
२९ पुस, काठमाडौं । रातको १२ बजेपछि सोमबार सकियो । मंगलबार सुरु भयो । घडीमा २ बज्नै लागेको थियो । काठमाडौंको सडक चकमन्न थियो । त्यहीँ सडकबाट बिलयो संगीतिक क्षेत्रको एउटा चम्किलो तारा ।
रातको २ बज्नै लाग्दा गायक निशान भट्टराई दरबारमार्गस्थित वानथाई रेस्टुरेन्टमा गीत गाएर जडुबुटीमा रहेको निवास फर्किँदै थिए । कामले गर्दा शरीर थकित थियो । निद्राले आँखा लोलाइसकेका थिए ।
सुनसान सडकमा निशान तीव्र गतिको गुडेको कार तिनकुने पुग्नै लाग्दा विद्युतको पोलमा नराम्रोसँग ठोक्कियो । निशान गम्भीर घाइते बने । उनलाई प्रहरीले अस्पताल पुर्यायो तर, उनलाई बचाउन सकिएन ।
नेपाली संगीतिक क्षेत्रले एउटा प्रतिभा गुमाएको छ ।
को हुन् निशान ?
४० को दशकमा संगीतिक क्षेत्रमा उदाएका गायक हुन् निशान भट्टराई । विशेषगरी निशानलाई गजल गायकको रुपमा चिन्ने गरिन्छ । उनले पहिलो गीतको रुपमा ‘कामनाले भरिएको’ गीत रेकर्ड गराएका थिए । तर उनलाई चिनाउने गीत भने ‘माया गर माया गर’ भन्ने बन्यो ।
त्यसपछि उनको आवाज भरिएको थुप्रै गीत हिट भए, जसमा ‘नसा पिएर’, ‘मलाई माफ गरिदेउ’, हेर धर्ती’ लगायत गीतहरु पर्छन् ।
मुसुक्क हाँसेर बोल्ने मिठो स्वरका धनी उनी निकै सरल व्यक्ति भएको उनका साथीभाइहरु सुनाउँथे ।
उनी होटलहरुमा गीत पनि गाउँथे । एक समय सोल्टी होटलमा गीत गाउने उनी व्यवस्थापनका प्रिय थिए । उनले अम्बर होटलमा पनि काम गरे ।
दुर्घटनाको दुखद संयोग
सोल्टीमा काम गर्दै गर्दा निशान एक विदेशी महिलासँग प्रेममा थिए । उनी पनि नेपालमै बसोबास गर्थिन् ।
२०४५ सालमा प्रेमिकाले नै निशानलाई टोयटाको कार उपहार दिएकी थिइन्, जुन समय कला क्षेत्रका कमै व्यक्तिहरु गाडी चढ्थे । तर त्यही कार दुर्घटनामा निशानले प्रेमिकालाई गुमाएका थिए ।
राति कामबाट फर्किदा उनीहरुसँगै कारमा थिए । निशान गाडीमै निदाए । त्यही बेला कार ट्रकको मुनि छिर्यो र उनी प्रेमिकाले ज्यान गुमाइन् । त्यसबेला निशान भने बाच्न सफल भएका थिए ।
त्यही चोटका कारण निशान डिप्रेसनमा पुगेका थिए । झण्डै ८ वर्ष सबैसँग टाढिए । संगीतिक क्षेत्रमा काम पाउन छोडे । आर्थिक रुपमा मात्र होइन, उनी शरीरिक रुपमा पनि कमजोर बन्दै गए ।
तर एक दिन सुन्धाराको एक रेष्टुरेन्टमा भेटिए पुराना हितैषी मिलन मोक्तान । मिलन र निशान कुनै समयका एकदमै मिल्ने साथी थिए । सेल्टी होटलमा निशान गाउथे भने मिलन बजाउँथे ।
त्यो भेटमा उनीहरुले एकअर्काको सुखदुःख साटे । जब मिलन रेष्टुरेन्टबाट बाहिर निस्किए, निशान मदिराको नशाले लडिरहेको भेटिए । मिलनले साथीहरुको सहयोगमा डेरासम्म पुर्याए । त्यहाँ मिलनले निशानको दुःख देखे । अनि उनलाई आफ्नै घर लगे र ९ महिनासम्म सँगै राखे ।
त्यो भेटले बद्लिएको जीवन
९ महिनासँगै बस्दा मिलनले निशानको रक्सी खाने लत छुटाए, फेरि काममा फर्किए । देश विदेशमा हुने कार्यक्रमहरमा सहभागी हुन थाले । अमेरिकामा रहेका साथीको घरमा बस्ने गरी जडिबुटी सरे ।
विस्तारे आर्थिक रुपमा पनि सबल भए । दरवारमार्गमा उनले गीत गाउने रेष्टुरेन्ट वानथाईमा पनि लगानी गरेका थिए । तर मंगलबार त्यही रेष्टुरेन्टमा गाएर फर्किने क्रममा सवारी दुर्घटनामा गरी उनको निधन भएको छ ।
उनका छोरा, छोरी र श्रीमती छन् ।
प्रतिक्रिया 4