Comments Add Comment

हिमाली भागमा शुक्रबारसम्मै भारी हिमपात, सतर्क रहन मौसमविद्को आग्रह

पश्चिम, मध्य र पूर्वी पहाडी भागमा ३ दिन पानी पर्ने

Photo Credit : फाइल तस्वीर

२५ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमाली भागमा भारी हिमपातको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविदले पश्चिम, मध्य र पूर्वी पहाडी भागमा ३ दिन पानी पर्ने प्रक्षेपण पनि गरेका छन् ।

विभागले बुधबार बिहान तीनदिने मौसमी विश्लेषण सार्वजनिक गर्दै देशको हिमाली भागमा हिमपात हुने जनाएको हो । विभागका मौसमविदहरूका अनुसार, पश्चिमी उच्च पहाडी हिमाली भू–भागसँगै मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भागमा ३ दिन भारी हिमपात हुने सम्भावना छ । हिमपातबाट यी क्षेत्रको जनजीवन प्रभावित हुने भएकाले सतर्क रहन उनीहरूले सुझाएका छन् ।

‘पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने हुँदा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरूमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ’, विभागले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै भनेको छ ।

विभागका अनुसार, आगामी शुक्रबारसम्मै यी क्षेत्र हिमपातको चपेटामा परिरहनेछन् । त्यसपछिका दिनमा हिमपात यथावत रहन्छ या हट्छ भन्नेबारे भने विभागले केही खुलाएको छैन । विभागसँग प्रविधि नभएकाले उसले ३ दिनको मात्रै मौसमी अनुमान गर्ने गरेको छ ।

पश्चिम, मध्य र पूर्वी पहाडी भागमा वर्षा

विभागका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिबाट भने पश्चिम निम्न चापीय प्रणाली विकास हुनेछ ।

हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली भए पनि पश्चिम भू–भागसँगै मध्य र पूर्वी पहाडी भूभागका एक दुई स्थानमा दिउँसो र राति हल्का वर्षाको सम्भावना मौसमविद्ले औंल्याएका छन् । मौसमविद्हरूका अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment