Comments Add Comment

घटेन सिरिन्ज आक्रमणको त्रास, दैनिक आधा दर्जन पुग्छन् अस्पताल

Photo Credit : सिरिन्ज आक्रमण भएको भन्दै बनेपाको शीर मेमोरियल अस्पताल पुगेकी महिलालाई भेट्दै प्रहरी अधिकारी ।

१५ असार, काठमाडौं । शुक्रबार जतिबेला महानगरीय प्रहरी परिसर, टेकुले सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई सार्वजानिक गर्दै थियो, नजिकैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने केही महिला ‘ममाथि सिरिञ्ज आक्रमण भयो’ भन्दै पुगेका थिए ।

चार जनामाथि भएको आक्रमणको जिम्मा लिएका कार्कीले सिरिन्ज होइन, ढलानको काँटीले घोपेको भनेर बयान दिएको प्रहरीको दाबी छ । तर न पीडितहरु यसलाई पत्याए, न सिरिन्ज आक्रमणको त्रास घटेको छ । बरु दैनिक झण्डै ६ जना महिला सिरिन्ज आक्रमण भयो भन्दै टेकु अस्पताल पुग्न थालेका छन् ।

घटना १ : कीर्तिपुरकी एक बालिकालाई सिरिन्ज आक्रमण भएको भन्दै परिवारले टेकु अस्पताल ल्यायो । परिवारको दाबी छ, भाइसँग स्कुलबाट फर्कदै गरेकी उनलाई १५/१६ वर्षका जस्ता देखिने किशोरले घुडा मुन्तिर सिरिञ्ज हानेर भागेका थिए । घटना दिउँसो ३ः४५ बजेतिर भएको थियो र आक्रमणकारी को थिए भन्ने थाहा छैन ।

आफन्तले उनलाई शुक्रबार बिहान टेकु अस्पताल ल्याए, जहाँ एचआईभीविरुद्धको एआरटी औषधि र हेपाटाइटिस बीविरुद्दको भ्याक्सिन दिइएको छ । बालिकाका एक आफन्त भन्छन्, ‘नानीले भनेअनुसार बाटो क्रस गर्दा सिरिञ्ज हानेछ । नानीले हातमा सिरिञ्ज देखेको हुँ भन्छे । केटोको अनुहार पनि याद छ भनेर सुनाउँछे ।’

घटना २ : शुक्रबार दिउँसो बनेपामा एक महिलामाथि सिरिन्ज आक्रमण भएको हल्ला फैलियो । नातिलाई स्कुलबाट घर लिएर जाने क्रममा आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै एक महिला शिर मेमोरियल अस्पताल पुगेकी थिइन् । प्रहरी पनि अस्पताल पुग्यो । चिकित्सकले सिरिन्ज आक्रमण होइन भने पनि परिवारले विश्वास गरेन र टेकु ल्याए, उनलाई औषधि चलाइएन, परामर्श गरेर पठाइएको छ ।

घटना ३ : बिहीबार असनमा सामान किन्न गएको बेला आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै एक महिला टेकु अस्पताल आइन् । उनलाई पनि एचआईभीविरुद्धको एआरटी र हेपाटाइटिस विरुद्धको भ्याक्सिन लगाइयो । उनले बताएअनुसार बजारमा हिँडिरहेको बेला पाखुरामा चस्स घोच्यो । हेर्दा पाखुरामा रगतको छिर्को देखेपछि आफू अस्पताल आएको उनले बताइन् ।

यी केही प्रतिनिधि घटनामात्रै हुन् । सिरिन्ज आक्रमण भयो भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक केही मानिस पुग्छन् ।

आइतबार मात्र आफू कहाँ ६ जना आइपुगेको अस्पतालकी मेडिकल अफिसर डा. लिना देवकोटाले बताइन् । ‘उनीहरु सबै शंकाको भरमा आएका थिए । काउन्सिलिङ गरेर पठाएका छौं’ उनले भनिन् ।

‘एआरटी नचलाउँदा भोलि संक्रमण होला भन्ने डर हुन्छ । त्यसैले केसको प्रकृति र बिरामीको ‘साइकोलोजी’ बुझेर काम गर्नु परेको छ’ डा. अनुप बास्तोला ।

अस्पतालको तथ्यांकले देखाउँछ कि सिरिन्ज आक्रमणको त्रास कति ठूलो छ ।

चिकित्सकका अनुसार सिरिन्ज आक्रमण नै भएको हो भनेर दाबी गर्ने र काउन्सिलिङ गर्दा पनि नमान्नेहरुलाई एचआईभीविरुद्धको एआरटी औषधि र हेपाटाइटिस बी विरुद्दको भ्याक्सिन दिइएको छ । शंकाको भरमा आउनेहरुलाई भने परामर्श दिएर पठाउने गरिएको छ ।

तर, अस्पतालमा आएकाहरुलाई परामर्श दिएको भए यो त्रास हट्ने देखिँदैन । किनकी न सबै घटना हल्ला मात्र हुन् भन्ने अवस्था छ न सबै सिरिन्ज वा काँटी आक्रमण थियो, फलानाले गरेको हो भन्न सक्ने प्रमाण छ ।

बिहीबार राति पक्राउ परेका सन्तोष कार्कीले चार जनालाई मात्र काँटी प्रहार गरेको बयान दिए । उनले दिएको बयानले फरक तरिकाले सोच्न बाध्य भएको टेकु अस्पतालका डाक्टर अनुप बास्तोला बताउँछन् ।

बास्तोलाको प्रश्न छ, ‘चारवटा घटनामा संग्लग्न भएका व्यक्ति प्रकाउ परे भने अरु घटनामा को संलग्न थिए ? उनीहरुकोे नियत के थियो ?’

‘पक्राउ परेका व्यक्तिले त काँटीले नै आक्रमण गरेको होलान्, तर सिरिन्ज आक्रमण भनेर आएकाले अरुले सिको गर्दै सिरिन्ज नै हानेको भए ?

अधिकांश मानिसको मनमा यस्तै प्रश्न आएकाले सिरिन्ज आतंक फैलिएको बास्तोलाको कथन छ । भन्छन्, ‘पक्राउ पर्नेले काँटीले आक्रमण गरेको भने पनि औषधि छुटाएका छैनौं, किनकी हामीलाई अझै शंका छ ।’ डा. बास्तोलाका अनुसार तिखो वस्तुले घोचेको शंकास्पद केसमा ‘एआरटी’ चलाइएको छ भने सामान्य किसिमको चोट देखिएका पीडितलाई परामर्श दिएर पठाइएको छ ।

सिरिञ्ज नै हो भनेर दाबी गर्दै आएका पीडितहरुको चोट शंकाको भरमा आएकाहरुको भन्दा खतरनाक रहेको बास्तोला सुनाउँछन् । त्यस्ता पीडितलाई एआरटी र हेपाटाइटिसविरुद्धको भ्याक्सिन चलाइएको छ ।

तर आफूहरु अन्यौलमा रहेको उनले सुनाए । ‘एआरटी नचलाउँदा भोलि संक्रमण होला भन्ने डर हुन्छ । त्यसैले केसको प्रकृति र बिरामीको ‘साइकोलोजी’ बुझेर काम गर्नु परेको छ’ उनले भने, ‘प्रहरी अनुसन्धानले निश्कर्ष ननिकाल्दासम्म त्रास हुने नै भयो ।’

अर्का चिकित्सक शेरबहादुर पुन पनि सिरिन्ज आक्रमणको त्रास ज्यादा फैलिएको कुरामा सहमत छन् । बसमा हिँड्दा कसैसँग ठोक्किएर घोचेजस्तो भएपनि अस्पताल आइपुग्ने महिलाहरु धेरै भएको उनले बताए ।

‘आक्रमणकारी देखेको भनेर दाबी गर्ने महिलाहरु भेट्दा चाहिँ कुनै गिरोह नै छ कि भनेर शंका लाग्छ । तर कतिपय केस हेर्दा डरले अस्पताल आउने बढी भए कि भन्ने लागेको छ’ डा. पुन भन्छन्, ‘हामी आफैं पनि एकिन गरेर त्रसित नहुनुस् भन्न सक्ने अवस्थामा छैनौं ।’

सिरिञ्ज आतंक फैलनुको कारण सबै घटनाका आक्रमणकारी पक्राउ नपर्नु पनि हो । चिकित्सकहरुका अनुसार मनोवैज्ञानिक डर बोकेर अस्पताल आउनेहरु बढेका छन्, जसमध्ये धेरै जसो सिरिन्ज आतंकमा कुनै गिरोह नै सक्रिय छ होला भन्ने आशंका व्यक्त गर्छन् ।

डा. पुन भन्छन्, ‘हामी मनोवैज्ञानिक डरमात्रै हो भनेर चुप बस्न पनि सक्दैनौं । सिरिन्ज आक्रमण नै हो भनेर ठोकुवा गर्न पनि सक्दैनौं ।’

प्रहरी भन्छ : यसलाई गम्भीर रुपमा लिएका छौं

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल यो घटनालाई गम्भीर रुपमा लिएको बताउँछन् । सिरिन्ज आक्रमण नै भएको हो भन्ने पुष्टि नभए पनि महिलाहरुमा बढी नै त्रास देखिएको उनले सुनाए । भन्छन्, ‘हामीले प्रहरी परिचालन बढाएका छौं । सादा पोसाकमा पनि खटाएका छौं । सीसीटीभी मोनिटरिङमा पनि जोड दिएका छौं ।’

सिरिन्ज आतंकको मनोवैज्ञानिक सन्बन्ध

सन्तोष कार्कीको बयान सुन्दा उनलाई गम्भीर मानसिक रोग ‘साइकोप्याथ’ हुन सक्ने मनोविश्लेषक वासु आचार्य बताउँछन् । ‘साइकोप्याथ’ हुदाँ मानिसहरु बारम्बार अरुलाई पीडा दिन अग्रसर रहन्छन् । मष्तिष्कमा सहानुभूति नै हुन्न । ‘साइकोप्याथ’ भएको मानिसले जति अरुलाई पीडा हुन्छ, त्यति नै आनन्दित महसुस गर्छन् । त्यही कारण यस्ता रोगीहरु बारम्बार अपराध गरिरहन्छन् ।

‘उनीहरुलाई आफूले गरेको अपराधमा पछुतो भन्दा सन्तुष्टि हुन्छ’ आचार्य भन्छन्, ‘आफू मानसिक रोगी भएको मान्न पनि तयार हुन्नन् ।’

त्यस्तै एउटै प्रकृतिको घटनाको समाचार सुन्दासुन्दै कतिपय मानिसहरुलाई ‘एन्जाइटी’ हुने आचार्य सुनाउँछन् । एन्जाइटीले गर्दा मानिसको मन मष्तिष्कमा त्यस्तै घटना हुने हो कि भन्ने डर बढिरहन्छ ।

मष्तिष्कमा ‘सेरोटोनिन’ कमी हुँदा मानिसहरु सामान्य कुरामा डराउने सुनाउँछन् । अहिले सिरिन्ज आक्रमण भएको भन्दै अस्पताल पुग्ने कतिपयमा यस्तै ‘पेनिक डिसअर्डर’ हुन सक्ने आचार्यको तर्क छ ।

सिरिन्ज आक्रमणको समाचार सुन्दासुन्दै डरले अस्पताल पुगेको हुनसक्ने उनको तर्क छ । ‘आफूलाई ‘इफेक्ट’ पर्ने नकारात्मक घटनाको जताततै चर्चा हुँदा मानिसहरुलाई मनोवैज्ञानिक त्रास उत्पन्न हुनु सामान्य हो । यसले सचेत हुन सहयोग पु¥याउँछ’ आचार्यले अनलाइनखबरसँग भने, ‘यस्ता घटना नसल्टिएसम्म डर भइरहन्छ ।’

यो पनि पढ्नुहोस यसरी भएको रहेछ महिलामाथि ‘काँटी’ आक्रमण (भिडियो) यो पनि पढ्नुहोस पीडित परिवारले भेट्टाएको थियो आक्रमणकारीको मोटरसाइकल यो पनि पढ्नुहोस शंकास्पद सिरिन्ज अट्याक : एचआईभी सर्ने डरले विक्षिप्त छु यो पनि पढ्नुहोस बनेपाको आक्रमणले चिकित्सक नै आश्चर्यमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment