Comments Add Comment

पार्टीलाई जनतासँग जोडौं, कार्यकर्तालाई रिचार्ज गरौं

गत असोज ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले, भरतपुर महानगर कमिटीको अध्यक्ष बनाएपछि यसलाई मैले मेरो राजनीतिक जीवनकै ठूलो जिम्मेवारीका रुपमा लिएको छु । देशका ६ वटा महानगरपालिकामध्ये भरतपुर महानगरपालिका आफैंमा महत्वपूर्ण छ भन्ने लाग्छ । भरतपुर महानगरपालिकाभित्र नै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रका बहुसंख्यक वडा भएको हिसाबले पनि यो महत्वपूर्ण छ । यहाँ पार्टीले गर्ने गतिविधिले स्वयं प्रचण्डलाई समेत प्रभाव पार्ने हुँदा हामी मसिनो ढंगले कामलाई अघि बढाउने सोचमा छौं ।  मैले अपेक्षाकृत जिम्मेवारी पाएको हुनाले अब पार्टी संगठनका काममा चुस्तता दिनुपर्दछ भन्ने लागेको छ ।

स्वाभाविक ढंगले मैले महानगर कमिटीको अध्यक्षमा दाबी गरेकै थिएँ । तत्कालीन एमालेको जिल्ला कमिटीमा लगातार ६ कार्यकालसम्म बसेर पार्टीका लागि मैले योगदान गरेको छु । पार्टीमा निरन्तर योगदान गरेको र संगठन सञ्चालनमा समेत मैले केही भूमिकाहरु प्रस्तुत गरेकाले पार्टीले पनि मूल्यांकन गरिरहेको थियो । मेरो एउटा जबर्जस्त माग पनि थियो कि पार्टीमा अब युवालाई अगाडि बढाउनुपर्छ । नेतृत्वमा ल्याउनुपर्दछ भन्ने थियो । युवाको योगदानलाई पार्टीले सही मूल्यांकन गरेर जिम्मेवारी दिनुपर्दछ भन्ने मेरो बुझाइ हो । मैले त्यहीअनुसार नै यो महत्वपूर्ण जिम्मेवारी पाएको हुँ ।

पार्टीले महानगर कमिटीको इन्चार्जमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई तोकेको छ । मलाई अध्यक्ष र ईश्वर सापकोटा ‘सुमन’लाई सचिव बनाएको छ । केन्द्रीय सचिवालयले यो फ्रेम बनाइसकेपछि हामीले छलफल ग¥यौं । महानगर कमिटीलाई चलायमान बनाउने सन्दर्भमा केही कामहरु अघि बढाउने योजना पनि बनेका छन् । एकीकृत प्रक्रियालाई तलसम्म लैजानुपर्ने, प्राविधिक रुपमा भएको एकतालाई भावनात्मक बनाउनुपर्ने खाँचो पनि छ । जिल्ला पार्टीले महानगर कमिटी बन्नुअघि नै वडा कमिटीहरु बनाइसकेको सन्र्दभमा वडा कमिटीका अध्यक्ष र सचिवहरुसँग छलफल र बैठक गरेका छौं । केही ठाउँमा पार्टीका भेला र प्रशिक्षणहरु चलाएका छौं । यहाँलाई थाहा नै छ अझै महानगर कमिटी पूर्ण बनेको छैन । महानगर कमिटी नबन्दा केही समस्याहरु पक्कै पनि छन् । वडा कमिटीसँग बिस्तारित बैठक गर्ने र निर्देशित गर्ने काम भएका छन् । अझै धेरै कामहरु गर्न बाँकी छ । योजना बनाएर दृढतापूर्वक अघि बढ्छौं ।

जुन संस्थाको नेतृत्व नेकपाले लिन्छ, त्यो संस्था राम्रो हुनुपर्दछ, फरक ढंगले चल्नुपर्दछ । अरूले भन्दा नमूना काम गरेर देखाउने चुनौती हामीलाई छ

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र सँगसँगै गत निर्वाचनमा जनताको बीचमा पुग्यौं । निर्वाचनमा एक भएर जानु भनेको पनि भावनात्मक रूपमा एक हुनु हो । यसले नेता कार्यकर्तामा विश्वास बढाउँछ । निर्वाचनताका साविक दुवै दलका नेता कार्यकर्तामा उत्साह थियो । तर, पार्टी एकता प्रक्रियाले झण्डै दुई वर्ष लिँदा केही निराशा कार्यकर्तामा छ । पार्टीका इमान्दार कार्यकर्ताको ऊर्जामा कमी भएको महसुस भएको छ । अहिले कमिटीहरु व्यवस्थित गर्ने सन्दर्भमा केही उत्साह थपिएको छ । हामी रिचार्ज गर्दैछौं पार्टी र कार्यकर्तालाई । थुप्रै नेताहरू कमिटीभन्दा बाहिर पर्नुभएको छ । जिम्मेवार कार्यकर्ताहरू, भूगोलमा खट्ने कार्यकर्ताहरु जिम्मेवारीविहीन रहनुभएको छ । पार्टी काममा योगदान गर्न नपाएको गुनासो छ । सबै कार्यकर्तालाई कमिटी प्रणालीमा जोड्छौं । व्यवस्थापन गर्छौं ।

महानगर कमिटी १२५ सदस्यीय बन्छ । केही नेताले यहाँ जिम्मेवारी पाउनुहुन्छ । महानगर कमिटी सदस्यहरू भनेको भूगोलको पनि हुने हुँदा पार्टी काममा, वडा कमिटीसँग उहाँहरु पनि निकट भएर काम गर्न सक्नुहुन्छ । अहिले जस्तो जिम्मेवारीविहीन भएर बस्नु पनि पदैन । अर्को कुरा उहाँहरुले महानगर कमिटीलाई रिपोर्टिङ पनि गर्नुहुन्छ । त्यसले ‘टु वे कम्युनिकेसन’ गराउँछ । पार्टीलाई जीवन्त बनाउँछ । महानगर कमिटीको पूर्णताका लागि हामीले केन्द्रीय सचिवालय र प्रदेश कमिटी एवम् इन्चार्जलाई समेत भनेका छौं । विधान बमोजिम कमिटी गठन गरिदिन अनुरोध गरेका छौं ।

नेकपाको पार्टी विधानले महानगर कमिटी र पार्टी जिल्ला कमिटीलाई समान हैसियत दिएको छ । एकथरी नेताको बुझाइ महानगर कमिटी जिल्ला भित्रकै भूगोलमा भएको हुनाले समान हैसियत दिनुहुन्न भन्ने छ । जिल्ला सरहकै मान्यता दिँदा जिल्ला कमिटीको समानान्तर हुन्छ कि भन्ने भयले काम गरिरहेको देख्छु म । तर, वास्तवमा त्यस्तो होइन । बुझाइमा कमजोरी छ । एकथरी नेताहरु जिल्ला कमिटीभित्र महानगरलाई राख्नुपर्छ, एउटै हैसियत दिनुहुन्न भन्नेमा हुनुहुन्छ । विधानले क्लियर गरेको विषयमा खोचे थाप्नु राम्रो हैन । पार्टी महाधिवेशनसम्म यस्तो अभ्यास गरौं न के बिग्रन्छ ? भोलि समस्या आउने भयो भने महानगरले सोच्ला । त्यसैले यो ठूलो कुरा हो जस्तो मलाई लाग्दैन ।

मलाई नेकपा चितवन पार्टी कार्यालय टिममा नराखेको विषयमा पनि केही साथीहरुले प्रश्न उठाउनुभएको छ । तर म यसमा क्लियर छुँ । म पार्टीको जिल्ला कमिटी सदस्य पनि हुँ । महानगर कमिटीको अध्यक्ष भैसकेपछि मलाई जिल्ला कमिटी सदस्यबाट हटाइदिनुस् पनि भनेको थिएँ । तर, प्रदेशले राख्यो । मैले पार्टीको कुरा अवज्ञा गरिनँ । पार्टीको जिल्ला र महानगरको स्टाटस एउटै हो । कार्यालय टिमको सदस्य बन्नुपर्छ भन्ने छैन । आमन्त्रित सदस्यका रुपमा उहाँहरुले चाहाँदा बोलाउन सक्नुहुन्छ । त्यसमा मेरो तर्फबाट कुनै समस्या छैन । जिल्लाको छुट्टै कार्यालय छ । महानगरको छुट्टै छ । हामीले आफ्ना जिम्मेवारी र काम तोकिएको भूगोलमा गर्ने हो । समन्वय गरेर नै अघि बढ्छौं । महानगर कमिटीको इन्चार्ज नै केन्द्रीय सदस्य एवम् महानगर प्रमुख हुुनुहुन्छ । त्यसैले समस्या छैन । पार्टी जिल्ला कार्यालय टिममा नराख्नुलाई मैले ठूलो इस्यु बनाएको छैन । मबाट हार्दिकतापूर्ण व्यवहार नै हुन्छ ।

पार्टीलाई जनतासँग जोडौं

भरतपुर महानगरपालिकामा २९ वडा छन् । ती हरेक वडामा हाम्रा कमिटीहरु छन् । वडामा पार्टी कमिटीका अलवा विभिन्न जनवर्गीय संगठनहरु निर्माण गर्छौं । मजदुर, किसान, महिला, उत्पीडित क्षेत्रका जनतालाई कमिटीगत प्रणालीमा समेट्छौं । वडा कार्यालयहरू खोल्ने र सञ्चालन गर्ने काम गर्छौं । हरेक वडामा भएका सार्वजनिक संघसंस्थाहरुको विवरण लिने, तिनका कामहरुमा पार्टीले सहयोग गर्ने वातावरण तयार गर्छौं । पार्टीले अब पार्टीको मात्रै काम गर्दैन । जनतासँग जोड्ने कार्यक्रम बनाउँछ । हरेक सामाजिक संघसंस्थामा पार्टीका जिम्मेवार व्यक्तिलाई पठाउने, उनीहरुलाई गाइडलाइन दिने, गतिविधिहरूको समीक्षा गर्ने, अरुले भन्दा फरक ढंगले चलाउने वातावरणको सिर्जना गर्छौं । हामीले काम गरेर देखाउनु छ । त्यसैले आवश्यकता अनुसार फरक फरक भूमिकामा पार्टीलाई ढाल्छौं र अघि बढ्छौं ।

जनताका समस्याको समाधान गर्ने हिसाबले लाग्छौं । जुन संस्थाको नेतृत्व नेकपाले लिन्छ, त्यो संस्था राम्रो हुनुपर्दछ, फरक ढंगले चल्नुपर्दछ । अरूले भन्दा नमूना काम गरेर देखाउने चुनौती हामीलाई छ । पार्टीको तल्लो तहमा बसेर काम गर्ने कार्यकर्ता पार्टीको सबै नेता हो । रामप्रसाद न्यौपाने पनि उहाँ नै, रेनु दाहाल पनि उहाँ नै हो, प्रचण्ड पनि उहाँ नै हो, केपी ओली पनि उहाँ नै हो । सरकारले गरेका राम्रा कामहरु जनताको बीचमा लैजाने, सुझाव र समस्याहरु लिने र रिपोर्टिङ गर्ने काम हुन्छ । पार्टी कमिटी हुँदा पनि नेता कार्यकर्ताहरु भुत्ते बन्ने अवस्था आएको छ । अब हामी यसलाई स्पातिलो बनाउँछौं । हरेक पार्टी कार्यकर्ताको रेकर्ड राख्छौं । सदस्य संख्या र उहाँहरुको योगदान एवम् विवरण सबै सफ्टवेयरको माध्यमबाट राख्छौं । वडा वडामा गएर सदस्यता विस्तार र विवरणलाई सीधै सफ्टवेयरमा राख्ने काम अघि बढाउँछौं । पार्टी स्कूल चलाउँछौं । युवाहरुलाई प्रशिक्षण दिने कामहरु अभियानका रुपमा अघि बढाउँछौं । गरिब, विपन्न, असहाय र अशक्त नागरिकको सेवाका लागि योजना बनाउँछौं ।

अस्पतालमा महानगर कमिटीका प्रतिनिधिहरु रहनुहुन्छ । उहाँहरुले त्यहाँ आउने बिरामीलाई सहयोग गर्नुहुन्छ । मालपोत, जिल्ला प्रशासन कार्यालय, विकासे अड्डाहरुमा महानगर कमिटीका प्रतिनिधिहरु खटिएर जनतालाई सहयोग गर्ने, सेवा प्रवाहको अनुगमन गर्ने, आवश्यक पृष्ठपोषण गर्ने, ढिलासुस्तीलाई कम गराउने र जवाफदेहिताको विकास गराउने काम गर्छौं । जनताका आधारभूत तहका समस्यामा सहयोग गर्छौं । यी सबै गतिविधिले पार्टीलाई जनतासँग जोड्छ । पार्टीको आक्रामक प्रचार संयन्त्र खडा गर्छौं । राम्रा काम र गतिविधिहरू जनताका बीचमा लैजान्छौं ।

भरतपुर महानगरपालिकामा सिमान्तकृत चेपाङ समुदायदेखि आदिवासी थारु र बोटे मुसहरसम्मका जनता बस्छन् । राज्यले यी समुदायका जनताका लागि ल्याएका कार्यक्रमहरु लक्षित वर्गसम्म पुग्न सकेको छैन । सचेतना र जानकारीको अभाव छ । जस्तो, चेपाङ, बोटे मुसहर जातिका व्यक्तिका लागि भरतपुर अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको छ । तर, उहाँहरूलाई यो कुराको जानकारी नै छैन । पैसा छैन भनेर उपचार गर्न नै नआउने अवस्था छ । अब नेकपाका कार्यकर्ताले उहाँहरुलाई बुझाएर अस्पतालसम्म ल्याउनुपर्दछ ।

राज्यले, स्थानीय सरकारहरूले लक्षित वर्गका लागि ल्याएका कार्यक्रमहरु यसै फ्रिज भएर गएका छन् । केही टाठाबाठाले उनीहरुको नाममा आएका कार्यक्रम मेसो मिलाएर खाएका छन् । अब यस्ता काम रोकिनुपर्दछ, रोक्छौं ।

यहीँका बोटे, मुसहर र चेपाङहरु जाडोमा न्यानो कपडा लगाउन नपाउने अवस्था छ । बालबालिकाहरूका खुट्टामा चप्पल हुँदैनन् । विद्यालय जाँदैनन् । कतिपयको बस्ने घर छैन, खाने अन्न छैन । अब हाम्रो पार्टीलाई त्यहाँ पुर्याउनु छ । स्थानीय सरकार, प्रदेश सरकार, सामाजिक संघसंस्था र व्यक्तिहरुलाई त्यहाँ जोड्न आवश्यक छ । महानगर कमिटीले अब पुलको काम गर्नेछ । हामी जाडोमा न्यानो बाँड्ने छौं । जनता आवास कार्यक्रम मार्फत विपन्नहरुका घर निर्माणमा महानगरपालिकासँग समन्वय गर्नेछौं ।

महानगर प्रमुख नै इन्चार्ज

महानगरपालिकाको प्रमुख नै महानगर कमिटीको इन्चार्ज भएपछि काम गर्न सहज हुन्छ जस्तो लाग्छ । मलाई लाग्छ देशका कुनै पनि महानगर प्रमुख, महानगरको इन्चार्ज हुनुहुन्न होला । यो हाम्रा लागि खुसीको कुरा हो । महानगरका योजना पार्टीका योजना बन्छन् । पार्टीले महानगरलाई सहयोग गर्छ । सहजीकरण गर्ने काम महानगर कमिटीको हुन्छ । जनताका समस्याहरू महानगरपालिकासँग राख्ने लैजाने काम हुन्छ । महानगरले पार्टीले उठाएका सान्दर्भिक, आवश्यक र जायज मागलाई सम्बोधन गर्छ । यसले नेकपालाई जनतासँग जोड्न झनै सहज हुने र जनतामा पनि विश्वास आर्जन गर्न सहज हुने देख्छु म ।

नेकपा भरतपुर महानगर कमिटीलाई देशकै नमूना रुपमा चलाउने मेरो योजना र सोच छ । हाम्रो पार्टी सञ्चालनको तरिकाको अनुकरण अरु पार्टी कमिटीहरुले पनि गर्न सकुन् भन्ने लाग्छ । यसमा पार्टी भित्र र बाहिरका सबै जनाको सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।

(न्यौपाने नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment