Comments Add Comment

धरासायी बन्दै चिनी उद्योग, यसैपालि ३ उद्योग बन्द

करोडौं घाटा खाएर चिनी बेचिरहेका छौं : उद्योगी

सर्लाहीको धनकौल गाउँपालिका-४ मा रहेको अन्नपूर्ण चिनी उद्योग

१८ पुस, काठमाडौं । आर्थिक संकटका कारण तीन वटा चिनीमिल यसै वर्ष बन्द भएका छन् । ती उद्योगमा करिब १२ अर्ब रुपैयाँ डुबेको चिनी उत्पादक संघले जनाएको छ ।

गत वर्ष उखु क्रसिङको समयमा देशभर १३ वटा चिनी मिलहरु सञ्चालनमा थिए । यसपालि यो संंख्या १० वटामा झरेको छ । तीनवटा चिनी मिलहरुले उखु क्रसिङ गर्न नसक्ने भन्दै उद्योगमा ताला लगाएका हुन् ।

सर्लाहीमा रहेका अन्नपूर्ण सुगर एन्ड जनरल इन्डष्ट्रिज र श्रीराम सुगर मिल्स तथा नवलपरासीमा रहेको लुम्बिनी सुगर इन्डष्ट्रिज प्रालि यस सिजनबाट बन्द भएको संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए । ‘तीनवटा उद्योग यसै सिजनमा बन्द भए, बाँकी उद्योग पनि ठूलो घाटा खाएर जेनतेन चलिरहेका छन्,’ उनले भने ।

अग्रवालको भनाइमा एउटा चिनी उद्योग स्थापना गर्न करिब चार अर्ब रुपैयाँ लगानी लाग्छ । त्यस हिसाबले तीन वटा उद्योगहरु बन्द हुँदा उद्योगीको १२ अर्ब रुपैयाँ डुबेको उनले बताए ।

ठूलो परिमाणमा भारतीय चिनी भित्रिइसकेकाले बन्देजले अपेक्षित राहत नमिलेको उद्योगी बताउँछन् । अहिले त उक्त बन्देज पनि हटिसकेको छ

आयातित चिनीको मार

तीन वर्ष अगाडिसम्म देशका उखुमिलहरु राम्रो अवस्थामा चलिरहेका थिए । भुक्तानीको पनि खासै समस्या थिएन । उखु कृषकहरुले चाहिँ मूल्य बढाउनुपर्ने माग बर्सेनि गर्दै आएका थिए ।

दुई वर्ष अगाडि सरकारले भारत र पाकिस्तानमा अनुदानप्राप्त चिनी ठूलो परिमाणमा भित्र्याएपछि नेपाली उद्योगहरु धरासायी बनेको अग्रवालले बताए । ‘हाम्रो देशको कुल खपत भनेको दुई लाख ५० हजार मेट्रिकटन हो, तर सरकार आफैंले भारत र पाकिस्तानबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात गरेर बेच्यो । आयातित चिनी सस्तो भएकाले हामीले प्रतिस्पर्धा गर्न सकेनौं र हाम्रो चिनी बिकेन । त्यहीँबाट संकट सुरु भएको हो,’ उनी भन्छन् ।

भारतले चिनी आयातमा प्रतिकिलो ११ भारतीय रुपैयाँ अनुदान दिने गरेको छ । सो अनुदानका कारण भारतीय चिनी नेपाली चिनीभन्दा सस्तो हुन्छ । सस्तो बजारमा उपलब्ध भएपछि नेपालमा उत्पादित चिनी बिक्न सकेन ।

गत वर्ष पनि सरकारले ७० हजार मेट्रिकटन चिनी भारतबाट आयात गर्‍यो । त्यसलाई लिएर उद्योगीहरुले विरोध जनाएपछि परिमाणात्मक बन्देज लगाइयो । तर, ठूलो परिमाणमा भारतीय चिनी भित्रिइसकेकाले बन्देजले अपेक्षित राहत नमिलेको उद्योगी बताउँछन् । अहिले त उक्त बन्देज पनि हटिसकेको छ र विदेशी चिनी आयात खुल्ला गरिएको छ ।

यो पनि पढ्नुहोस ‘सरकार हामीलाई चिनी ‘तितो’ भयो !’

अहिले कुनै पनि चिनी उद्योग नाफामा नचलेको संघको दावी छ । लागत मूल्यभन्दा पनि एक रुपैयाँ कममा चिनी बिक्री गरिरहेको उद्योगीहरु बताउँछन् ।

‘हामीलाई एक किलो चिनीको उत्पादन मूल्य ६४ रुपैयाँ पर्छ, तर हामीले ६३ रुपैयाँ प्रतिकिलोमा बेचिरहेका छौं,’ एक उद्योगीले भने । विगत १० वर्षयता चिनीको मूल्य स्थिर रहेको उनी बताउँछन् ।

‘अरु वस्तुको मूल्य २ सय, ३ सय प्रतिशत बढिसकेको छ, तर चिनीको मूल्य १० वर्षदेखि स्थिरजस्तै छ । बढीमा ५-१० प्रतिशत बढ्यो होला । उखुको मूल्य कहाँबाट कहाँ पुगिसक्यो । अनि कसरी चलाउने हामीले उद्योग ?’ उनले सुनाए ।

३० वर्षमा २१ उद्योग बन्द

नेपालमा चिनी मिल सञ्चालनको इतिहास ३० वर्ष पुरानो छ । यस अवधिमा सञ्चालनमा आएका दुई सरकारीसहित ३१ उद्योगमध्ये २१ वटा बन्द भइसकेका छन् ।

चिनी उत्पादक संघका महासचिव राजकुमार अग्रवालका अनुसार एउटा उद्योगले कम्तीमा पाँच सय जनालाई प्रत्यक्ष रोजगारी सृजना गरिरहेको हुन्छ । यसबाहेक लाखौं कृषक उखु खेतिबाटै जिविकोपार्जन गरिरहेका छन् ।

यो पनि पढ्नुहोस उखु : बाली नगदे, कारोबार उधारो !

बन्द भएका उद्योगबाट हालसम्म साढे १० हजारभन्दा धेरैको रोजगारी खोसिएको अग्रवालले बताए । ‘सरकारी नीति यस्तै रहेमा लेखेर राख्नुस् अबको पाँच वर्षभित्र नेपालको चिनी उद्योग सखाप हुन्छ,’ उनले भने ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेकोमा ६० प्रतिशत औद्योगिक प्रयोजनमा हुन्छ, ४० मात्र घरायशी प्रयोजनमा । मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले गत वर्ष कुल खपतमध्ये एक लाख ८० हजार मेक्ट्रिकटन चिनी स्वदेशी उत्पादन र ७० हजार मेक्ट्रिकटन आयात भएर नेपाल भित्रिएको बताए ।

‘उद्योगहरु अभिभावकविहीन’

माग अनुसारको उत्पादन गर्न सक्ने क्षमता भएर पनि नेपाल चिनीमा आत्मनिर्भर हुन सकेको छैन । चिनी खरिदमा बर्सेनि करोडौं रुपैयाँ विदेशिने गरेको छ ।

गत वर्ष स्वदेशमा नपुग्ने भनेर सरकारले ७० हजार मेक्ट्रिकटन चिनी आयात गर्दा उद्योगीको ५५ हजार मेक्ट्रिकटन चिनी मौज्दात बसेको महासचिव अग्रवालले बताए ।

‘यस वर्ष पनि चिनीको नयाँ उत्पादन सुरु भइसकेको छ, तर गत वर्षकै चिनी बेच्न सकेको छैन,’ उनले भने ।

यो पनि पढ्नुहोस चिनी मिलमा वर्गसंघर्ष

सरकारले बजार हस्तक्षेप गर्ने नाममा ठूलो परिमाणमा चिनी आयात गर्दा उद्योगी घाटामा चल्नु परेको अग्रवालले बताए ।

‘अन्य क्षेत्रमा व्यवसाय हुनेले जसोतसो किसानलाई पैसा तिरे, तर नहुनेले कसरी तिर्ने ? आज अर्बौं लगानी गरेर उद्योग खोलेका उद्योगी एकातर्फ ऋणमा डुबेका छन्, अर्कोतर्फ बदनाम भएका छन्,’ उनले भने ।

अध्यक्ष अग्रवालका अनुसार उद्योगहरुले आफ्नो चिनी ७१ रुपैयाँ प्रतिकिलोमा बेच्न पाए मात्रै नाफामा जान्छन् । अहिले ६३ रुपैयाँ फ्याक्ट्री मूल्य तोकिएको छ भने त्यसमा सरकारले १३ प्रतिशत भ्याट लगाउँछ । अरु देशले आफ्नो उद्योगलाई पर्याप्त संरक्षण दिइरहँदा नेपाली उद्योगहरु अभिभावकविहीन जस्तो बनेको उद्योगीको गुनासो छ ।

‘प्रधानमन्त्रीले सार्वजनिक फोरमबाटै हामीलाई चोर जसरी चित्रण गर्नुभयो, हरेक दिन मिडियाले हामीलाई चोर भनेर लेखिरहेका छन् । चिनीमा एक पैसा मूल्य बढ्यो भने सर्वसाधरणले पनि चोर नै भन्छन् । यस्ता माहोलमा हामीले अत्मसम्मान कहाँ खोज्ने ?’ उनले भने ।

यो पनि पढ्नुहोस चिनीमा राजनीति : राजपा ताला ठोक्ने, नेकपा फुटाउने !

संघका अध्यक्ष शशिकान्त अग्रवाल भन्छन्, ‘किसानको पीडा आफ्नो ठाउँमा छ । उहाँहरुको आन्दोलनलाई अन्यथा लिएको छैन । तर, उद्योगीले पैसा किन भुक्तानी गर्न सकेनन् भन्ने पनि त हेर्नुपर्‍यो नि ।’

के गर्दैछ सरकार ?

उखु किसान र उद्योगीको समस्या जेलिँदै गएपछि समस्या समाधानका लागि मन्त्रालयले कार्यदल बनाउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘उद्योगी पनि घाटा भो भन्ने, किसान पनि पैसा पाइएन भन्ने देखियो, यो समस्या समाधान गर्न कार्यदल बनाउने गृहकार्य भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता भट्टराईले भने ।

चिनी उद्योगको पनि संरक्षण हुने र किसानले पनि उखुको मूल्य तुरुन्तै पाउने वातावरण बनाउन कार्यदलले काम गर्ने सहसचिव भट्टराईले बताए । कृषि र उद्योग मन्त्रालयबीच छलफल चलिरहेको भन्दै उनले कार्यदलको फोकल पर्सन र कार्यदेशहरु गृहकार्यकै चरणमा रहेको बताए ।

यो पनि पढ्नुहोस हामीसँग सरकार किन्ने पैसा छैन ! यो पनि पढ्नुहोस उखुबालीमा किसानको सकसः निल्नु न ओकल्नु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment