Comments Add Comment

प्रदेश १ मा ‘सडक बालबालिका’ मुक्त बनाउने अभियानको घोषणा

१७ पुस, विराटनगर । प्रदेश १ मा पनि सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियान थाल्ने घोषणा गरिएको छ । यो अभियानको सुरुवात शुक्रबार साँझ प्रदेश-१ को धरानबाट हुनेछ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, बालबालिका खोजतलास समन्वय केन्द्रले सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश १ का मुख्य शहरका सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियानको घोषणा गरिएको हो ।

केन्द्रले यसअघि संघीय राजधानी काठमाण्डौमा रात्रिकालीन अभियान चलाएर सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धार गरेको थियो ।

मन्त्रालयले शुक्रबार विराटनगरमा बाल अधिकारकोस्थिति सम्बन्धी अन्तक्रिया कार्यक्रमको आयोजना गरि प्रदेश १ मा पनि सडक बालबालिका खोजी तथा उद्धारको अभियानको थालनी गर्ने घोषणा गरेको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पर्वत गुरुङले संघीय संरचनाको अवधारणलाई आत्मसाथ गदै प्रदेशमा हस्तान्तरण गर्ने नीति अनुसार प्रदेश-१ मा रात्रीकालिन अभियान चलाएर सडक बालबालिकाको खोजी र उद्धारको अभियान सञ्चालन गरिएको बताए ।

मन्त्री गुरुङले सरकारले संविधानले नै बालबालिकाले खाना, लाउन र पठन–पाठन गर्न पाउने संवैधानिक अधिकारलाई व्यावाहारिक कार्वान्वयका लागि सरकारले नै जिम्मा लिने नीति अनुसार अभियानको सुरुवात गर्न लागिएको बताए । त्यसका लागि प्रदेश, स्थानीय सरकारको आवश्यक सहयोगको अपेक्षा रहेकोमा जोड दिए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आवधिक योजनामा नै प्रदेशलाई सडक बालबालिका मुक्त बनाउने घोषणालाई सार्थक बनाउन संघीय सरकारले ल्याएको नीतिले थप मद्धत पुगेको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले निर्माण गर्ने नीति ऐनमा बालबालिका मैत्री नीति तथा कानून बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको पनि बताए ।

कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडकमा बस्नु पर्ने र बाँच्नुपर्ने अवस्थाको अन्त्य आजकै दिनबाट सुरु हुने बताए ।

प्रदेश १ का मुख्य शहर सुनसरीको धरान, इटहरी, झापाको दमक र बिर्तामोडमा गरी ६३ जना सडक बालकबालिका रहेको प्रदेश १ का सामाजिक विकास मन्त्रालय सचिव वीरबहादुर राईले बताए । कुल ५ सय ३३ बालगृह मध्ये प्रदेश १ मा २८ वटा रहेका र जसमध्ये हाल १४ वटा मात्रै सञ्चालनमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment