Comments Add Comment

पाहुनाको स्वागत कसरी गर्ने ?

जो कोहीले पनि चार्डपर्व, विवाह–व्रतबन्धहरु धुमधामसँग मनाउने गर्छन् । त्यस्ता अवसरमा पाहुनाहरु आएको हामीलाई रमाईलो लाग्छ । हामी पाहुनालाई भगवानको दर्जा दिने गर्छौं । ‘अतिथि देव भवः’ भन्ने कथनलाई आत्मसात गरेर हामी घरमा आएका पाहुनालाई सकेको आदर–सत्कार गर्छौं । तर, कहिलेकाहीँ हामीले चाहेर पनि पाहुनालाई आवश्यक सुविधा दिन सक्दैनौं । पाहुनालाई खाने–बस्नेको विशेष प्रबन्ध हुनु आवश्यक छ । जसले गर्दा उनीहरु तपाईंले पाहुनाप्रति गर्नुभएको स्वागतलाई कहिल्यै बिर्सँदैनन् । आफूले पाएको अतिथि सत्कारको बारेमा उनीहरुले सबैलाई सुनाउँछन् । त्यसैले आज हामी पाहुनाको आदर सत्कार कसरी गर्ने भन्ने बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।

बस्ने व्यवस्था

यदि घरमा कोही पहुना आउँदछन् भने तपाईंले आउने पाहुनाको लिस्ट बनाउनु राम्रो हुन्छ । लिस्ट बनाउँदा ठूला सदस्य र युवा कति जना छन् भन्ने कुरा ध्यान दिनुपर्छ । ठूला सदस्यलाई बस्न, पल्टिनको लागि बेड र कुर्सीहरुको उचित व्यवस्था हुनुपर्छ । उनीहरुलाई सामान राख्नको लागि सानो टेबलको पनि व्यवस्था भयो भने सामान झिक्न र राख्नका लागि निहुरिरहनु पर्दैन ।

युवाहरु त भुईँमा पनि डस्ना हालेर सुत्न सक्छन् । यदि पाहुनालाई बस्नको लागि तल र माथिको फ्लोर छ भने बृद्धहरुलाई तलको फ्लोरमा बस्ने व्यवस्था मिलाउनुपर्छ । साथै, शौचालय पनि नजिक हुनु आवश्यक हुन्छ । गर्मी–जाडो कस्तो मौसम छ सोही अनुरुप एयर कन्डिसनर अथवा हिटरको व्यवस्था गरिदिनु पर्छ ।

खाने–पिउने व्यवस्था

दिनको सुरुवात चियाबाट हुुने भएकोले चियाको व्यवस्था हुनुपर्छ । तर, हिजोआज धेरैलाई सुगरको समस्या हुने भएकाले चिनी भए–नभएको दुवै किसिमको चियाको व्यवस्था मिलाउनुपर्छ । प्रायःलाई चियासँगै बिस्कुट खाने बानी हुन्छ । यो कुरालाई पनि ध्यान दिनुपर्छ । ठूला सँग–सँगै बच्चाहरु, जसले बिहान उठेपछि दूध पिउँछन् । उनीहरुको लागि दूधको पनि व्यवस्था गर्नुपर्छ । त्यस्तै कालो चिया, कागती पानी, मन तातो पानीहरुको पनि राम्रो व्यवस्था हुनुपर्छ ।

स्न्याक्समा फ्राई गरेको खानेकुराहरु, जस्तै पकौडा, चप, फेन्च फ्राईहरु, स्यान्डविच, रोटी, ब्रेड आदि राख्न सकिन्छ । जसलाई तारेको कुरा मन पर्दैन उनीहरुले यस्ता खाना खान सक्छन् । त्यस्तै, बिहान–बेलुकाको खाना पनि समयमा नै तयार गर्नुपर्छ । हिजो आज प्रायः चिल्लो–पिरो रहित खाना खान मन पराउने भएकोले यो कुरालाई ध्यान दिनु आवश्यक छ । पाहुनाको स्वाद अनुसार खानामा नुन हाल्नुपर्छ । त्यस्तै दही, सलाद, मिठाईहरु पनि फ्रिजमा राख्नुपर्छ ।

कोही पहुना  घरमा आउँदा पानीसँग मिठाई पनि दिनुपर्छ । सबैसँग भेटघाट गर्नुपर्छ, घरमा आएका पहुनाको एक–अर्कासँग परिचय पनि गराउनुपर्छ । यसो गर्दा पहुनाहरु एक आपसमा घुलमिल हुन्छन् ।

प्रतियोगिताको आयोजना

यदि तपाईंको घरमा विवाहको समारोह छ भने त्यस्तो अवसरमा कुराकानी मात्र गर्नाले रमाइलो हुँदैन । त्यो समारोहलाई अविस्मरणीय बनाउनका लागि बृद्धा र युवाबीचमा अन्ताक्षरी जस्ता प्रतियोगिताहरु गराउन सकिन्छ । म्युजिकल चियर जस्ता रमाइला खेलहरु पनि राख्न सकिन्छ ।

अहिलेको मौसममा फलफूल प्रशस्त पाइने भएकोले युवती र महिलाहरुबीच फलफूल छिटो काट्ने, छोडाउने प्रतियोगिता राख्न सकिन्छ । यो खेलले रमाइलो त हुन्छ नै साथै फलफूल काट्ने र छोडाउने भएकाले पाहुनाहरुलाई फलफूल सजिलै खान दिन पनि सकिन्छ । प्रतियोगिता जित्नेहरुका लागि पुरस्कारको व्यवस्था पहिले नै गर्नुपर्छ । गीत–संगीतसँगै नृत्यको पनि आयोजना गर्न सकिन्छ ।

पाहुनाप्रति तपाईंको व्यवहार

विवाह–व्रतबन्ध र चार्डपर्वलाई अविस्मरणीय बनाउनका लागि प्रत्येक पाहुनासँग धेरैभन्दा धेरै समय बिताउने कोसिस गर्नुपर्छ । उपहार पनि सबैलाई समान रुपमा दिनुपर्छ । यसो गर्दा तपाईको सबै पहुनालाई आफ्नो पनि उत्तिकै महत्व रहेछ भन्ने महसुस हुन्छ । यसरी पाहुनाको हरेक सुविधालाई ध्यानमा राखेर आतिथ्य गर्नाले तपार्इंको पाहुना प्रतिको आदर–सत्कारलाई उसले कहिल्यै बिर्सन सक्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment