Comments Add Comment

पानीले रोकेन उखु किसानको आन्दोलन (फोटो फिचर)

१८ पुस, काठमाडौं । उद्योगलाई उखु बेचेको रकम नपाएपछि किसान एक हप्तादेखि काठमाडौंमा आन्दोलनमा छन् ।चिसो मौसमको परवाह नगरी उनीहरु हरेक दिन माइतीघर मण्डलामा ब्यानर र प्लेकार्ड लिएर प्रदर्शन गरिरहेका छन् ।

तराईको गर्मीमा बसेका उनीहरु कतिपय चिसोले बिरामी परिसके भने कतिपयको खर्चसमेत सकिइसक्यो । तर उखु उद्योगीबाट वर्षौदेखि नपाएको रकम फिर्ता नपाएसम्म घर नफर्किने अडान यथावत छ ।

एक हप्तासम्म लगातार प्रदर्शन गर्दा सरकारले बल्ल चासो राख्न थालेको छ ।

शुक्रबार विहानदेखि काठमाडौंमा सिमसिम पानी परिरहेको थियो । उखु किसान अरु दिनजस्तै शुक्रबार पनि माइतीघर मण्डलामा भेला भए ।

झरीमा रुझ्दै धर्ना दिइरहेका उनीहरुका लागि कसैले माइतीघर मण्डलामै त्रिपाल गाडेर बस्ने ठाउँ बनाइदियो, नजिकै आगो पनि फुकिदियो ।

त्यसपछि त्रिपालभित्र सरेर आगोको राप लिइरहेका बेला प्रहरी आएर आगो निभाइदियो र त्रिपाल फुस्काउन थाल्यो । तर आन्दोलनकारी रिसाएर नाराजुलुस गरेपछि त्रिपाल भने हटाएन ।

उखु किसानको आन्दोलनमा समर्थन जनाउन पुगेका एक व्यक्तिले आन्दोलनकारीलाई खाजाको व्यवस्था गरे ।कतिपय सहयोगी भने किसानलाई खानेकुरा दिएको सेल्फी र फोटो खिचाउँदै थिए ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि उखु किसानको आन्दोलनमा समर्थन जनाउन आइन् । उनले किसानका लागि पाँच हजार रुपैयाँ सहयोग पनि गरिन् ।

हेर्नुस् थप तस्वीरहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment