष्णा । पहिलो कुरा त पाण्डवहरू कहाँ छन्, छन् कि छैनन् भन्ने नै प्रस्ट छैन । स्वयम्बरको आयोजना उनीहरूलाई प्रकट गराउने उद्देश्यले रच्नुपर्छ भन्ने मेरो उद्देश्य हो । उनीहरू जस्ता शूरवीरलाई एउटा घरको अग्निले समाप्त पार्छ भने वीर कसलाई भन्ने ? त्यो अग्निकाण्ड हुँदा पाण्डव भित्रै थिए भन्ने पनि पक्का छैन । जे पनि भएको हुनसक्छ । मेरो मनमा उब्जेको शंका म तिमीलाई स्पष्ट भनिदिन्छु । त्यो आगो पाण्डव आफैंले लगाएर आफूहरू अदृश्य भएका पनि हुन सक्छन् कृष्णा । उनीहरू हस्तिनापुरबाट निर्वासनमा धपाइएका थिए । वारणावतमा पनि सुरक्षित वातावरण नभएर त्यसो गर्नु परेको पनि हुन सक्छ । त्यसैले पनि पाण्डव जीवित छन् भने उनीहरू जत्तिको महाराज द्रुपदको भर पर्दो योद्धा अरू हुन सक्दैनन् । अब तिम्रो सवालको सम्बन्धमा म यत्ति भन्न सक्छु, तिमीले कठोर परीक्षा पार गर्नु पर्ने हुन सक्छ ।

कृष्ण, मलाई कुराको भुलभुलैयामा नअल्झाउनुस् । कस्तो कठोर परीक्षा प्रस्ट पार्नुन्, ता कि म मानसिक रूपले त्यसको लागि तयारी गर्दै गरूँ ।

पाण्डवको बल भनेको उनीहरूको एकता हो कृष्णा । कतै तिम्रो कारणले उनीहरूको बिचमा फुट नहोस् ! प्रतिस्पर्धाको योजना अर्जुनलाई ध्यानमा राखेर बनाउने हो । अर्जुन पक्का विजयी हुन्छन् ।

युधिष्ठिरको विवाह नहुँदै अर्जुनको विवाह भयो भने वा अर्जुनले जितेकी तिमीलाई युधिष्ठिरले विहे गरे भने परिणाम सोचेजस्तो नहुन सक्छ । अर्जुन एक्लै सक्षम छन्, तर भाइहरूसँग विभाजन भयो भने अर्जुन लक्ष्य भ्रष्ट हुन पनि सक्छन् । अर्को कुरा, तिमीजस्ती स्त्रीलाई पत्नी रूपमा प्राप्त गर्न कुन पुरुष नचाहला ?

मेरो आजसम्मको अनुभवमा कृष्ण बाहेक जुनसुकै पुरुष द्रौपदीलाई प्राप्त गर्न चाहन्छन् किनभने द्रौपदी राधा वा रुक्मिणी जस्ती छैन ।

द्रौपदीको यो कटाक्षले कृष्णलाई गम्भीर बनायो । भने, ‘जहाँ कृष्णा, त्यहाँ कृष्ण । मैले त्यसै तिमीलाई कृष्णा भनेर सम्बोधन गरेको होइन । पति रूपमा प्राप्त गर्नु मात्र सम्बन्ध बन्नु होइन । म विवाहित छु । रुक्मिणी पटरानी घोषित भइसकिन् । मेरा अरू पनि पत्नी हुन सक्छन् । आर्यावर्तको राजनीतिले त्यस्तो दवाब सिर्जना गर्नसक्छ । तिमीलाई मैले विवाह गरेर कुन दर्जा दिन सक्छु ? त्यो दर्जा तिमीलाई सुहाउँदो हुँदैन । म त छँदै छु । अर्जुन र भीमलाई पनि साथ लिन सकियो भने हाम्रो गठबन्धन अजेय हुन्छ । यो राजनीति हो । तिमी महाराज द्रुपदको उद्देश्यको अभिन्न अङ्ग भएकीले यो कुरा बुझ्न जरुरी छ । तिम्रो र मेरो सम्बन्ध भनेको पति पत्नीको सम्बन्धभन्दा माथिल्लो स्तरको हुन्छ । पाण्डव त मेरा फुपेरा भाइ भए ।

कस्तो कुरा गर्नुहुन्छ कृष्ण ? घरि समस्या देखाउनुहुन्छ, घरि अर्जुनसँग मेरो विवाह भइसकेजस्तो कुरा गर्नुहुन्छ ।

जुनसुकै भूमिकाका लागि तिमी तयार भयौ भने महाराजसँग योजनाको विस्तृत चर्चा गर्छु म । तिम्रो भूमिका पाण्डवहरूलाई एकजुट बनाउन मदत गर्ने हुनुपर्छ, फुटाउने होइन । त्यो अवस्थामा पाण्डवको एकता नै महाराज द्रुपदको बल हुनेछ ।

‘म त्यसको लागि तयार छु कृष्ण । सम्भावित भूमिकाको बारेमा मलाई पूर्व जानकारी गराउनुस् । शरणागत ठानेर मेरो उद्धार गर्नुस् कृष्ण ।’ द्रौपदी साँच्चै नै द्रवीभूत भइन् ।

घाम माथि आइसकेको थियो । कृष्ण अतिथि कक्षतिर लागेको देखेर सुमुखी धर्तीबाट निस्के जसरी प्रकट भई र द्रौपदीलाई साथ दिन पुगी ।



कृष्ण, द्रुपद, शिखण्डी र धृष्टद्युम्नको सल्लाहअनुसार निर्धारित स्वयम्बरको दिन पनि आयो । आर्यावर्तका सम्पूर्ण राजाहरूलाई विशेष निमन्त्रणा गरिएको थियो । धनुर्विद्याको परीक्षा भएकोले त्यसमा पारंगत जो कोही धनुर्धारी सभामा उपस्थित हुनसक्ने समाचार प्रसार गरिएको थियो । प्रतिस्पर्धामा आफ्नो भाग्य परीक्षण गर्न आएका राजा, महाराज, राजकुमार र दर्शकहरूले सभाकक्ष खचाखच थियो । सभाकक्षको केही पर एउटा पोखरीको माथि ठिक विचमा पर्ने गरी एउटा चक्र तीव्र गतिमा घुमिरहेको थियो । चक्रको बीचमा चराको कृत्रिम टाउको जडित थियो । प्रतिस्पर्धीले तल पानीमा हेरेर घुम्दै गरेको चक्रको बीचमा रहेको चराको आँखा भेदन गर्नु पर्ने थियो । वाण प्रहार गर्नको लागि त्यहाँ अत्यन्त गह्रुँगाे शिवधनुष राखिएको थियो । धनुष उठाउन र त्यसको सन्धान गर्नै विशेष कुशलता चाहिन्थ्यो । सारमा, लक्ष्य भेदन बडो दुरुह थियो ।

प्रतिस्पर्धा सुरु भयो । प्रतिस्पर्धी आफ्नो नाम, कुल र राज्य बताउँदै उठेर जान्थे । कसैले धनुष उठाउनै सकेनन्, कसैले ताँदो चढाउनै सकेनन्, कोही वाण छोड्दा सन्तुलन गुमाएर पछारिन पुगे । कसैले पनि लक्ष्य भेदन गर्न सकेनन् । अन्तमा दुर्योधनको छेउमा बसिरहेका कर्ण उठे । परीक्षा स्थलतर्फ जानुअघि कर्णले छोटो मन्तव्य व्यक्त गरे ।

‘महानुभावहरू ! म अंगराज कर्ण यो प्रतिस्पर्धामा दुर्योधनको तर्फबाट सहभागी हुँदै छु । मबाट लक्ष्य भेदन हुने कुरामा मलाई कुनै शंका छैन । लक्ष्यभेदनपछि सुन्दरी द्रौपदीले वरमालाचाहिँ मलाई होइन दुर्योधनलाई पहिर्‍याउने छिन् । म आफू क्षत्रिय नभई सुतपुत्र भएकोले क्षत्रिय कन्यासँग विवाह गर्ने मेरो कुनै रहर छैन । तर आफू धनुर्धर भएको र सभामा उपस्थित कोही पनि क्षत्रियले लक्ष्य साध्न नसकेकाले कन्याको विवाह नै नहुने देखी म अगाडि आएको हुँ ।’

कर्ण धनुष उठाउँदै थिए । मञ्चबाट द्रौपदीको स्वर गुञ्जियो, ‘सावधान ! अर्काको पुरुषार्थमा विजित हुने कुनै पनि पुरुषलाई म पति वरण गर्दिन । जतिसुकै महान् धनुर्धर भए पनि सुतपुत्रलाई पनि म वरमाला पहिर्‍याउन सक्दिन ।’

कर्णको हात रोक्कियो । यता सभामा खैलाबैला भयो । अब कोही क्षेत्रीय बाँकी थिएनन् । एकलव्यले आफू सहभागी नहुने बताइसकेका थिए । कृष्ण त आयोजक पक्षमै रहेकाले सहभागी हुने कुरै भएन । सभा नियन्त्रण बाहिर जाने सम्भावना बढ्दै थियो । त्यही बेला दर्शक दीर्घाबाट आवाज आयो, ‘सावधान !’

उच्च र ओजिलो स्वर सुनेर हल्ला एकाएक रोकियो । हातमा कमण्डलु लिएका, जिउमा खरानी घसेका, अधोवस्त्र मात्र पहिरेका एक ब्राह्मण हात उठाउँदै थिए । युवकको शरीर वलिष्ठ र व्यक्तित्व आकर्षक थियो । कस्ता कस्ता धनुर्धरले नसकेको लक्ष्य साधन एउटा निरीह ब्राह्मणले आँटेको देखेर सभामा हाँसोको फोहोरा छुट्यो । हाँसोलाई चिर्दै फेरि आवाज गुञ्जियो, ‘सावधान ! राजकन्या ब्राह्मणलाई वरण गर्न तयार छिन् भने म आफ्नो भाग्य परीक्षा गर्न चाहन्छु ।’

अब निर्णय द्रौपदीको जिम्मामा पुग्यो । एकछिन त उनी केही बोल्नै सकिनन् । एकोहोरो कृष्णलाई हेरिरहिन् । कहाँ अर्जुनबाट लक्ष्य साधिने आश्वासन थियो कृष्णको, कहाँ अहिले एक ब्राह्मण हौसिँदै छ । उनलाई आफ्नो भन्दा पनि पिता द्रुपदको चिन्ता लाग्यो । कदाचित् ब्राह्मण सफल भयो भने पिता महाराजको द्रोणसँग बदला लिने योजना चकनाचुर त हुँदैन भनेर द्रौपदीको अनुहार मलिन भयो । द्रौपदीको जवाफ आउनुअघि कृष्ण अघि बढे र सभालाई सम्वोधन गरे ।

‘आदरणीय क्षत्रिय कूलभूषण महानुभावहरू, महाराज द्रुपदको तर्फबाट म केही कुरा भन्न चाहन्छु । यो परीक्षा एकदमै कठोर थियो । दुर्भाग्यवश कोही पनि क्षत्रिय यसमा सफल हुन सक्नुभएन । हामी आयोजकलाई पनि कन्याको वरमाला खेर जाने त होइन भन्ने चिन्ता लाग्न थालिसकेको छ । अन्तमा एक प्रज्वलनशील ब्राह्मण आफ्नो भाग्य परीक्षा गर्न अगाडि बढेका छन् । हामी सबै परशुराम, सान्दिपनि, भरद्वाज, द्रोणजस्ता ब्राह्मण मनिषीहरूको धनुर्विद्या बारे परिचित नै छौँ । ब्राह्मण पुरुषद्वारा क्षत्रिय कन्यालाई पत्नीका रूपमा अपनाइएका दृष्टान्त पनि प्रशस्त छन् । ब्राह्मण युवकले लक्ष्य साधन गरेमा द्रौपदीद्वारा वरमाला ब्राह्मणलाई अर्पण गर्नमा कुनै वाधा हुने छैन तर अन्तिम निर्णय भने कन्याकै हुनेछ ।’

कृष्णको सम्भाषण द्रौपदीलाई स्वीकृति जनाउने सङ्केत थियो । कृष्णलाई हेर्दै अन्यमनस्क भावले द्रौपदीले स्वीकृति जनाइन् ।

पलक भरमा ब्राह्मण पोखरी छेउमा पुगिसकेका थिए । युवकले सजिलै धनुष उठाए । कुन बेला वाण चढाए, कसरी धनुष खैंचे, कुन बेला प्रहार गरे, कसैले मेसो नै पाएन । एकाएक घुम्दै गरेको चक्र रोक्किएपछि मात्र मान्छेका आँखा त्यता परे । वाणको टुप्पो चक्रको बीचमा राखिएको चराको आँखामै गोपिएको थियो ।

निशाना भङ्ग भएपछि सभामा कोलाहल भयो । क्षत्रियहरू क्षुब्ध भए भने ब्राह्मणहरू खुसीले उफ्रिरहेका देखिए । कोलाहलकै बीचमा द्रौपदीले वरमाला ब्राह्मणलाई लगाइदिइन् । दर्शक दीर्घामा रहेका तीनजना ब्राह्मण उठेर बाटो लागेको कसैले चाल पाएनन् । विजेता ब्राह्मणको छेउमा हेर्दै मल्लजस्ता एक ब्राह्मण उभिएका थिए । मानौं कि त्यहाँ कुनै युद्ध हुन लागेको छ र ती मल्लजस्ता ब्राह्मण विजेता ब्राह्मणलाई सहयोग गर्न सजग भएर उभिएका हुन् ।

यत्रा शूरवीर क्षत्रियहरूको आँखैअगाडि द्रौपदीजस्ती सुन्दरी कुनै ब्राह्मणको पोल्टामा पुग्नुलाई उनीहरूले अपमान नै ठानेका थिए । आक्रमण ब्राह्मणमाथि भन्दा पनि द्रुपदमाथि केन्द्रित हुने लक्षण देखियो । यो चाल पाएर विजेता ब्राह्मणले प्रतियोगितामा राखेको शिवधनुष उठाए । कसैले यिनलाई वाणले भरिएको तरकश पनि थमाइदियो । मल्ल जस्ता देखिने ब्राह्मण पनि आक्रमणको प्रतिकार गर्न तयार देखिए । ब्राह्मणहरूको अवरोध देखेर अतिथि राजाहरू केही हच्किए । कृष्ण अघि सरेर वस्तुस्थितिलाई स्वीकार्न राजा महाराजाहरूलाई अनुरोध गरेपछि सम्भावित द्वन्द्व टरेर गयो ।



स्वयम्वर सभाबाट फर्केका तीन ब्राह्मण चुपचाप डेरामा पुगे । डेरामा उनीहरूकी माता अधीर भएर उनीहरूकै बाटो हेरिरहेकी थिइन् । साँझ पर्न लाग्दा पनि छोराहरू नफर्केकामा उनी चिन्तित जस्ती देखिएकी थिइन् । तीनजना मात्र फर्केको देखेर र फर्किएका छोराहरूको मुख पनि मलीन देखेर माताको चिन्ता थपियो । जेठोजस्तो देखिने पुत्रलाई सोधिन्, ‘के भयो ? भाइहरू खोइ ? अनुहार किन मलिनो बाबु ? किन कोही बोल्दैन ?’

माताको बेचैनी प्रस्ट थियो । तर तीनैजना चुपचाप थिए । फेरि सोधिन्, ‘स्वयम्बर सक्कियो ?’

बल्ल जेठाजस्ता देखिने पुरुषको बोली फुट्यो, ‘सक्कियो । भाइहरू आउँदै छन् । हामी अघिअघि आएका ।’

माताको अनुहार उज्यालिँदै आयो । उत्साही भएर सोधिन्, ‘कस्ती रहिछिन् त द्रुपद कन्या ?’

उही पुत्र बोल्यो, ‘एकचक्रा नगरमा हामी बसेको घरमा बास बस्न आउने ब्राह्मणले बताएभन्दा कता कता रूपवती । अलौकिक । यस्ती युवती त मैले आजसम्म देखेको छैन । तर मेरो चिन्ताचाहिँ अब हाम्रो के हुन्छ भन्ने हो ।’

मातालाई कुरा स्पष्ट भएको थिएन । सोधिन्, ‘पहिले सबै कुरा प्रस्ट पार । अनि पो कुरा बुझ्छु । भाइहरू किन ढिलो गरे आउन ?’

‘माता ! निशाना साध्न उपस्थित क्षत्रियहरू कोही पनि सफल भएनन् । स्वयम्बर सभाको नेतृत्व कृष्णले गरेका रहेछन् । अर्जुन बाहेक अरूले सक्ने परीक्षा नै थिएन । सुतपुत्र कर्णले सक्थे होलान् तर उनले आफू विजयी भए पनि कन्याले वरमालाचाहिँ दुर्योधनलाई लगाइदिनु पर्ने शर्त राखे । फेरि द्रौपदीले सुतपुत्र कर्ण र उनको शर्त दुवै अस्वीकार गर्ने बताइन् । कर्ण अपमानित जस्तो भएर प्रतिस्पर्धाबाट बाहिरिए । अन्ततः अर्जुन सफल भए । द्रौपदीले वरमाला अर्जुनको गलामा लगाइदिइन् । भीमलाई अर्जुनको साथमा छोडेर हामीचाहिँ तुरुन्तै फर्केको । त्यहाँ युद्ध होला जस्तो पनि भयो । हामीले गर्न सक्ने केही थिएन । उसमाथि कृष्ण त्यहीँ थिए । छोरी ज्वाइँको सुरक्षाको चिन्ता द्रुपदको पनि बनिहाल्यो । मचाहिँ अब हामी कहाँ जाने, के गर्ने सल्लाह गर्न भनेर यी दुई भाइलाई साथ लिएर फर्केको । उनीहरू पनि एक छिनमा आइपुग्लान् । अर्जुन त अब पाञ्चालमै द्रुपदको दरबारमा बस्लान् । हामी कहाँ जाने आज र अहिले उनीहरू आइपुग्नु्अघि निर्णय गरिहाल्नु पर्छ ।’

नकुल र सहदेव मौन नै रहे । माता कुन्ती बोलिन्, ‘त्यो स्वयम्वर हो, विवाह होइन । जेठो दाजुको विवाह नभई अर्जुनले विवाह के गर्लान् ? तैपनि ऊसँग सल्लाह गरौं । माहिलाको सल्लाह के हुन्छ ! युद्ध भएको भए द्रौपदीको संरक्षण गर्न माहिलाको पनि सहयोग भयो होला । विजयकै कुरा गर्ने हो भने अर्जुन एक्लैको जित भन्न मिल्दैन त्यो । अर्जुनको स्वयम्बर मात्र भएको हो । त्योभन्दा अघि तिमीहरू दुई भाइको विवाहको लागि राजकन्याको खोजी गर्नु पर्ला । तिमीहरूको विवाह हुन्छ अनि अर्जुनको पनि सँगै विवाह गरिदिनु उचित होला । नकुल र सहदेवको त त्यसपछि गरे पनि भयो ।’

युधिष्ठिरको अनुहारमा कान्ति फर्केको थिएन । बोले, ‘कुरा त हो माता, तर राज्यभ्रष्ट भएर यसरी रनवन भौंतारिएर हिँडेको मलाई कुन राजाले कन्या देला ? भीमको पनि एक प्रकारले विवाह भइसक्यो । ऊ हिडिम्बाकहाँ नै फर्किनसक्छ । हिडिम्बाबाट उसको पुत्र जन्म पनि भइसक्यो ।’

एकछिन मौन बसेर युधिष्ठिर फेरि बोले, ‘कृष्ण मभन्दा पनि कान्छा । कृष्णको छोरा प्रद्युम्न नै द्रौपदी स्वयम्वरमा भाग लिन आएका रहेछन् । मेरो त उमेर पनि ढल्किसक्यो । द्रुपदले राखेजस्तो स्वयम्वर प्रतिस्पर्धामा विजयी हुन पनि गाह्रो छ । अर्जुनजस्तो धनुर्धर म होइन । भीमजस्तो बलवान पनि म छैन । त्यसैले माता मैले यी दुई भाइको जिम्मा हजुरलाई छोडेर तपस्या गर्न जाने विचार गरेको छु । ठूलो बुबा धृतराष्ट्रले हामीलाई हस्तिनापुरमा टिक्न पक्कै दिने छैनन् । दासजस्तो भएर बस्न म सक्दिन । भीम राक्षसहरूको राजा भइहाले । अर्जुनको पनि व्यवस्था भइहाल्यो । यी दुई भाइको जिम्मा अर्जुन र भीमले लिइहाल्छन् । मलाई अहिले नै बिदा दिनुहोस् माता । म आशीर्वाद लिन मात्र आएको हो यहाँ ।’

कन्यावस्थामै जन्माएको प्रथम पुत्रलाई पनि त्याग्नु पर्‍याे । अब अहिले युधिष्ठिरले पनि सन्यास ग्रहण गर्ने कुरा गरेको सुनेर कुन्तीको आँखामा आँसु थामिएन । आँसु पुछ्दै भनिन्, ‘वारणावातबाट हिँडेदेखि तिमीहरूले जे गरेका छौ, त्यो सल्लाहले गरेका छौ । भीमले हिडिम्बालाई विवाह गर्दा पनि सहमतिमै गरेका हुन् । हिडिम्बाले नै भीमलाई रोजेकी थिइन् । अहिलेको अवस्था फरक छ । द्रौपदी विजय पुरुषार्थ भए पनि तिमीहरू ब्राह्मण भेषमा भएकोले द्रौपदीलाई अर्जुनले भिक्षामा प्राप्त गरेको बराबर हो । भिक्षामा प्राप्त गरेको कुनै पनि चीज अहिलेसम्म सबै भाइले बाँडचुड गरेर भोग गरेका छौ । द्रौपदीको निहुँमा तिमीहरूको विभाजन मेरो लागि सह्य हुने छैन । म चाहन्छु द्रौपदीसँग तिमीहरू पाँचैजनाले संयुक्त विवाह गर । अहिलेको हाम्रो अवस्था पाँच पाँच कन्याको व्यवस्था गर्न सक्ने पनि छैन । हामी आफै भागी भागी हिंडिरहेका छौँ । तिमीहरूले आफ्नो अधिकार फिर्ता गर्न सक्ने शक्ति संचय नगरुन्जेल हामी सार्वजनिक हुन पनि सक्दैनौँ । भोलि अधिकार प्राप्त गरिसकेपछि एक से एक कन्या प्राप्त भइहाल्छन् । त्यो बेला अलग अलग कन्यासँग विवाह गरौला । तिमीहरू छरियौ भने आफ्नो अधिकार फिर्ता गर्न पनि सक्दैनौ र आजसम्म मैले तिमीहरूको लागि गरेको लडाइँ व्यर्थमा खेर जान्छ ।’

युधिष्ठिर र कुन्तीको छलफल चल्दै थियो । दैलोबाट व्यासको प्रवेश भयो । अचानक साँझमा व्यासको उपस्थिति उनीहरूलाई ढुङ्गा खोज्दा द्यौता मिले जस्तो भयो । आसनमा बस्दै व्यास आफै बोल्न थाले, ‘अर्जुनले लक्ष्य साध्छन् भन्ने मलाई पक्का थियो । उनीहरू आधी रातसम्ममा आइपुग्लान् । अर्जुन र भीम भएपछि सुरक्षाको कुनै चिन्ता लिनु पर्दैन । म यहाँ एउटा अनुरोध गर्न आएको । राज्यभ्रष्ट भएर भागी भागी हिंडेका तिमीहरूबिच द्रौपदीको कारण विभाजन हुनु हुँदैन भन्ने मेरो सुझाव हो । मैले बुझेसम्म कृष्णको पनि राय यही रहनेछ । सम्भवतः देवकीनन्दन कृष्ण पनि यहाँ आइपुग्ने छन् अर्जुनको चियो गर्दै । तिमीहरूलाई प्रकट गराउने उद्देश्यले नै कृष्णकै योजनाअनुसार यो स्वयम्बरको आयोजना गरिएको हो । अग्निकाण्डपछि कृष्ण वारणावत पुगेका थिए । वारणावतबाट मलाई भेट्न पनि आएका थिए । तिमीहरू अग्निकाण्डमा परेका छैनौं भन्नेमा कृष्ण प्रस्ट छन् । द्रुपद आफ्नी पुत्रीको विवाह कृष्णसँग गराउन चाहन्थे तर कृष्णलाई अरू नै कुरामा रुचि थियो । कृष्ण आर्यावर्तमा एउटा गठबन्धन निर्माण गर्न चाहिरहेका छन् । यो अग्निाकाण्ड नभएको भए पनि उनी तिमीहरूसँग भेट्न आउनेवाला थिए । आर्यावर्तको कुनै पनि गठबन्धनमा अर्जुन र भीमको उपस्थितिले फरक पार्छ । अर्जुन र भीमको बल भनेको युधिष्ठिरको नेतृत्वमा मजबुत भएको कारण हो । तिमीहरू पाँच भाइको अलौकिक एकताले आर्यावर्तको राजनीतिमा ठूलो प्रभाव पार्ने निश्चित छ ।

पहिले त राजा द्रुपद द्रौपदी मार्फत अर्जुनसँगै सम्बन्ध जोड्न चाहन्थे । आचार्य द्रोणले द्रुपदको आधा राज्य लिन सक्नुमा अर्जुनकै हात थियो । अर्जुनलाई द्रोणको पञ्जाबाट फुत्काउन चाहन्थे द्रुपद । द्रुपद तिमीहरूको दुर्योधन र धृतराष्ट्रसँग विवाद बढ्दै गएको स्थितिलाई उपयोग गर्न खोजिरहेका थिए । तर अचानक वारणावत काण्ड घटेपछि मात्र द्रुपद कृष्णकहाँ पुगेका हुन् । धनुर्विद्याको चुनौती सुनेर अर्जुन जहाँ भए पनि जुनसुकै भेषमा पनि उपस्थित हुन्छन् भन्ने कृष्णलाई पक्का थियो । परिस्थिति पनि यस्तो बनाएका थिए कि अर्जुनबाहेक अरू कोही पनि विजयी हुन सक्ने सम्भावनै थिएन । मलाई यकिन छ कृष्णले यो कुरा द्रौपदीलाई पनि बताएका छन् । कृष्णको सङ्केत पाएपछि मात्र ब्राह्मणलाई वरण गर्न द्रौपदी तयार भएकी कुरा त युधिष्ठिरले पनि देखेकै हुन् ।’

व्यास बोल्दै थिए, बाहिरबाट भीमको प्रफुल्ल आवाज आयो, ‘माता, हेर्नुस् त हामीले कसलाई लिएर आयौँ !’

आवाजसँगै दैलोबाट अर्जुनको प्रवेश भयो । त्यसपछि द्रौपदी र पछिपछि भीमको प्रवेश भयो । द्वारबाट प्रवेश गर्ने बित्तिकै द्रौपदीको नजर व्यासमाथि पर्‍याे। स्वयम्बर सभा र त्यसअघि पनि पटक पटक पाञ्चाल पुगेका हुनाले द्रौपदी व्यासलाई चिन्दथिन् तर दिउँसो सभामा देखिएका व्यास किन यहाँ उपस्थित छन् बुझ्न नसके पनि अभिवादनचाहिँ गरिन् । त्यहाँ अर्जुनजस्तै ब्राह्मण भेषधारी अरू तीन पुरुष र एक अधवैंसे स्त्री समेतको उपस्थितिलाई द्रौपदीले अनुमान गर्न सकिनन् आखिर यिनीहरू को हुन् भनेर । ब्राह्मणले ’माता’ बनेर सम्बोधन गरेकी स्त्री यिनै हुन् भन्ने अनुमानचाहिँ उनलाई भयो । अर्जुन र भीम दुवैले पहिला ती स्त्रीलाई, अनि व्यासलाई दण्डवत् गरेर आआफ्नो आसन ग्रहण गरे । द्रौपदी अहिलेसम्म अनविज्ञ थिइन्, अब झन् अन्योलमा परिन् ।

कुन्ती अघि सर्दै भनिन्, ‘आऊ पुत्री ! आऊ बस ! मेरा पुत्रहरू ब्राह्मण भेषमा भएकाले तिमी भिक्षाको रूपमा उनीहरूलाई प्राप्त भएकी हौ । भिक्षामा प्राप्त हरेक चिज पवित्र हुन्छ । तिमी प्रसाद रूपमा मेरा पुत्रहरूलाई प्राप्त भएकी हौ । यता बस पुत्री !’

स्त्री ब्राह्मणका माता रहिछन् भन्ने प्रस्ट भएपछि तिनलाई दण्डवत् गरिन् द्रौपदीले । कुन्तीले उनलाई तानेर आफूसँगै बसाइन् र भनिन्, ‘हामी तिम्रै बारेमा कुरा गर्दै थियौं पुत्री ।’

द्रौपदी यी स्त्रीको कुराको अर्थ खोज्दै थिइन् तर केही प्रस्ट हुन सकेको थिएन । भिक्षा, प्रसाद, पुत्रहरूलाई प्राप्त, ब्राह्मण भेष ? के भनेकी हुन् यी स्त्रीले ? के यी सबै यिनका पुत्र हुन् ? अनि म यिनीहरूलाई भिक्षाको रूपमा प्राप्त ? के यी ब्राह्मण होइनन् ? स्वयम्बरको प्रतिस्पर्धामा जितेका भन्नेसम्म उनको बुझाइ थियो । तर विजेता ब्राह्मणकी माता के भन्दै छिन् ?

एकछिनको मौनतापछि व्यास बोले, ‘पुत्री अब तिम्रा पिताको प्रतिज्ञा तिम्रो हातमा छ । महाराज द्रुपदले यो स्वयम्बरको रचना किन गर्नुभयो भन्ने कुरा प्रस्ट छ । तिम्रा पिताले कल्पना गरेको वर तिम्रा लागि प्राप्त गरेका छन् । त्यसलाई जोगाउने अभिभारा तिम्रो हो ।’

‘कल्पना गरेको वर ? के यी ब्राह्मण अर्जुन हुन् त ? अनि यी अरू ब्राह्मण पाण्डव दाजुभाइ ? यी स्त्री कुन्ती नै हुन् ? व्यास के भन्दै छन् ?’ द्रौपदी प्रश्नको ऊहापोहमा अल्झिरहिन् । उनको मुखबाट बोली फुट्न सकेको थिएन । कृष्णले सङ्केत त गरेका थिए पाण्डवहरू जीवित हुन सक्ने सम्भावना । तर यसरी पाण्डव प्रकट होलान् भनेर उनले कल्पना पनि गरेकी थिइनन् । पाण्डवै हुन् भन्ने पो कहाँ स्पष्ट थियो र !
व्यास, कुन्ती र युधिष्ठिर के के कुरा गर्दै थिए तर द्रौपदीको ध्यान भने त्यता थिएन । उनी पिताको योजना, कृष्णसँग भएका सम्वाद र स्वयम्वर सभाका घटनाहरूको पत्र पत्र केलाउँदै थिइन् । विचारमा चर्लुम्म डुबेकी द्रौपदीले कति बेला कृष्ण आइपुगे, के के कुरा गरे केही पत्तो पाउन सकिनन् । एकैचोटि कोही अगाडि ठिङ्ग उभिएर ‘कृष्णा’ भनेपछि मात्र झसङ्ग भइन् । अचानक उनको मुखबाट निस्कियो, ‘कृष्ण !’ गहिरो खाडीमा डुब्दै गर्दा कोही तारणहार आए झैं लाग्यो उनलाई । जुरुक्क उठेर गम्लङ्ग अँगालो हाल्दै भनिन्, ‘कृष्ण ! म कहाँ आइपुगेँ कृष्ण ? बताउनुहोस् कृष्ण । मेरो भाग्यले मलाई कहाँ पुर्‍यायो ?’

सान्त्वना दिँदै कृष्णले भने, ‘तिमी सही ठाउँमा आइपुगेकी छ्यौ कृष्णा । तिमीलाई प्रतिस्पर्धामा जित्ने ब्राह्मण अर्जुन हुन् ।’

कृष्णले कुन्तीसहित सबै पाण्डव भाइको परिचय गराइदिए र भने, ‘कृष्णा, तिमी इतिहासको सङ्गीन मोडमा आइपुगेकी छौ । यहाँ तिम्रो विवाहको बारे चर्चा हुँदै छ । तिम्रो विवाह कोसँग गर्ने भन्ने छलफल हुँदैछ यहाँ । कुन्ती फुपूका अनुसार ब्राह्मण भेषका अर्जुनले पुरुषार्थै गरेर पाएको भए पनि त्यो भिक्षा बराबर नै हो । त्यो प्रतिस्पर्धा क्षत्रियहरूको थियो । अर्जुनजस्तो धनुर्धर किन ब्राह्मण भेषमा गए मैले पनि बुझ्न सकेको छैन ।’

युधिष्ठिरतिर हेरेर कृष्णले सोधे, ‘ठुल्दाजु, हजुरहरू किन ब्राह्मण भेषमा सभामा सवारी भयो ? मलाई त हजुरहरूको सवारी वास्तविक भेषमा नै हुनेछ भन्ने लागेको थियो ।’



हस्तिनापुरबाट धपाइएका पाण्डवलाई आफूहरूमाथि आक्रमण हुनेछ भन्ने विभिन्न शंका, उपशंका थियो । वारणावत पुगेपछि उनीहरूले लाक्षागृहजस्तो विचित्र भवनको निर्माण हुँदै गरेको पत्तो पाएका थिए । पहिला उनीहरूलाई त्यो कुरा बताइएको थिएन । त्यो भवनको निर्माण दुर्योधनको इच्छाअनुसार भएको थियो । त्यसको निर्माण रहस्यपूर्ण थियो । उसो त, दुर्योधन यस्तै यस्तै निर्माणमा रुचि लिन्थे । एकपटक दुर्योधनले गंगा किनारमा ऊनी र सुती धागोबाट निर्मित विचित्रको भवन बनाउन लगाएका थिए । दुर्योधनका विश्वासपात्र मन्त्री पुरोचन साथ लागेर आउनुमा षडयन्त्रको गन्ध देखेका थिए उनीहरूले ।

उता, पाण्डवहरूलाई वारणावत पठाएको केही दिनमै धृतराष्ट्रले दुर्योधनलाई युवराज घोषित गरे । कुन्ती र पाण्डवलाई आफूहरू धपाइएको र अब हस्तिनापुरको बाटो सदाको लागि बन्द भयो भन्ने प्रस्ट भयो । उनीहरूलाई लाक्षागृहमा राखेर जलाएर मार्ने षडयन्त्र त होइन भन्ने शंका बढ्न थाल्यो । त्यसैले उनीहरूले नै त्यो लाक्षागृहलाई उपयोग गरेर बेपत्ता हुनुमा श्रेयस्कर ठाने । सके पौरख गरेर हस्तिनापुरमाथि कब्जा जमाउने, नसके जीवितचाहिँ जसरी पनि रहने योजनामा थिए उनीहरू ।

कुन्तीको शंका झन गहिरो थियो । पहिले पनि पाण्डुसहित वनबास पठाउने काममा भीष्मको भूमिका देखेकी थिइन् कुन्तीले । त्यसैले अघिल्तिर जतिसुकै चिप्लो घसे पनि भीष्मप्रति कुन्तीलाई कुनै आशा थिएन । अहिले निर्वासनमा पठाउन लाग्दा र युधिष्ठिरलाई हटाएर दुर्योधनलाई युवराज घोषित गर्दा समेत भीष्म मौन थिए । धृतराष्ट्रले भीष्मसँग परामर्श नगरी यो काम गरे भन्ने कुन्तीलाई विश्वास थिएन । त्यसैले ज्यान जोगाउनुलाई कुन्तीले पनि ठूलो कुरा ठानेकी थिइन् । पाण्डवहरूको यो योजनाको कसैले सुइँकोसम्म पाएका थिएनन् । त्यसको उल्टो धृतराष्ट्र र दुर्योधनको बदनाम भएको थियो । भीष्मको पनि आलोचना हुन थालेको थियो । विदुरलाई भने उनीहरूले पछि आफूहरू सकुशल रहेको खबर गोप्य रूपमा पठाइदिएका थिए । विदुरकै सुझाव अनुसार व्याससँग उनीहरूको भेटघाट हुन थालेको थियो ।

व्यासले उनीहरूलाई स्वयम्बर सभामा उपस्थित हुन सल्लाह दिएका थिए । एक्कैचोटि क्षत्रिय भेषमा उपस्थित हुँदा विभिन्न समस्या पर्नसक्थ्यो । वास्तविक स्वरूप सार्वजनिक हुनुअघि बलियो साथको आवश्यकता थियो उनीहरूलाई । हिडम्बको वधपछि राक्षसहरूको साथ प्राप्त थियो तर त्यो पर्याप्त थिएन । एकचक्रा नगरमा बस्दा बकासुर नामको नरभक्षी राक्षस वध गरेर नगरबासीको सहानुभूति जम्मा गरेका थिए । पछि वास्तविक स्वरूपमा उपस्थित हुँदा सहयोग पाउन सक्ने सम्भावना त थियो । हस्तिनापुरसँग लड्न यस्तो शक्ति सञ्चय निर्णायक हुने थिएन ।

पाण्डवहरू आर्यावर्तका राजाहरूको स्थिति अवलोकन गर्न चाहन्थे । यसको लागि उनीहरूलाई भेष बदल्नु जरुरी थियो । सम्भव भए कोही राजाकहाँ शरण लिन सकिन्छ कि भन्ने सोचमा पनि थिए उनीहरू । हस्तिनापुरको दुश्मनमा पाञ्चाल नै पहिलो थियो । स्वयम्बरमा आक्रमण हुने, अपहरण गरिने जस्ता क्रियाकलापको प्रयास हुन सक्थ्यो । त्यस्तो आइपरे पाञ्चालको पक्षबाट लड्नेसम्मको योजना थियो उनीहरूको । सबै राजाहरू असफल भएको देखेपछि चाहिँ अर्जुनलाई प्रतिस्पर्धामा भाग लिने इच्छा लाग्यो । युधिष्ठिरसँग परामर्श गरेरै परीक्षामा सहभागी भएका थिए अर्जुन । मनमा द्रौपदीलाई पाउने चाहना तीव्र भए पनि अर्जुनलाई राजाहरूसमक्ष आफ्नो क्षमताको प्रदर्शन पहिलो प्राथमिकता थियो । निशाना साधेसँगै प्रतिस्पर्धाको शर्तअनुसार वरमाला अर्जुनको गलामा परिछाड्यो । परिस्थितिले नयाँ मोड लिएपछि भीम र अर्जुनलाई त्यहीँ छोडेर मातासँग सल्लाह गर्न युधिष्ठिर चाँडै नै फर्केका थिए ।

कृष्णले आफूलाई नै लक्ष्य गरेर प्रश्न सोधेपछि युधिष्ठिरले जो भएको पृष्ठभूमि बताए र अन्तमा भने, ‘यहाँ हामी सबै आफ्नै मात्र छौँ । हामीहरू बीच कुनै कुरा लुकाउनु जरुरी छैन । अब नयाँ परिस्थितिको बारेमा माता कुन्तीको आदेश मेरो लागि अन्तिम हुन्छ । आवश्यक सल्लाहको लागि पितामह व्यास पनि साथमै हुनुहुन्छ । त्यसमाथि मेरा अनुज भए पनि तपाईँ कृष्णप्रति हाम्रो ठूलो आशा छ । अर्जुन हाम्रो भरोसाका केन्द्र हुन् । शारीरिक बल र द्वन्द्व युद्धमा माहिलो भाइ छउन्जेल हामीले चिन्ता गर्नु पर्दैन । आजको नायक भने अर्जुन हुन ्। अर्जुन जे भन्छन्, मेरो त्यसमा केही विमति हुने छैन ।’

अर्जुनले मुख खोल्नै पर्‍याे । भने, ‘स्वयम्बरको परीक्षा उत्तीर्ण हुनु भवितव्य मात्र हो । ठूल्दाजुबाट व्यक्त भएका सबै कुरा सत्य हुन् । ठूल्दाजु र माहिला दाजुको विवाह नभई आफूले पहिला विवाह गरेर म दाजुहरूलाई परिवेत्ता तुल्याउन चाहन्न । यसले अविवाहित दाजु, विवाह गर्ने भाइ, विवाहिता कन्या, कन्यादान गर्ने पिता र विवाह गराउने पुरोहित पाँचैजनालाई नर्कवास गराउँछ भन्ने शास्त्र छ । सबैलाई नर्कवासी गराउनुभन्दा द्रुपदकन्यासँग ठूल्दाजु युधिष्ठिरले विवाह गर्नु उचित ठान्छु म । स्वयम्बरमा ग्रहण गरेको वरमाला निमित्त मात्र हो । भोलि हामीले आफ्नो अधिकार प्राप्त गरेपछि राजा हुने ठूल्दाजु नै हुन् । त्यसैले ठूल्दाजु आफ्नो क्षात्र धर्मबाट निवृत्त नभएसम्म उहाँको अधिकारमाथि हस्तक्षेप गर्नु धर्मानुकूल हुँदैन । राक्षस राजकुमारी हिडिम्बाले माहिला दाजु भीमबाटै एक पुत्र प्राप्त गर्ने चाहना गर्नुभएकाले माता र ठूल्दाजुबाट त्यस प्रयोजनको लागि मात्र आदेश दिनुभएको हो । त्यो हाम्रो कुल परम्पराअनुसारको विवाह थिएन । परम्पराविरुद्ध जानुभन्दा सन्यस्त बन्न मलाई सहज हुन्छ ।’

द्रौपदीसँग कसैले केही सोधेको थिएन अहिलेसम्म । नसोधी बोल्नु मर्यादानुकूल पनि थिएन । अर्जुनले आफ्नो कुरा समाप्त पारेपछि फेरि युधिष्ठिर नै अघि सरे, ‘मेरा साहिंला भाइप्रति मलाई सधैं गर्व छ । युधिष्ठिरको अहिलेसम्मको परिचय र सम्मान भाइहरूकै भरोसामा प्राप्त भएको हो । द्रुपदकन्यामाथि पहिलो अधिकार अर्जुनकै हुन्छ । दोस्रो अधिकार सभामा उपस्थित राजाहरूको आक्रमण हुँदा अर्जुनलाई सहयोग गर्न तम्सिने माहिला भाइ भीमको हुन्छ । हामी तीन भाइ त्यसपछि मात्र आउँछौँ । यो विजयमा हाम्रो कुनै पुरुषार्थ परेको छैन । धर्मकै कुरा गर्दा ज्येष्ठ भ्राताबाट अनुमति भए कनिष्ठ भ्राताले विवाह गर्न हुन्छ । भाइहरूको खुसीको लागि मेरो कुनै अवरोध हुँदैन । व्यक्तिगत रूपमा मलाई ठूलो बुबा महाराज धृतराष्ट्रले गरेको देशनिकालाप्रति पनि कुनै गुनासो छैन । राज्यभन्दा मलाई वानप्रस्थ जीवन नै श्रेयस्कर लाग्छ ।’

समस्याको समाधानको साँचो कुन्तीलाई आफ्नो हातमा भए जस्तो लाग्यो । तर अन्तिम निर्णय त द्रौपदीले नै गर्नु पथ्र्याे । पाण्डुसँग विवाह गर्नुअघिदेखिका घटनाहरू चलचित्रझैं एकएक उनको मस्तिष्कमा सरर्र आए । आजसम्म यी पाँच पुत्रलाई एक ज्यान जसरी जोगाएर राख्न सकेकी थिइन् । आज एक स्त्रीको कारण भाइहरूको विभाजन हुनु उनलाई कसै गरे पनि चित्त बुझ्ने कुरा थिएन । अनुभवी स्त्रीको आँखाबाट सबै छोराहरूलाई नियालेकी थिइन् कुन्तीले । द्रौपदीको रूप लावण्यबाट सबै भाइ दग्ध बन्दै गरेको उनीबाट छिपेको थिएन । भीमले ‘हामीले ल्यायौं’ भनेर पहिले नै आफ्नो अधिकार प्रदर्शन गरिसकेका थिए । युधिष्ठिरले पनि आफू द्रौपदीबाट कामपीडित भएको अप्रत्यक्ष स्वीकारेका थिए । नकुल र सहदेवको अनुहार पनि उनले पढेकी थिइन् । अनि उनले आफूलाई हेरिन् । उनले पनि त पाँच पति व्यहोरेकी हुन् । समाजमा बहुपत्नी हुन हुन्छ भने बहुपति हुन किन हुँदैन ? सन्तान जन्माउनु धर्मानुकूल हो भने सन्तान जन्माउने प्रयोजनको लागि पुरुष समागम गर्नु कहाँ धर्मानुकुल नै हुन्छ भन्ने उनको विचार थियो । सन्तानको लागि भनेर एक पतिलाई छोडेर अर्को पुरुषसँग समागम गर्नु र बहुपति वरण गर्नुमा उनले खासै अन्तर देख्न सकेकी थिइनन् । उनको आँखा अगाडि कर्णको अनुहार झल्झली आयो । थाहै नपाई ऊ दुर्योधनसँग मिलेको छ र आफ्ना भाइहरूको शत्रु बनेको छ । चाहेर पनि उनले यो कुरा खोल्न सकेकी थिइनन् ।

भीष्मले पनि सत्यवतीकी कानीन पुत्र व्यासबाट विचित्रवीर्यका पत्नीहरूमा नियोग गराए, तर कुन्तीका कानीन पुत्र कर्णलाई मान्यता दिन चाहेनन् । कुन्तीलाई यो कुराले पनि नराम्ररी चिमोटिरहन्थ्यो । पहिला राम्रा राम्रा कुरा गरेर पाण्डुसँग विवाह गराउने तिनै भीष्म पछिल्लो समय कुन्ती र उनका पुत्रहरू विरुद्धको षडयन्त्रमा साक्षी बन्न पुगे । कुन्तीले यो सबै देखे भोगेकी थिइन् ।

इतिहासबाट वर्तमानमा ओर्लिइन् कुन्ती । प्रकटमा भनिन्, ‘हाम्रो यस्तो दुरवस्थामा पाँच पुत्रहरूको छुट्टाछुट्टै विवाह सम्भव छैन । यो सङ्कटको घडी हो । भाग्यले हामीलाई यो स्थितिमा ल्याइदियो । दैव पनि हाम्रो पक्षमा छैनन् अहिले । यस्तो अवस्थामा मेरा वीर पुत्रहरूलाई कन्या दिन को तयार हुन्छ ? द्रौपदी पनि मेरा पुत्रहरूको पुरुषार्थको फल हो । राज्यभ्रष्ट भएको कोही राजकुमारलाई द्रुपदले आफ्नी कन्या कुनै हालतमा पनि दिँदैनथे । हाम्रो दुर्दशा सकिएका दिन मेरा पुत्रहरूको एक से एक कन्यासँग फेरि विवाह हुन्छ । तर अहिले म सबै पुत्रहरूको कर्म चलोस् भन्ने चाहन्छु । यो कुनै निगाहबाट होइन, मेरा पुत्रहरूको पुरुषार्थको परिणाम हो । भाइ फुटे भने यिनीहरूले आफ्नो अधिकार प्राप्त गर्न सक्दैनन् । अर्जुन विवाह गरेर पाञ्चालमा बस्लान् । के यो अन्तिम समाधान हो ? भीम हिडम्ब वनमा फर्कलान्, युधिष्ठिर वनबासी होलान्, नकुल र सहदेव पनि केही गर्लान् । हस्तिनापुरलाई महाराज पाण्डुले मजबुत पारेका हुन् । सीमा बढाएर अहिलेको हस्तिनापुर बनाउनमा महाराज पाण्डुको योगदान छ । के उहाँका पुत्र भिक्षा मागेर बस्ने ? उनीहरूले पिताको उत्तराधिकार पाउनै पर्छ । अहिले पाञ्चालको सहयोग पाउने अवस्था बनेको छ । यो अवसर हो । पाञ्चाल जस्तो राज्यको साथ पाउनु पाण्डवको उपलब्धि हो भने पाण्डवजस्ता वीरको सान्निध्य पाञ्चालको सौभाग्य हो । पाञ्चाल नरेश पनि बुद्धिमान छन् भने पाँचै भाइलाई एकसाथ राख्न सहयोग गर्नुपर्छ । मलाई थाहा छैन महाराज द्रुपदको के विचार छ ।’

कुन्तीको आवाज चर्किएको थियो । सबै चुपचाप उनका कुरा सुन्दै थिए । फेरि भनिन्, ‘समाज भनेको के हो ? समाज हामीले जस्तो बनायो त्यस्तै बन्ने हो । एउटा पुरुषले एकभन्दा बढी स्त्री जति पनि राख्न पाउने । एउटी स्त्रीले एकभन्दा बढी पति विवाह गर्न नहुने भन्ने शास्त्रमा छ ? म आफै उदाहरण छु । महाराज पाण्डुबाट सन्तान भएनन् । उहाँलाई सन्तान चाहियो । उहाँमा पुंसत्व नै रहेनछ त म के गर्न सक्थेँ । महाराज आफैले अनुरोध गर्नुभयो ‘कुन्ती, कुनै योग्य पुरुषबाट तिमी सन्तान प्राप्त गरेर मलाई देऊ, संस्कार मैले गरेपछि ती मेरै पुत्र हुन्छन् ।’ मैले समागम गरेका ती पुरुषहरू मेरा पति होइनन् ? स्त्रीको लगि सन्तान दिन सक्ने पुरुष नै पति हो । महाराज पाण्डुले मेरा पुत्रहरूलाई कर्म दिए । त्यसैले यी पाण्डव कहलिए । मेरा लागि ती सबै पुरुषहरू पति नै हुन् । बहुपत्नी राख्ने पुरुषले पत्नीलाई सन्तान दिन नसक्ने हुनुभन्दा बहुपति हरेकबाट सन्तान प्राप्त भयो भने स्त्रीको लागि त्यो महत्वपूर्ण हुन्छ । हिडिम्बाले पनि भीमबाट एक पुत्रको कामना गरेकी थिइन्, त्यो उनलाई प्राप्त भयो ।

म चाहन्छु द्रौपदीलाई पनि मेरा पाँच पुत्रबाट एक एक पुत्र प्राप्त होस् । त्यसका लागि छुट्टाछुट्टै विवाह गर्नु परे पनि त्यो शास्त्र विरुद्ध हुँदैन । यसले दुईटा फाइदा हुन्छ । मेरा पुत्रहरूलाई अहिलेको स्थितिमा कोही पनि अविवाहित रहनु पर्दैन । अर्को, पाँच भाइमा विभाजन हुँदैन । यी द्रुपदकन्यालाई देखेर मलाई यो विश्वास पलाएको हो । जसरी युधिष्ठिर, भीम, अर्जुनलाई जन्म दिनुअघि म छुट्टाछुट्टै पुरुषसँग बसें, द्रौपदी पनि एक एक पतिसँग वर्ष वर्ष दिनको पालो गरे बस्छिन् । महाराज द्रुपदलाई पनि यसले लाभ नै पुग्छ । उहाँको योजनामा एक होइन पाँच पाँच महारथिको साथ प्राप्त हुन्छ । द्रौपदीलाई पनि फाइदै हुन्छ । पछि जब मेरा पुत्रले राज्य प्राप्त गर्छन्, द्रौपदी नै पटरानी बन्नेछिन् । मेरा पुत्रहरूले त्यसपछि कुनै विवाह गरे भने पाण्डवका ती सबै पत्नीहरू यिनै द्रौपदीको अधीनमा हुन्छन् । पाँच पतिबाट पाउने माया र स्नेह एक पतिबाट पाउने माया, स्नेहभन्दा धेरै बढी हुन्छ । एक पति हुने स्त्रीका पतिमा एउटै गुण हुन्छ भने बहुपति हुने स्त्रीले भिन्न भिन्न गुण र स्वभावका पुरुषसँग भोग गर्न पाउँछन् ।’
कुन्तीले लामो सास तानिन् र चुप लागिन् । शास्त्रका कुरा आएकोले व्यास बोल्न अघि सरे ।

‘महारानी कुन्तीले भनेको कुरामा बल छ । बहुपतित्व शास्त्रविरुद्ध हुँदैन । पुरुषले कामवासनाको तृप्तिको लागि पत्नी सङ्ग्रह गर्नुभन्दा एक स्त्रीले सन्तान प्राप्तिहेतु एकभन्दा बढी पुरुषलाई पति तुल्याउनु कता हो कता उत्तम कुरा हो । पूर्वकालमा जटिला नामकी स्त्रीले दश पतिसँग र वार्कषीले सात पुरुषसँग विवाह गरेकी कुरा शास्त्रमा उल्लेख छ । उनन्चास मरुतका पनि एउटै पत्नी थिइन् । वधुको अभाव हुँदा अहिले पनि धेरै ठाउँमा बहुपति प्रथा प्रचलनमा छ । एउटै पतिबाट धेरै सन्तान जन्माउनुभन्दा एउटै स्त्रीले फरक फरक पुरुषबाट सन्तान जन्माउनु उत्तम कुरा हो । यसले सन्तानमा विभिन्नता हुन्छ । यी पाण्डवलाई नै हेरे त्यो प्रस्ट हुन्छ । पाँच भाइ पाँच गुणका प्रतीक छन् । फेरि सबै पुरुषको वंश प्रसार पनि हुन पायो । समाज, शास्त्र र प्रचलन भनेको सहमतिको परिणाम हुन् । यो नै ठीक र त्यो चाहिँ गलत भन्ने हुँदैन । आवश्यकताले निर्धारण गर्छन् सबै कुरा । पाण्डवहरूलाई अहिले परेजस्तो सङ्कट इतिहासमा पटक पटक परेका छन् । द्रौपदीले पाँचै पाण्डवलाई विवाह गर्नुमा कुनै दोष छैन । यो सबैको बाबजुद कन्याको विचार के छ, उनको निर्णय अन्तिम हुनुपर्छ । जबरजस्ती शास्त्रसम्मत हुँदैन ।’

व्यासको कुरा टुङ्गिएपछि सबैको ध्यान द्रौपदीमा केन्द्रीत भयो । यस्तो अवस्था आउला भनेर उनले अनुमान गरेकी थिइनन् । पुलुक्क कृष्णलाई हेरिन् । उनलाई लाग्यो कृष्णलाई सबै कुरा पहिले नै थाहा थियो । नत्र ‘जस्तोसुकै स्थिति पनि आउनसक्छ’ भनेर किन भन्थे कृष्ण । पितालाई सम्झिन्, पिताको प्रण सम्झिन् । उनको जन्म नै पिताले द्रोणसँग बदला लिने सङ्कल्पसँग गाँसिएको थियो । फेरि कुन्तीजस्ती जाज्वल्य स्त्रीको भर्खरैको सम्भाषणले उनलाई ठूलै प्रभाव पारेको थियो । बहुपत्नी हुन हुन्छ भने बहुपति नहुनु पर्ने के कारण छ, उनलाई कुनै उत्तर फुरेन । पाँचैजनालाई सम्हाल्न सकियो भने राज्य प्राप्त गर्नु कुनै ठूलो कुरा थिएन । पाण्डवको शौर्य आर्यावर्तमा विख्यात नै थियो । एक एक वर्षको पालो गरेर एक एक पतिसँग बस्ने कुरामा आपत्ति जनाउनु पर्ने कुनै कारण उनले देखिनन् ।

सबैले उनैलाई हेरिरहेका थिए । मानौं उनको भनाइ अन्तिम हुनेछ । प्रकटमा भनिन्, ‘यहाँहरूको अगाडि म के जान्दछु र ? पिता महाराजले योजना गरेअनुसारको स्वयम्बरमा मेरो सहमति थियो ।

प्रतिस्पर्धामा विजयी हुनेलाई पति मान्न म बाध्य थिएँ । मेरो यसमा कुनै दोस्रो विचार आउनेवाला थिएन । अज्ञात कुलको ब्राह्मणको पछि लागेर यहाँसम्म आइपुगेको हुँ । मेरो र पिताको भाग्यले पाण्डुपुत्र नै विजेता बनेका रहेछन् । विप्रहरूले शास्त्र सम्मत र उचित ठहर्‍याएको कुरामा मेरो असहमति हुँदैन । सबभन्दा ठूलो कुरा मेरा पिताजी महाराज द्रुपद राजी हुनुपर्छ । मेरो जन्म उहाँको प्रण पूरा गर्न भएको हो । उहाँको प्रण पूरा हुने कुनै पनि काममा मेरो खुसीसाथ सहयोग हुन्छ ।’

कृष्णलाई सम्बोधन गर्दै फेरि भनिन्, ‘कृष्ण ! हजुरले मेरो अनन्य सखा बन्ने जुन विश्वास दिलाउनु भएको छ, त्यसले नै मलाई यो निर्णय गर्ने आँट दिएको हो । माता कुन्तीले भनेअनुसार सबै पक्षको भलो हुन्छ, गुरु व्यासले भनेअनुसार धर्मानुकूल नै छ र माता कुन्ती र उहाँका पुत्रहरू पनि प्रतिबद्ध हुनुहुन्छ भने म तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment