Comments Add Comment

लगानी सम्मेलनपछि १४ परियोजनाको पूर्वयोग्यता मूल्यांकन

Photo Credit : RSS

१८ पुस, काठमाडौं । ९ महिना अगाडि भएको लगानी सम्मेलनमा प्रतिबद्धता जनाइएका ५० मध्ये १४ परियोजनाको पूर्वयोग्यता मूल्यांकन सकिएको लगानी बोर्डले जनाएको छ । ती आयोजना ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका छन् ।

पूर्वमूल्यांकन सकिएका मध्ये ७५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी छनोट भइसकेको बोर्डले जनाएको छ ।

यस्तै भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ्ग प्लान्ट परियोजनाका लागि कोरियाको मोटेक्ससँग लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ । यो परियोजना १० अर्ब ५४ करोड रुपैयाँ अनुमानित लागतको हो ।

दमकमा ६४ अर्ब ६१ करोड रुपैयाँ लागत रहेको चीन-नेपाल मैत्री पार्क निर्माणका लागि समझदारी भएको छ ।

विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रुपैयाँ कूल लागतको मल्टिमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको पनि बोर्डले जनाएको छ ।

लगानी सम्मेलन बाहेकका १५ प्रस्तावमध्ये १० वटा परियोजना अध्ययनको चरणमा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । ती परियोजनाबाट देशको ऊर्जा, उद्योग, यातायात तथा कृषि लगायतका क्षेत्रका पूर्वाधार विकासमा सहयोग पुग्ने बोर्डको विश्वास छ ।

यस्तै सम्मेलनकै क्रममा हस्ताक्षर तथा घोषणा भएका १६ वटा समझदारीसमेत कार्यान्वयन भइरहेको अधिकारीले बताए ।

लगानी बोर्डले हाल करिब ५ खर्ब ६५ अर्ब रुपैयाँ कुल परियोजना लागत भएका ९ वटा विभिन्न क्षेत्रका परियोजना कार्यान्वयन तथा सहजिकरण गरिरहेको छ । जसमध्ये करिब १ खर्ब ४ अर्ब रुपैयाँ लागतको अरुण तेस्रो जलविद्युत परियोजनाले बाँध, विद्युतगृह तथा सुरुड जस्ता महत्त्वपूर्ण संरचना निर्माणमा करिब एक तिहाई काम पूरा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment