Comments Add Comment

बलात्कार आरोपी पुर्पक्षका लागि थुनामा, मिलापत्र गराउने धरौटीमा छुटे

५ भदौ, विराटनगर । सामूहिक बलात्कार प्रकरणलाई गाउँमै मिलापत्र गराएको आरोपमा पक्राउ परेका ७ जना जनही ५० हजार रुपैयाँ धरौटीमा बुझाएर छुटेका छन् ।

अदालतले ६४ वर्षीय रामबहादुर राजवंशी, सोही ठाउँका ३३ वर्षीय दिलिप मुर्मु सतार, ७२ वर्षीय निमलाल राजवंशी, ३८ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाई, ४२ वर्षीय सुवासचन्द्र राजवंशी र ६० वर्षीय शेखर गौतमलाई जनही ५० हजार रूपैयाँमा धरौटी जमानतमा छोडन आदेश दिएको हो ।

मिलापत्र गराउने रङगेलीका ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर फरार छन् । अशक्त बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका दुईजना भने पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायधीश कृष्णमुरारी शिवाकोटीको इजालासले बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका मोरङ रङ्गेली नगरपालिका–९ संखुवाथान टोलका २५ वर्षीय प्रिन्स अधिकारी र २८ वर्षिय रोमन मगरलाई पुर्पक्षको लागि कारागार चलानको आदेश दिएको छ । सामूहिक बलत्कार घटनामा संलग्न अर्का सुनिलकुमार चौधरी फरार छन् ।

गत असार २० गते मोरङको रंगेलीस्थित सुस्त मनस्थितिकी १६ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ।

घटना सार्वजनिक भएपछि असार २६ गते साउन ६ गते भित्र १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने गरी मिलापत्र भएको थियो ।

मिलापत्र गराउने १० मध्ये प्रहरी नियन्त्रणमा रहेका ७ जना अगुवालाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको हो ।

इलाका प्रहरी कार्यालय रङ्गेलीले सामूहिक बलत्कारको घटनामा संलग्नको अभियोग लागेका तीन र मिलापत्र गराउने १० जनासहित १३ जनाविरुद्ध शुक्रबार सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

बलात्कारको घटना मिलाउन गाउँकै अगुवाले एक लाख ५० हजार रुपैयाँ पीडित पक्षलाई दिने सर्तमा मिलापत्र गराएका थिए । घटना सार्वजनिक नगर्ने सर्तमा असार २६ गते साउन ६ गते भित्र पैसा दिने गरी कागज गरेका थिए । तर घटना बाहिरिएपछि लेनदेन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment