Comments Add Comment

कुटिएका सचिवलाई भेट्न अस्पताल पुगे मन्त्री

३० पुस, जनकपुरधाम । प्रदेश २ मा मन्त्रीद्वारा सचिव कुटिएको घटनाका छानबिन समितिका संयोजक ज्ञानेन्द्र यादवले छिटै सत्यतथ्य सार्वजनिक गर्ने बताएका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका यादवले दोषी देखिए जोसुकै पनि कारबाहीमा पर्ने बताए ।

आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि कुटपीट गरेको घटना सार्वजनिक भएको थियो ।

उक्त घटना छानबिनका लागि प्रदेश सरकारले आन्तरिक मामिला मन्त्री यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समिति संयोजक यादव सोमबार सचिव झासँग घटनाबारे बुझ्न उनी भर्ना भएको जनकपुरको केयर नर्सिङ होम पुगेका थिए ।

अस्पतालबाट फर्किएपछि सञ्चारकर्मीसँग सक्षिप्त कुरा गर्दै मन्त्री यादवले भने ‘जोसुकै भए पनि कारबाही हुन्छ, कुन किसिमको दोष छ, त्यही अनुसार कारबाही हुन्छ ।’ उनले अप्रिय कुरालाई निरुत्साहित गर्दै जानुपर्ने बताए ।

‘हामी सत्यतथ्य कुरा ल्याउँछौं हामी चाहन्छौं, हामी सबै अनुशासित भएर यो प्रदेशलाई एउटा गन्तव्यसम्म पु¥याउनुपर्छ’ उनले भने ।

कर्मचारी आन्दोलनमा

प्रदेश २ का आर्थिक तथा योजना मन्त्री बिजयकुमार यादबले सचिव विद्यानाथ झालाई कुटेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् । प्रदेश मन्त्रालयभित्र कार्यरत कर्मचारीहरु सचिवमाथि भएको हातपातको विरोधमा उत्रिएका हुन् ।

घनुषाका निजामति कर्मचारीहरु सोमबार हातमा कालो पट्टी बाँधेर कार्यकक्षमा उपस्थित भइ बिरोध गरेको ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले बताए ।

घटनाको बिरोध गर्दै निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषाले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्रमा सचिवमाथिको हातपातले कर्मचारीको मनोबल गिराउन काम भएको जनाएको छ ।

घटनाले कर्मचारीले असुरक्षा महसुस भएको भन्दै पूर्ण सुरक्षाको ग्गारेन्टी गराउनु पर्ने माग कर्मचारीको छ ।

कुटपिटको घटनालाई निश्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न कर्मचारी युनियनले माग गर्दै २४ घण्टाभित्र सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ भने नगरे विरोधका कार्यक्रमलाई यथावत राख्ने अध्यक्ष साहले जानकारी दिए ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झा माथिका आइतबार कार्यकक्षमा हातपात गरेका थिए । कुटपिटपछि सचिव झालाई स्वास्थ्यमा समस्या देखिएपछी गएराती जनकपुर स्थित एक अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment