१६ भदौ, रसुवा । गल्छी–धुञ्चे–रसुवागढी राजमार्गअन्तर्गत धुञ्चे नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
यही भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । तीमध्ये धुञ्चेतर्फको पहिरोमा नयाँ मार्ग बनाई यातायात सञ्चालन गरिएको छ भने त्रिशूली नदीपारितर्फको पहिरोमा नयाँ मार्ग बनाउने कार्य शुक्रबार अपराह्नदेखि शुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख नीरज शाक्यले जानकारी दिए ।
उनका अनुसार नदीपारितर्फ पहिरो खसेको ठाउँमा कडा चट्टान भएकाले सडक कार्यालय र नेपाली सेनाको कालिप्रसाद इञ्जिनियरिङ गणका प्राविधिकले विष्फोटन गराई चट्टानलाई पन्छाएर सडक खोल्ने गरी काम अगाडि बढाइएको छ । अबको १० दिनभित्र सडक सञ्चालन गर्ने गरी काम अघि बढाएको प्रमुख शाक्यले बताए ।
उक्त राजमार्ग बन्द हुँदा भन्सार शुल्क शून्यमा झरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । नेपाल–चीनबीचको व्यापारिक नाका रसुवागढी राजमार्ग अवरुद्धल हुँदा यस क्षेत्रका व्यापार प्रायः शुन्य भएको व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमिल्सिनाले बताए ।
प्रतिक्रिया 4