Comments Add Comment

इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, पाकिस्तानलाई झड्का

न्युजिल्यान्डको पनि सम्भावना कायमै

१९ असार, काठमाडौं । आयोजक राष्ट्र इंग्ल्यान्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न खेलमा न्युजिल्यान्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

३०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले खराब प्रदर्शन गर्दै ४५ ओभरमा सबै विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका लागि टोम नाथमले ५७ रन बनाउँदा रोस टायलरले २८ र कप्तान केन विलियम्सनले २७ रनको योगदान दिए । एक रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्यान्डले १४ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।

रिभरसाइड ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेटको क्षतिमा ३०५ रन बनाएपछि न्युजिल्यान्डले मध्यम लक्ष्य पाएको थियो ।

इंग्ल्यान्डका लागि जोनी बैरस्टोव र ज्यासन रोयले उत्कृष्ट प्रदर्शन गर्दै १२३ रनको साझेदारी गरे । जोनीले ९९ बलमा १५ चौक र एक छक्का प्रहार गर्दै १०६ रन बनाए । त्यस्तै रोयले ६० रन बनाए ।

कप्तान इयोन मोर्गन भने ४२ रनमा आउट हुँदा जोइ रुटले २४ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, मट हेनरी र जेम्स निसामले समान २-२ विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउँदा पराजित न्युजिल्यान्ड पनि सेमिफाइनल नजिक छ । अब न्युजिल्यान्डले पाकिस्तान र बंगलादेशबीचको खेल कुर्नु पर्ने हुन्छ ।

पाकिस्तानलाई झड्का

इंग्ल्यान्डले लिग चरणमा ९ खेल खेल्दै ६ खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै १२ अंक बनाएर विश्वकपको सेमिफाइनल पुगेको हो । यसअघि अष्ट्रेलिया र भारत विश्वकपमा पुगिसकेका थिए ।

यता, पाकिस्तानलाई भने ठूला झड्का लागेको छ । न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेको भए पाकिस्तानको विश्वकप सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुने थियो । तर न्युजिल्यान्ड हारेपछि भने निकै कमजोर भएको छ ।

पाकिस्तानले अब विश्वकपको सेमिफाइनलमा पुग्नका लागि बंगलादेशमाथि भारी अन्तरले पराजित गर्नुपर्ने हुन्छ । नत्र न्युजिल्यान्ड नै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment