+
+
Shares

निजामती सेवाको आरक्षणमा हेरफेर : आरक्षणमा महिलालाई ५० प्रतिशत !

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १७ गते १५:१७

१७ जेठ, काठमाडौं । सरकारले निजामती सेवाको आरक्षणमा ब्यापक हेरफेर गर्ने तयारी गरेको छ ।

निजामती सेवाको खुला प्रतिस्पर्धामा दिइएको ४५ प्रतिशत आरक्षण सिटमा आधा महिलाका लागि मात्र छुट्याइनेछ । त्यसमा महिला परीक्षार्थीहरुबीच क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ ।

बाँकी आधामा पनि महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्न पाउनेछन् । यो व्यवस्थाले अारणक्षबाट अाउने निजामती कर्मचारीहरूमा महिलाको सहभागिता बढ्नेछ ।

यसअघि आरक्षणको ४५ प्रतिशतमा ६ क्लस्टर थियो, जसमा महिला ३३ प्रतिशत मात्र थियो । महिला क्लस्टरको आरक्षण रोज्नेले अरु क्लस्टरमा प्रतिस्पर्धा गर्न पाउँदैनथे ।

तर, मन्त्रिपरिषदमा विचाराधीन रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको विधेयक’मा आरक्षण संरचना हेरफेरको प्रस्ताव गरिएको हो ।

विधेयकको दफा १२ मा भनिएको छ, ‘निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगितामार्फत पूर्ति हुने पद मध्ये ४५ प्रतिशत पद छुट्याई यो प्रतिशतलाई शत प्रतिशत मानी त्यसको ५० प्रतिशत पदमा पहिला मात्र र बाँकी ५० प्रतिशत पदमा आरक्षित पुरुष तथा महिलाबीच प्रतिपर्धा गराई पदपूर्ति गरिनेछ ।’

आरक्षणको महिला र पुरुषले प्रतिस्पर्धा गर्ने सिटको क्लस्टर र प्रतिशत

आदिवासी जनजाति ३२ प्रतिशत
मधेसी २७ प्रतिशत
दलित १२ प्रतिशत
विपन्न खसआर्य १२ प्रतिशत
थारु ५ प्रतिशत
अपाङ्गता भएका व्यक्ति ४ प्रतिशत
पिछडिएको क्षेत्र ४ प्रतिशत
मुस्लिम ३ प्रतिशत

यसैगरी महिलाका लागि मात्र छुट्याइएको ५० प्रतिशतमा महिलाले ८ क्लस्टरमा प्रतिस्पर्धा गर्नेछन् । तर, यसमा खसआर्य मात्र भनिएको छ, विपन्न भनिएको छैन ।

आरक्षणको महिलाले मात्र प्रतिस्पर्धा गर्न पाउने सिटको क्लस्टर र प्रतिशत 

खसआर्य ३१ प्रतिशत
आदिवासी जनजाति २२ प्रतिशत
मधेसी २० प्रतिशत
दलित १० प्रतिशत
थारु ५ प्रतिशत
अपाङ्गता भएका व्यक्ति ४ प्रतिशत
पिछडिएको क्षेत्र ४ प्रतिशत
मस्लिम ३ प्रतिशत

सेवा अवधिमा एक पटक मात्र आरक्षण

सरकारले सेवा अवधिमा एक पटक मात्र आरक्षण दिने प्रस्ताव पनि विधेयकमा अघि सारेको छ । यसअघि एक जनाले सेवा अवधिमा कति पटकसम्म आरक्षण लिन पाउने भन्ने सीमा थिएन ।

साथै एक व्यक्तिले एक भन्दा बढी समूहबाट आरक्षणको सुविधा लिन नपाउने व्यवस्था पनि गरिएको छ । यसमा व्यक्तिले आफू कुन समूहबाट आरक्षण लिने भनेर एउटा रोज्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?