
२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत शनिबार सम्पन्न एथ्लेटिक्सतर्फ श्रीलकाले सर्वाधिक १५ स्वर्ण पदक जित्यो । ३६ स्वर्णको लागि भएको एथ्लेटिक्समा भारत १३ स्वर्ण जित्दै दोस्रोमा रहँदा नेपालले ३ स्वर्ण जित्यो ।
शनिबार भएको ४२ किलोमिटर म्याराथन दौडमा नेपालले पुरुषतर्फ स्वर्ण जित्दा महिलातर्फको स्वर्ण श्रीलंकाले जितेको थियो । अमेरिकामा बसेर प्रशिक्षण गरेकी हिरुनी विजयरत्नेले नेपालकी पुष्पा भण्डारीलाई ९ मिनेटभन्दा बढीले पछि पारेर स्वर्ण जितेकी हुन् ।
बिहीबार मात्र आफ्नो २९औं जन्मदिन मनाएकी हिरुनीले २ घण्टा ४२ मिनेट २४ सेकेण्डमा निर्धारित दूरी पूरा गरिन् । हिरुनी काठमाडौंमा आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा ५ मिनेटले पछि परेकी थिइन् ।
यसको कारण खुलाउँदै उनले नेपालको मौसमका कारण दौडन केही असहज भएको प्रतिक्रिया दिइन् । ‘चिसो मौसम, ठूलो उकालोले गर्दा दौडन गाह्रो थियो । म्याराथनमा यस्तो खासै हुँदैन,’ हिरुनीले भनिन् । उनले सडक पनि खुल्ला नभएको र ट्राफिक पनि भएकाले १३ औं सागमा फरक अनुभव भएको बताएकी छन् ।
यद्यपि उनले समग्रमा राम्रो गरेकोमा खुसी लागेको बताएकी छन् । ‘दोहाको कन्डिसनभन्दा काठमाडौंको कन्डिसन धेरै फरक थियो । समग्रमा दौड राम्रो भयो । म खुशी छु कि मैले दौड पूरा गरेँ र श्रीलंकालाई स्वर्ण दिलाएँ,’ हिरुनीले सुनाइन् ।
उनी म्याराथन र १० हजार मिटरमा श्रीलंकाको राष्ट्रिय कीर्तिमान होल्डर समेत हुन् । हिरुनीले म्याराथनमा ध्यान दिनका लागि १० हजार मिटरको दौड नै छाडेकी थिइन् । दुई महिनाअघि कतारको दोहामा भएको आईएएएफ वर्ल्ड च्याम्पियनसिपमा उनले बिचमै म्याराथन छाडेकी थिइन् ।
१३ औं सागको पदक तालिकामा भारत पहिलो, नेपाल दोस्रो र श्रीलंका तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया 4