+
+
Shares

गोंगबु बैठकको निष्कर्षः तदर्थ समिति अस्वीकार्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते २०:४४

१८ असार, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले पार्टी नेतृत्वलाई दुई विकल्प दिएको छ ।

२२ गते बोलाइएको केन्द्रीय कार्यसमितिमा आउने सम्भावित एजेण्डाबारे साझा धारणा बनाउन संस्थापन इतर समूहको बैठक बसेको थियो, जसले १४ औं महाधिवेशनको प्रक्रिया तत्काल सुरु गर्ने वा विधान अनुसार अन्तरिम संरचना बनाउने विकल्प नेतृत्वलाई दिएको छ ।

वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिन्छ । चार वर्षमा महाधिवेशन नभए ६-६ महिना गरेर दुई पटक म्याद थप्न सकिने व्यवस्था विधानमा छ भने संविधानले हरेक राजनीतिक दलको महाधिवेशन ५ वर्षमा हुनुपर्ने र बढीमा ६ महिना थप्न सकिने भनेको छ ।

कांग्रेसमा संस्थापान इतरका नेताहरुले पार्टी सभापतिमाथि तत्काल महाधिवेशन गर्ने योजना बनाएको आरोप लगाउँछन् ।

मंगलबार नुवाकोट सभापति जगदिशनरसिंह केसीको निवास गोंगबुमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्ण सिटौला लगायतले पहिलो प्राथमिकता १४ औं महाधिवेशन नै भएको बताएका छन् । बैठकमा सहभागी नेता अर्जुननरसिंह केसी भन्छन्, ‘महाधिवेशनको प्रक्रिया तत्काल सुरु गरौं । फागुनमा भ्याइएन भने चैतमा गरौंला । नभए कात्तिक मंसिरमा भएपनि गरौंला तर, प्रक्रिया सुरु गरौं भनेका छौं ।’

यदि पार्टी नेतृत्व यसमा सहमत नभए तत्काल विधानअनुसार अन्तरिम संरचना बनाउनुपर्ने नेताहरुको जोड छ ।

२२ गतेबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा संक्रमणकालीन व्यवस्थाअनुसार अन्तरिम संरचना बनाउने प्रस्ताव आउने सम्भावना बढी छ । तर पार्टी सभापति भने अन्तरिम नभई तदर्थ समिति बनाउने पक्षमा रहेको बताइन्छ । यद्यपि सभापति देउवा निकट नेताहरु भने पौडेल–सिटौला समूहका नेताहरुले आशंका गरे जस्तो तदर्थ समिति बनाउने पक्षमा नभएको दाबी गर्छन् ।

गोंगबु बैठकमा सहभागी नेताहरुले भने विधानअनुसार चुनाव नै गर्नुपर्नेमा जोड दिएका छन् । विधानमा प्रष्ट चुनाव गर्ने भन्ने भएकाले यसमा कुनै सम्झौता हुन्छ भन्ने मलाई लाग्दैन’ नेता केसीले भने ।

कांग्रेसको अहिले केन्द्र र जिल्लाबाहेक अरु संरचना छैन । संघीय संरचनाअनुसार कांग्रेस महासमितिबाट विधान संशोधन भएपछि वडा, पालिका, क्षेत्रीय कमिटी तथा प्रदेश संरचना बनेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?