+
+

पोखेरेली बसमा इटिकेटिङ : सेवा सुरु गर्ने बेला तालिमको चाँजोपाँजो !

विकास रोकामगर विकास रोकामगर
२०७६ जेठ ३० गते १३:५६

३० जेठ, पोखरा । पोखरा महानगरले सवारीसाधनमा विद्युतीय टिकट (इ-टिकेटिङ) प्रणाली लागू गर्ने भन्दै बस व्यवसायी र एन्क्लाउड कम्पनीसँग ३ चैतमा त्रिपक्षीय सम्झौता गर्‍यो । सम्झौताअनुसार बैशाखदेखि पोखराभित्र चल्ने सवारीसाधनमा ‘इ-टिकेटिङ सिस्टम’ सुरु गर्ने भनिएको थियो ।

तर जेठ वित्दा समते इ-टिकेटिङ सिस्टम लागू भएको छैन । घोषणा अनुरुप समयमै काम गर्न नसकेको मेयर मानबहादुर जिसीले स्वीकारे । उनले भने, ‘बैशाखदेखि नै सुरु गर्ने भनेका थियौं तर भनेजस्तो सजिलो नहुँदोरहेछ ।’ उनले यात्रु, चालक र सवारी मालिकलाई इटिकेटिङबारे बुझाउनै अप्ठ्यारो भएको र उनीहरुलाई ‘झिंजो’ लाग्ने पनि देखिएको सुनाए ।

‘प्यासेन्जर र व्यावसायी दुवैलाई झिंजो लाग्ने हो कि ! भन्ने पनि लागिरहेको छ,’ मेयर जिसीले भने, ‘सुरुमा प्रविधि लफडै हुन्छ तर पछि सहज हुँदै जाने हो ।’ उनले सकेसम्म इटिकेटिङ कार्डलाई स्मार्ट कार्डमा परिर्वतन गर्दै लैजाने महानगरको योजना रहेको बताए । इटिकेटिङ लागू भइसकेपछि यात्रुलाई ‘बसमा चढिसकेपछि भाडा तिर्नुपर्छ है !’ भन्ने भावना जागृत हुने दाबी उनको थियो ।

यातायात कर्मचारीलाई दिन तालिम सुरु

अब विद्युतीय टिकट प्रणाली साउन महिनादेखि सुरु गर्ने नयाँ भाका तोकिएको छ । यसका लागि महानगर, एन्क्लाउड कम्पनीले यातायात व्यवसायीहरुलाई बुधबारदेखि तालिम दिन सुरु गरेको छ । तालिम ३० दिनसम्म चल्ने एन्क्लाउड कम्पनीले जनाएको छ । ‘पहिलो चरणमा ८ सय सवारी चालक, सहचालक र सवारीधनीलाई इटिकेटिङ प्रविधि प्रयोगबारे जानकारी दिने उद्धेश्यले तालिम दिन सुरु गरेका छौं,’ कम्पनीका सीईओ दीपेन्द्रनारायण श्रेष्ठले भने ।

तालिम लिएकाहरु दक्ष भएपछि मात्रै विद्युतीय टिकट प्रणाली सुरु गरिने भन्दे उनले भने, ‘तालिम अवधी एक महिनाको हुन्छ । त्यसपछि तत्काल ८ सय वटा बसमा इटिकेटिङ सुरु गरिहाल्छौं ।’

टिकट प्रणाली लागू भइसकेपछि पहिलो चरणमा कार्ड रिचार्ज गर्ने, सहचालकलाई कार्ड मेसिन प्रदान गर्ने जानकारी दिए । ‘दास्रो चरण ६ महिनापछि सुरु गर्नेछौं । त्यसमा चाहिँ बसकै मेसिन हुन्छ । यात्रुले आफैं मेसिनमा कार्ड छुवाएर ‘चेक इन र चेक आउट गर्न सक्छन्,’ उनले भने ।
पोखराबाहेकका अन्य क्षेत्रमा २ महिनापछि इटिकेटिङ सिस्टम लागू गर्ने तयारी रहेको उनले जनाए ।

बस व्यवसायी समितिले विद्युतीय टिकट प्रणाली लागू भएपछि प्रत्येक यात्रुलाई बिशेष प्रकारको कार्ड उपलब्ध गराउनेछन् । उक्त कार्ड मूल्य १ सय ५० रुपैयाँ पर्ने र त्यसमा १ हजार रुपैयाँसम्म रिचार्ज गर्न सकिने सुविधा हुनेछ । ‘यात्रुले पाएको कार्ड गाडीका सहचालकसँग भएको मेसिनमा घुसाएपछि भाडा स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ,’ एनक्लाउडका श्रेष्ठले भने ।

व्यवसायीलाई विद्युतीय टिकट मेसिन चलाउने तालिम पनि आफैं नै दिने र त्यसवापत प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँ उठाउने कम्पनीसँग सम्झौता भएको छ । ‘उनीहरुले पहिले निश्चित ठाउँ (बैंक)मा रकम जम्मा गरेका हुन्छन्, त्यहीका आधारमा कार्ड पाउँछन्,’ श्रेष्ठले भने ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?