Comments Add Comment

थाहै नपाई तेन्दुलकर र अफ्रिदीको रेकर्ड तोडेछु

एकाध वर्ष राम्रो खेलेर मात्रै हुँदैन, नेपालका लागि लामो समय खेल्नुपर्छ, लामो समय खेल्न आफूलाई सधैं तयार राख्न सक्नुपर्छ… पहिलोपटक राष्ट्रिय टिमबाट नामिबियामा डिभिजन टू खेल्न जाँदा शक्ति गौचन दाइले भन्नुभएका यी कुराहरु म सधैं याद गर्छु ।

राष्ट्रिय टिमको त्यही डेब्यू प्रतियोगितापछि नै मेरो मनमा भएको थोरै डर पनि हराएको थियो । ढुक्क भएर क्रिकेट खेल्न सकेको थिएँ । नेपाली क्रिकेटले पाएका पछिल्ला उपलब्धीहरुमा आफूसँगै हुन पाउँदाको खुशी बयान गरेर पनि सकिँदैन । अहिले म भर्खर १६ वर्षको भएँ । यो उमेरमा राष्ट्रिय टिममा रहेर उचाइका दिनमा साथै हुन पाउँदा कसलाई खुशी नलाग्ला र ?

नेपालमा क्रिकेट सुरु भएदेखि यसमा लागेका हरेकले गरेको मेहनत आजको दिनको क्रिकेटसँग जोडिएको छ । त्यसमा अहिले आफू पनि छु भन्दा दंग पर्छु । चाहे एकदिवसीय मान्यता पाउँदा होस् या अन्य सिरिजमा जाँदा होस्, नेपाली क्रिकेटसँग जोडिन पाउनु भाग्य हो । यसअर्थमा म आफूलाई भाग्यमानी ठान्छु ।

****

यू-१९ एसिया कप छनोटका लागि अहिले हामी मलेसियामा छौं । यहाँ आउनुअघि १० दिनदेखि क्लोज क्याम्पमा थियौं । पूर्वी क्षेत्रीय छनोटको यो प्रतियोगिता जितेर अगस्ट २८ देखि श्रीलंकामा हुने यू-१९ एसिया कपमा खेल्ने हाम्रो लक्ष्य छ ।

छनोटको पहिलो खेलमा चीनलाई हामीले १० विकेटले नै हराउन सक्यौं । पहिले बलिङ गर्दै ५३ रनमा अलआउट गर्‍यौं, जसमा ६ विकेट लिएका सागरसँगै तिलक र कमलको बलिङ राम्रो रहृयो । ब्याटिङमा ओपनिङमा गएका पवन र रितले राम्रो गरे । अब आउने खेलहरुमा पनि सम्हालिएर खेल्ने छौं । खेलमा कुनै पनि विपक्षीलाई कमजोर सोच्नु हुँदैन, आफ्नो खेलमा ध्यान दिँदै जतिसक्दो राम्रो गर्ने प्रयासमा हुनुपर्छ । र त्यही गर्ने छौं ।

यसअघि यू-१९ विश्वकप छनोट र प्रधानमन्त्री कप खेलेर आएका हामी सबै लयमा छौं । सिनियर टिमका नयाँ प्रशिक्षक उमेश पटवाल सरसँग पनि केही कुराकानी भएको थियो । हामी केही खेलाडीलाई उहाँले कुन अवस्थामा कसरी बढ्ने भनेर पनि सिकाउनुभयो । यू-१९ का प्रशिक्षक बिनोद दास सरसँग त धेरै कुरा सिकिरहेका छौं । उहाँबाट मैदानमा मात्रै होइन, मैदान बाहिर पनि धेरै कुरा सिकिरहेका छौं । यो सबैले राम्रो भविष्यको संकेत गरिरहेको छ जस्तो लाग्छ । विनोद सरले साथीसँग जस्तै व्यवहार गरेर सिकाउनुहुन्छ । आफ्नो अनुभवहरु सुनाउनुहुन्छ, त्यसले हामीलाई एक बनाएको छ ।

खेलमा ब्याटिङ गरिरहँदा आफूले के गल्ती गरिरहेको छु भन्ने नै थाहा हुँदैन । पछि भने ‘ए यस्तो भएको रहेछ !’ भनेर बुझिन्छ । त्यसपछि त्यही गल्ती अर्को पटक गर्न हुँदैन भन्नेमा सचेत भइन्छ । यही गल्ती देखाइदिने र त्यसमा सुधार्न मद्दत गर्ने काममा सिनियर टिममा दाइ र कोचहरुबाट सिकिरहेका छौं ।

कप्तान हुँदाको जिम्मेवारी पनि रमाइलो लागिरहेको छ । सिनियर सिटमा हुँदा पारस दाइ, ज्ञानेन्द्र दाइहरुले के कसरी काम गरिरहनु भएको हुन्छ भन्ने पनि विचार गरिरहेको हुन्छु । सिक्ने पाइने कुरा सिक्दै जाँदा नै आफूलाई आइपरेको काम राम्ररी गर्न सकिन्छ । सबै कुरा रमाइलोसँग नै भइरहेको छ ।

****

गएको अप्रिलमा भएको यू-१९ विश्वकप छनोटमा पनि हामीले राम्रो गर्दा गर्दै छनोट भने हुन सकेनौं ।

हुन त वितेको कुरालाई सम्झेर बस्न सकिन्न, तर युएईसँगको खेलमा पानी परेर ‘डीएल मेथड’ का आधारमा एक रनले हार्न पुग्दा नमज्जा लाग्यो । सिंगापुरलाई २१७ रनले, मलेसियालाई ८ विकेटले, ओमनलाई १५० रनले र कुवेतलाई पनि ८ विकेटले नै हराएका थियौं । तर त्यही यूएईसँग खेल्दा परेको पानीले नेपालको विश्वकप सपना सकाइदियो । यसैले त लाग्छ, खेलमा कहिलेकाहीँ भाग्य पनि चाहिने रहेछ ।

पहिले त म ब्याटिङ अलराउण्डर थिएँ । सुरुको एक-दुईवटा प्रतियोगितामा मिडियम पेस र केहीमा स्पीन बलिङ पनि गरेँ । अहिले पनि नेटमा अभ्यास गर्दा बलिङ गरिरहेको त हुन्छु, तर मेरो बलिङ उति राम्रो छ जस्तो नलागेर ब्याटिङमा केन्दि्रत भएको छ । ब्याटिङ गर्न जाने बेलामा मेरो लागि ब्याट चलाउने ठाउँ कता छ भन्ने विचार गरेरै गएको हुन्छु । रन बनाइ हालौं भन्दा पनि बलिङ बुझेर खेलौं जस्तो लाग्छ । सोचेरै गर्दा पनि कतिपय बेला रन बन्दैन, छिटो आउट भइन्छ । त्यस्तो अवस्थामा पनि मनमा त्यही कुरा भने राख्दिनँ । अब अगाडि राम्रो गर्नुपर्छ भन्ने सोच्छु र त्यो गल्तीबाट सिक्छु ।

****

अब थोरै पुराना कुरा गरौं, मेरो क्रिकेट सुरुवात हुँदाका । नवलपरासी बर्दघाटको बुद्धबस्तीमा हाम्रो घर छ । जहाँ क्रिकेटसँगै फुटबलको क्रेज राम्रो छ । मैदान एउटै हो, तर कुनै बेला फुटबल चलिरहेको हुन्छ, कुनै बेला क्रिकेट ।

मैले पनि सानामा फुटबल र क्रिकेट दुईवटै खेलेँ । यू-१७ टिमबाट फुटबल खेलेको अनुभव पनि छ । तर कसोकसो मन क्रिकेट तिरै बस्यो । त्यसको कारण ब्याटिङ नै हो । मलाई ब्याटिङ गर्दा अरु सबै खेलमा भन्दा दुगुना आनन्द लाग्थ्यो । त्यसैले त दाइहरुसँग स्कूल छाडेर पनि क्रिकेट खेल्न पुगेको हुन्थेँ ।

सुरुमा टेनिस बल खेलेरै क्रिकेट सुरु भएको हो । काठमाडौं आएर दुई वर्ष बालुवाटार क्रिकेट एकेडेमीमा सिकेपछि नै क्रिकेट कसरी खेल्नुपर्छ भन्ने राम्ररी बुझिएको थियो । राम्ररी ड्युज बलले खेलेको पनि काठमाडौं आएर नै हो ।

गाउँमा टेनिस बलले खेल्ने बेला नै सबैले ‘तिमी राम्रो खेल्छौ’ भनेर तारिफ गरिरहेका हुन्थे । दाइ र बुबाले पनि क्रिकेट नै खेल्ने भए राम्ररी अभ्यास गर्नुपर्छ भनेर काठमाडौंमा सिक्ने व्यवस्था मिलाइदिनु भयो । बालुवाटार क्रिकेट एकेडेमीमा सिकेपछि चार महिना दिल्लीमा गएर पनि सिकेँ । त्यहाँबाट थप कुराहरु बुझेँ । दिल्लीमा सिकेर फर्किएपछि नै म यू-१९ को क्याम्पमा परेँ ।

पुराना खेलाडीहरुको उमेर कटिसकेकाले यू-१९ मा नयाँ खेलाडीको खोजी भइरहेको थियो । त्यसका लागि अन्यत्र जस्तै भैरहवामा पनि ‘ट्यालेन्ट हन्ट’ हुने भयो । जगत टमाटा गुरु हेर्न आउनुभएको थियो । जगत गुरुका अगाडि २० मिनेट जति ब्याटिङ गरेँ । त्यसअघि नै प्रान लिच्ची कप, रुस्लान कपहरु खेल्दै घरेलु क्रिकेटमा भिजिरहेको थिएँ । त्यसैले मैले आफ्नै शैलीले नडराइकन ब्याटिङ गरेँ । बेलुकातिर क्याम्पमा परेको खबर आयो । असाध्यै खुशी लाग्यो । त्यहाँ ५० जनाभन्दा बढीबाट ८ जना छानिएको रहेछ ।

****

ट्यालेन्ट हन्ट पार गरेर आएको त्यही क्याम्प नै मेरो क्रिकेटलाई अगाडि बढाउने माध्यम बन्यो । विभिन्न ठाउँबाट छनोट भएर आएका ५२ जनाको क्लोज क्याम्प काठमाडौंमा चल्यो । त्यसमा तीन वटा समूह बनाइएको थियो । हामीले पाँचवटा भन्दा बढी खेल खेल्यौं । त्यसबेला ब्याटिङ, बलिङ दुवैमा मेरो खेल राम्रो भएको थियो । तब त यू-१९ राष्ट्रिय टिमसम्म आइपुगेँ ।

हुन त यता आउने बेला बुबाले भन्नुभएको थियो, पहिलोपटक भएकाले टिममा पर्न गाह्रो छ, तर सबैले हेर्छन्, राम्रो खेल देखाऊ । मैले सक्दो मेहनत गरेँ र टिममा पर्न सफल भएँ । त्यो कुराले परिवारमा सबैजना खुशी हुनुभएको थियो ।

त्यतिबेला म १४ वर्षको मात्रै थिएँ । मनमा धेरै कुरा त थिएन, तर क्रिकेट खेल्नुपर्छ भन्ने थियो । राम्ररी खेल्छु भन्ने सोचेको थिएँ । एउटा कुरा के भने, सुरुसुरुमा त बल आएपछि ब्याटले ‘रियाक्ट’ गर्नुपर्छ भन्ने मात्रै थाहा थियो । बल आएपछि ब्याट चलाउने काम मात्रै हुन्थ्यो । खेल्दै जाँदा त्यही ब्याट कसरी चलाउने भन्ने बुझ्दै गएँ । पछिल्लो केही समय कट हान्दा आउट भइरहेको थिएँ । त्यसैले लाइन र लेन्थ हेरेर कट कम खेल्ने प्रयास गरिरहेको छु ।

खासगरी डिसेम्बर २०१६ मा श्रीलंकामा भएको यू-१९ एसिया कपले धेरै सिकायो । त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो, त्यसक्रममा पाएको अनुभवले अगामी दिनमा के गर्नुपर्छ भन्ने ज्ञान मिल्यो । श्रीलंकाबाट फर्किएपछि सिनियर टिमका लागि क्याम्पमा पनि परेँ, तर त्यतिबेला खासै राम्रो भएन । त्यसपछि पनि तीन पटक सिनियर टिमको क्याम्पमा पर्ने तर टिममा नपर्ने भयो ।

२०१७ मा भएको एभरेस्ट पि्रमियर लिग (ईपीएल)मा म भैरहवा ग्ल्याडियटर्समा अवद्ध भएँ । फाइनलमा हामी विराटनगर वारियर्ससँग १ रनले हारेका थियौं, तर त्यो प्रतियोगितामा गरेको प्रदर्शनले मेरो क्रिकेट करियरलाई गति दिन धेरै नै सहयोग पुग्यो । म फेरि सिनियर टिमको क्याम्पमा परेँ । यसपटक टिममा पनि परेँ । फेब्रुअरी २०१८ मा नामिबियामा विश्व क्रिकेट लिग डिभिजन टू खेल्ने क्रममा मैले राष्ट्रिय टिमबाट डेब्यू गरेँ ।

****

राष्ट्रिय टिमबाट मेरो डेब्यू खेलमा नामिबियाविरुद्ध हामी एक रनले विजयी भएका थियौं । १३९ रनको लक्ष्य पछ्याउँदा मैले आठौँ क्रममा ब्याटिङ गर्दै ६० बलमा १७ रन बनाएको थिएँ । दोस्रो खेलमा ओमनलाई ६ विकेटले हरायौं । त्यसमा मैले ४२ बल खेलेर १४ रन बनाएको थिएँ । तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउँदा ४१ बलमा नटआउट १२ रन बनाएको थिएँ । केन्यासँगको खेलमा ८६ बलमा ४७ रन बनाएँ । त्यो खेल हामीले अन्तिम बलमा जितेका थियौं ।

त्यसपछि करण केसी दाइले अन्तिम विकेट बाँकी छँदा क्यानडाविरुद्ध जिताएको खेल त कसैले भुल्न सक्दैन । त्यसमा मैले ४२ बलमा २७ रन बनाएको थिएँ । फाइनल खेलमा युएईसँग ७ रनले हारे पनि हामी विश्वकप छनोटमा पुगेका थियौं ।

क्यानडासँग करण दाइले मैदानमा जुन खेल देखाउनुभएको थियो, त्यो साँच्चै अदभुत थियो । हामी बाउन्ड्री लाइन बसेर उहाँमाथि आश गरिरहेका थियौं । सन्दीपले पनि बलहरु रोकेर करण दाइलाई राम्ररी साथ दिनुभएको हो । पाँच रन बाँकी हुँदा करण दाइले चौका हानेपछि त अन्तिम एक रन हान्नुअघि नै दाइहरु त मैदानमा कुदिसक्नु भएको थियो । एक रन बाँकी नै छ भनेपछि उहाँहरु फेरि फर्केर कुर्सीमा बसेको दृश्य पनि हेर्नलायक थियो ।

ज्ञानेन्द्र दाइले त हातमा रहेको पानीको बोतलसमेत फालिसक्नु भएको थियो । एक रन बाँकी नै छ भनेपछि उहाँ फेरि फालेको बोतल टिपेर आफ्नै ठाउँमा बस्नुभयो । यस्ता अनुभवहरुले नै नेपाली क्रिकेटमा कस्तो मेहनत परिरहेको छ, हामी कस्तो परिस्थितिबाट अगाडि बढीरहेका छौं भन्ने बुझाइरहेको हुन्छ ।

****

मलाई यू-१९ टिममा रहेर खेल्दा र राष्ट्रिय टिममा रहेर खेल्दा धेरै भिन्न लाग्दैन । दुवैतिर कुराकानी गर्न र खेलबारे घुलमिल हुन निकै सजिलो छ । सुरुको दिनमा क्याम्पमा हुँदा केही डर लागेको हो । नामिबियाबाट फर्किएपछि त्यो डर रहेन ।

नामिबियामा जाँदा मेरो ‘रुम पार्टनर’ शक्ति गौचन दाइ हुनुहुन्थ्यो, उहाँबाट धेरै कुरा सिक्न पाएँ । उहाँले कुन बेला के गर्नुपर्छ ,कस्तो अवस्थामा कसरी अगाडि बढ्ने भनेर सिकाउनुहुन्थ्यो । राष्ट्रिय टिममा पर्नु अगाडि नै उहाँसँग भेट भएकाले पनि सजिलो भयो होला । उहाँ भन्नुहुन्थ्यो, एक-दुई वर्ष राम्रो खेलेर मात्रै हुँदैन, नेपालका लागि लामो समय खेल्नुपर्छ, लामो समय खेल्नका लागि आफूलाई सधैं तयार राख्न सक्नुपर्छ … । उहाँले भनेको यो अझै याद छ ।

ज्ञानेन्द्र दाइले पनि नयाँ खेलाडीलाई ‘पहिलो प्रतियोगितामा खेल देखाउने राम्रो मौका हुन्छ, दबाव महसुस नगरी खेल है’ भनेर सम्झाउनुभएको थियो । मैले राष्ट्रिय टिममा सिनियर दाइहरुबाट जस्तो माया र सहयोग पाएँ, अहिले यू-१९ टिममा पनि त्यसरी नै हामी एकअर्कालाई सहयोग गरिरहेका छौं । खेलबारे पनि सल्लाह गरेर के गर्दा राम्रो हुन्छ भन्ने तयारी गर्छौं । यो सबै कुराले सबै एकजुट भएर अगाडि बढ्न सजिलो भएको छ ।

****

जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिता त नेपाली क्रिकेटमा कहिल्यै भुल्न सकिँदैन । नेपालले एकदिवसीय मान्यता पाउँदा आफू पनि टिममा भएको, आफूले पनि धेरथोर योगदान गर्न पाएको क्षण कसरी भुल्न सक्छु र !

हाम्रो समूहमा जिम्बावे, स्कटल्यान्ड, अफगानिस्तान र हङकङ थिए । समूह चरणको खेलमा हामीले हङकङलाई मात्रै हराएका थियौं । प्ले अफ खेलमा पपुवा न्युगिनिलाई ६ विकेटले हराएपछि त हाम्रो क्रिकेटको स्वरुप नै फेरियो ।

त्यसबेला पाएको एकदिवसीय मान्यताका कारण नेपाली क्रिकेटले देखेको उचाइबाट अब झर्नु हुँदैन भन्नेमा भने सचेत हुनुपर्छ । केही वर्षका लागि मात्रै होइन, एकदिवसीय मान्यतालाई निरन्तरता दिँदै टेस्ट राष्ट्रसम्म पुग्नुपर्छ ।

तर हामीले पर्याप्त सिरिजहरु खेल्न पाएका छैनौं जस्तो लाग्छ । अहिलेसम्म नेदरल्याण्ड्ससँग दुई खेलको सिरिज र युएईसँग तीन खेलको सिरिज मात्रै खेलेका छौं ।

नेदरल्याण्ड्सँगको सिरिज बराबरी भएको थियो । यूएईलाई भने २-१ ले हराउँदै पहिलोपटक एकदिवसीय सिरिज जित्यौं । यूएईसँगको सिरिज मेरा लागि अझ विशेष बन्यो । यूएईसँगको दोस्रो खेलमा अर्धशतक बनाउँदा म अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेको थिएँ । ५५ बलमा ५८ रन बनाउँदा मैले कीर्तिमान बनाएको छु भन्ने त थाहा थिएन । खेल सकिएपछि कीर्तिमान बनेको थाहा पाउँदा खुशी लाग्यो । सचिन तेन्दुलकर र साहिद अफ्रिदीजस्ता खेलाडीको कीर्तिमान तोडिएको रहेछ ।

प्रस्तुति : ऋग्वेद शर्मा

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा‘को ४३ औं अंकमा यो हप्ता राष्ट्रिय क्रिकेटर रोहित कुमार पौडेलको कथा ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment