Comments Add Comment

आन्तरिक चुनावमा होमिँदैछ कांग्रेस !

बहस : महाधिवेशन कि अन्तरिम संरचना ?

१९ असार, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इतर समूहलाई आशंका थियो, पार्टी सभापति शेरबहादुर देउवा तत्काल १४ औं महाधिवेशन गर्ने पक्षमा छैनन् । पार्टीको अन्तरिम संरचना पनि तदर्थ समितिमार्फत बनाउन चाहन्छन् ।

त्यही आशंकालाई बल पुग्ने गरी नियमावली समितिमा संक्रमणकालीन व्यवस्थाबारे विधानमा जे उल्लेख भए पनि केन्द्रीय कार्यसमितिले निर्णय गर्न सक्ने प्रस्ताव आयो ।

लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतको बैठक गोंगबुमा बस्यो र तदर्थ समिति अस्वीकार गर्ने निर्णय गर्‍ यो ।

तर, रमेश लेखक नेतृत्वको समितिले बिहीबार नियमावलीको मस्यौदा पास गर्‍यो, जसमा विधान विपरीत केन्द्रीय समितिले तदर्थ समिति बनाउने सक्ने कुनै व्यवस्था छैन ।

आफूहरुले अस्वीकार गर्ने प्रष्ट भएपछि संस्थापन पक्ष पछाडि हटेको पौडेल–सिटौला समूहका नेताहरुको दाबी छ । साथै उनीहरुमा चासो छ, २२ गतेबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा देउवाले के प्रस्ताव ल्याउलान् ?

तर, पार्टी नेतृत्वले जे प्रस्ताव ल्याएपछि कांग्रेस आन्तरिक चुनावमा होमिने प्रष्ट संकेत देखिएको छ ।

आन्तरिक चुनावमा होमियो कांग्रेस !

केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाहरु तय गर्न बिहीबार पदाधिकारी बैठक बसेको छ । एक पदाधिकारीका नियमावली पेश गर्ने र विधानअनुसार अन्तरिम संरचना निर्माणबारे छलफल गर्ने आसन्न बैठकको एजेण्डा बन्ने पक्का भएको छ ।

कांग्रेसको विधानअनुसार वडा, स्थानीय तह, क्षेत्रीय र प्रदेश कमिटीहरु अधिवेशनमार्फत बनाउनुपर्छ । स्थानीय स्तरमै सहमति भए सहमति, नभए चुनाव हुनेछ ।

यदि केन्द्रीय कार्यसमितिले विधानअनुसार अन्तरिम संरचना बनाउने निर्णय गर्ने हो भने कांग्रेसमा आन्तरिक चुनाव सुरु हुनेछ । किनकी केन्द्रीय महाधिवेशनसँग जोडिने भएकाले नेतृत्वले चाहेर पनि सबै कमिटी गठनमा सहमति हुन सक्दैन ।

यदि अन्तरिम संरचना नबनाई १४ औं महाधिवेशन गर्ने निर्णय भयो भने पनि चुनाव लाग्नेछ ।

उसो त कतिपय नेताहरु अन्तरिम संरचना नबनाई १४ औं महाधिवेशनको प्रक्रिया सुरु नहुने बताउँछन् । किनकी क्रियाशील सदस्यता नवीकरण लगायतका निर्णय गर्न पार्टीको संरचना चाहिन्छ, जुन अहिले वडा, स्थानीय तह, क्षेत्र र प्रदेशमा छैन । केन्द्रीय सदस्य प्रदीप पौडेल पनि क्रियाशील सदस्यता नविकरण लगायतका कामका लागि अन्तरिम संरचना अपरिहार्य भएको बताउँछन् ।

जे निर्णय भए पनि कांग्रेस अब आन्तरिक चुनावमा होमिने प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । उनले अघि भने, ‘महाधिवेशन गर्न विभिन्न चरण पार गर्नुपर्छ । अन्तरिम संरचना बनाउने तयारी महाधिवेशन पूर्वको एउटा चरण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment