२९ पुस, इलाम । पाँच दिनदेखि इलाम सदरमुकाममा आमरण अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे चिन्ता बढेको छ । तर, सरकारले अहिलेसम्म बाहिरी जिल्लाबाट चिकित्सकहरु इलाममा पठाएको छैन । इलाममा डा. केसीका लागि सुरक्षा छ, तर स्वास्थ्योपचारको भरपर्दो सेवा छैन ।
इलाम जिल्ला प्रशासनले शान्ति सुरक्षाको प्रवन्ध राम्रो गरेता पनि यहाँ जिल्ला अस्पतालमात्रै रहेकाले स्वास्थ्यको सुविधा धेरै नरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले अनलाइनखबरलाई बताए ।
‘सेक्युरिटी राम्रो छ, हामीले भएसम्म राम्रो म्यानेज गरेका छौं, त्यस्तो केही अप्ठ्यारो छैन’ प्रजिअ तिमल्सिनाले अनलाइनबरसँग कुरा गर्दै भने, ‘डा. साहेबको स्वास्थ्यबारे अस्पताललाई भनिएको छ । यहाँ जिल्ला अस्पताल छ, धेरै सुविधा त छैन । तर, डाक्टरहरुले रेगुलर चेकअप गरिरहनुभएको छ । योबाहेक अरु कुरा त माथि नै सोध्नुपर्छ ।’
अनसनरत डा. केसीको स्थितिबारे आफूले नियमितरुपमा मन्त्रालयमा रिपोर्टिङ गरिरहेको प्रजिअ तिमल्सिनाले बताए । उनले भने- ‘मैले यहाँका गतिविधिहरु मन्त्रालयमा सेयर गर्ने गरेको छु । उहाँको स्वास्थ्य अवस्थाबारे माथि खबर गरिराखेको छु ।’
डा. केसीको सहयोगका लागि आइतबार जिल्ला बाहिरबाट थप डाक्टरहरुको टोली आएको आफूले सुनेको प्रजिअ तिमल्सिनाले अनलाइनखबरलाई बताए । तर, उनीहरु डा. केसीको स्वास्थ्यका लागि नभएर अनसनका लागि सहयोग गर्न आएको प्रजिअले जिल्ला अस्पतालका डाक्टरको भनाइ उधृत गर्दै सुनाए ।
तिमल्सिनाले अनलाइनखबरसँग भने, ‘केही डाक्टरहरुको थप टोली आएको भन्ने मैले थाहा पाएँ । तर, जिल्ला अस्पतालका डाक्टर साहेबहरुले भनेअनुसार उहाँहरु हेल्थको लागि भन्दा पनि अनसनको सहयोगका रुपमा हो ।’
तातेनन् इलामे जनता
डा. केसीको अनसन सुरु भएको आज पाँच दिन बितेको छ । इलामको मौसम निकै चिसो छ । यसवीचमा डा. केसीको समर्थनमा इलामे जनता खासै ठूलो संख्यामा सडकमा निस्किसकेका छैनन् ।
हुनत प्रत्येक दिन डा. केसीको समर्थनमा जुलुसहरु निस्कने र बजार परिक्रमापछि कोणसभामा परिणत हुने गरेका छन् । तैपनि जुलुसमा ठूलो संख्याको उपस्थिति भने हुन सकेको छैन ।आइतबार डा. केसीको समर्थनमा ज्येष्ठ नागरिकहरुले जुलुस निकालेका थिए । यसअघि महिलाहरुले पनि जुलुस र कोणसभा गरेका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार जुलुसमा सय/पचास संख्याको उपस्थिति हुने गरेको छ । यसमा बढीजसो नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीका समर्थकहरु देखिने गरेका छन् । सत्तारुढ नेकपालाई समर्थन गर्ने इलामे जनता भने डा. केसीको समर्थनमा खुलेर लागेका छैनन् ।
काठमाडौंबाट इलाम पुगेर अनसन थालेका डा. केसीले इलाम जिल्लामा सरकारी मेडिकल कलेज खोलिनुपर्ने माग अघि सारेका छन् । यस मागमा आफूलाई इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका जनताले समर्थन गर्ने डा. केसीले अपेक्षा गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा खोलिएको बीएण्डसी निजी मेडिकल कलेजविरुद्ध पहाडे जनमत सिर्जना गर्न डा. केसीले इलामलाई अनसनस्थलका रुपमा रोजेका हुन् ।
केसीको यही रणनीतिलाई सघाऊ पुर्याउने गरी अनसनको समर्थनमा प्रदर्शन गर्नेहरुले डा. केसीको माग इलामे जनताको आफ्नै माग भएको बताएका छन् । इलाममा सरकारी मेडिकल कलेज खोल्नुपर्छ भन्ने डा. केसीको मागले विस्तारै इलामका बहुसंख्यक जनतालाई आफूतिर तान्ने दाबी अनसन पक्षधरहरुको छ ।
प्रतिक्रिया 4