Comments Add Comment

तरकारीको मूल्य २० दिनमै २८९ प्रतिशतले बढ्यो

११ असोज, काठमाडौं । राजधानीबाट प्रकाशित आजका पत्रिकाहरुमा नौबिसे नागढुंगा सडकखण्डको जाम र जाममा परेर विरामीको मृत्यु भएको समाचार प्राथमिकतामा परेको छ । कान्तिपुरले ‘काखमै गुम्यो छोरा’ शीर्षकमा र अन्नपूर्ण पोष्टले ‘जाममै गयो ज्यान’ शीर्षकमा मुख्य समाचार छापेका छन् ।

नागरिक दैनिकमा ‘जामले लियो ज्यान’ र राजधानी दैनिकमा ‘कहिलेसम्म ज्यानमारा जाम ?’ शीर्षकमा समाचार प्रकाशित छ ।

कान्तिपुर दैनिकले दशैं नजिकिएसँगै तरकारीको मूल्य २० दिनमै २८९ प्रतिशतले महँगिएको समाचार छापेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म वृद्धि भएको समाचारमा उल्लेख छ । व्यापारीहरुले होलसेल मूल्यभन्दा दोब्बर बढी लिएर उपभोक्तालाई बेचिरहेका छन् ।

व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका समाचारमा लेखिएको छ ।

गोरखापत्र दैनिकमा भने ‘मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने’ शीर्षकको समाचार छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले दशैंको मुखमा उपभोक्तालाई मार पर्ने गरी अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ,’ समाचारमा लेखिएको छ ।

गोरखापत्र दैनिकको मुख्य समाचार भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको न्यूयोर्कमा सार्क मन्त्रिपरिषदको अनौपचारिक बैठकलाई गरेको सम्बोधनसँग सम्बन्धित छ । बैठकको अध्यक्षता गर्दै मन्त्री ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क)लाई सक्रिय बनाउनुपर्ने बताएको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले पुँजीगत खर्च तीन वषयताकै न्यून भएको समाचार छापेर सरकारको कार्यक्षमतामा प्रश्न उठाएको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काम नगर्ने मन्त्रीलाई हटाउने चेतावनी दिँदै गर्दा चालु आर्थिक वर्षको खर्च पछिल्ला तीन वर्षमध्ये सबैभन्दा न्यून भएको छ,’ समाचारमा लेखिएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले अमेरिकाले नेपाललाई कुनै मुलुकको पक्षमा नलागी नेपालकै पक्षमा रहेको हेर्न चाहेको समाचार छ । नेपालका अमेरिकी राजदूत र्‍याण्डी बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, सांसद, उद्यमी र सञ्चारकर्मीमाझ नेपाललाई कसैको पक्ष-विपक्षमा लाग्न हुँदैन भनेर सुझाव दिएका हुन् । उनले भनेका छन्, हामी नेपालको पुरानो मित्र हौं । नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा रहेको हेर्न चाहन्छौं । नेपालमा कतिपय विषयमा गलत बुझाइ छ । हामी त्यस्ता विषय स्पष्ट पार्न चाहन्छौं ।’

चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच काठमाडौंमा अन्तर्क्रिया भएपछि अमेरिकी राजदूतले सक्रियता बढाएका छन् । उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर चासो व्यक्त गरिसकेका छन् ।

राजधानी दैनिकले समाज कल्याण परिषदले संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले दिएको सुझावलाई पटक-पटक बेवास्ता र उल्लंघन गर्दै आएको समाचार लेखेको छ । महालेखाको सुशासन कायम गर्न दिएको सुझावलाई उल्लंघन गर्दा समाजकल्याण परिषदमाथि अपारदर्शी किसिमले चलेको आरोप लाग्ने गरेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment