Comments Add Comment

एकल महिलाबाट जन्मिएको ‘पार्वती’ सार्वजनिक

२६ असार, पोखरा । कवि तीर्थ श्रेष्ठ, प्रकट पंगेनी शिव लगायत केही वर्ष अघि लमजुङको भुजुङ गाउँ पुगेछन् । भुजुङमा घुम्दै जाने क्रममा एउटा दृश्य उनीहरुका आँखामा परे । धाराबाट पानी लिएर आउँदै गरेकी नवयौवनाले कवि तीर्थको ध्यान अझ बढी खिचेछ ।

यसकारण कि उनी नवयौवना त थिइन् तर विधुवा । कलिलो उमेरमै विधुवा हुनुपर्दा र यो समाजको चौघारोमा रहनु कति कठिन होला ? यस्तै कुराले कवि तीर्थलाई पछ्याइरहृयो । त्यही दृश्यले राति सुत्नुअघि कवि तीर्थले यो गीत लेखे-

पछ्यौरीको फेरोले आँसु पुछ पार्वती
सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती

यो गीतसमेत समेटेर कवि तीर्थले ‘मेरै हिमालजस्तो’ संग्रह नै प्रकाशित गरे । यही गीत संग्रह एक दिन गायक विनोद बानियाँको हातमा पर्‍यो । पोखरामा संगीत कर्म गरिरहेका विनोदलाई यही गीतले बेसरी छोएछ र उनले यो गीत रेकर्ड गराउने निधो गरे ।

त्यसको केही समयपछि गायक विनोदको आवाजमा भिडियोसहित गीत सार्वजनिक भएको छ । मंगलबार पोखरा थियटरको गन्धर्व नाटक घरमा गायक विनोदकी आमा शान्ति बानियाँले भिडियोसहित गीत सार्वजनिक गरिन् । कवि तीर्थको शब्दलाई विनोद बानियाँले गाएका छन् भने हरि लम्सालले संगीत संयोजन गरेर सबैको जनजिब्रो झन्डिने खालको बनाएका छन् ।

यो गीतले कसरी छोयो र रेकर्ड भन्ने गर्भ पनि सुनाए, गायक बानियाँले । ‘यो एकल माहिलामाथि लेखिएको गीत हो र म गर्भे टुहुरो हुँ,’ गायक बानियाँ दर्शकलाई समेत भावुक बनाए,’यो गीत सबै एकल आमा र एकल महिलाहरुका लागि हो ।’

कवि तीर्थले गीतको भूमिका जोड्दै त्यसैमा थपे, ‘एक पटक खुसी खोसिए पनि फेरि खुसी आउन सक्छ । एकपटक सुख खोसिएपछि सधैं दुखी हुनु पर्दैन ।’ यो गीतको भिडियो पनि रचना गर्भले बोलेजस्तै गरी बनाइएको छ । एक जना नवयौवना विधुवाले पानी कोखिलामा च्यापेर आउँदै गरेको दृश्यबाट सुरु हुन्छ र अर्को जीवनसाथी रोजेको दृश्यसँगै अन्य हुन्छ । भिडियोमा विकास लामिछाने, सिर्जना जिसी, नीलहक (अनिल लामिछाने)ले अभिनय गरेका छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारले राखेको भिडियो लोकार्पण कार्यक्रममा अध्यक्ष दीपक समीपले बानियाँ पोखरामा रहेर निरन्तर संगीत साधनामा लागिरहेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आफूले १७ वर्षअघि देखेको गायक बानियाँ र अहिले उस्तै लागे पनि उनको जीवनले थुपै्र दुख, संघर्ष भोगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment