Comments Add Comment
नेकपा बहस :

‘राष्ट्रियसभामा पार्टीको च्याप्टर क्लोज भयो, राष्ट्रपतिको एक सिट बाँकी छ’ 

‘गलेकै बेला प्रधानमन्त्रीलाई दबावमा पार्नु कमरेडली व्यवहार होइन’

प्रथमतः यो जनताको जनादेश प्राप्त सरकार हो । जनताको म्याण्डेटका आधारमा सरकार बनेको छ । दोस्रो कुरा, इतिहासबाट हामीले के कुरा सिक्नुपर्छ भने २०१५ सालको संसदीय निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर कांग्रेस सत्ता चलाउन सकेन ।

त्यति हुँदाहुँदै पनि २०४८ सालमा आफ्नै पार्टीको बहुमत हुँदाखेरि दुईतिहाईको सपना देखेर अघि बढेपछि हङ पार्लियामेन्ट हुँदै नेपालको इतिहासमा लामो समयपछि एउटै पार्टीलाई नेपाली जनताले बहुमत दिएका छन् ।

विगतका इतिहासबारे हामी त जानकार छौं भने हाम्रा नेताहरु जानकार हुनुहुन्न भन्ने मलाई लाग्दैन ।

यो आम निर्वाचनपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त गर्‍यो । ६ महिना, ९ महिनामा सरकार परिवर्तन भइरहनेखालको परिपाटी समाप्त भयो । यसबाट आम जनता र कार्यकर्ताहरु त उत्साहित छन्, तर आफ्नै संस्कारबाट नेता बन्न पाउन रमाएका, हुर्किएका हाम्रा नेताहरुमा छटपटी आएको हुन सक्छ ।

अस्थिरता हुँदा छ महिना, नौ महिनामा प्रधानमन्त्री हुने पालो आउँथ्यो । पाँच/पाँच वर्ष एउटैलाई कुर्नुपर्दाखेरिका विरक्तिहरु पनि विभिन्न भावमा प्रकट हुने गरेको कुरा मात्र हो । यसले सरकारको गतिलाई कमजोर गर्ने वा जग हल्लाउने भन्ने हुँदैन । नेताहरुले अभिव्यक्ति दिएर आत्मसन्तुष्टिका लागि बोल्ने कुरा अलग हो ।

वामदेव कमरेडको प्रसंग

बामदेव कमरेडका बारेमा जे निर्णय पहिले भएको छ, अब अस्पतालबाट आएपछि प्रधानमन्त्रीले त्यो गर्नुहुन्छ भनेर प्रचण्ड कमरेडले भन्नुभएको होला । आफैं उपस्थित भएर गरेको निर्णय बेवारिसे किन छाडौं भनेर भन्नुभएको होला । धेरैलाई अस्ति नै भइसक्नुहुन्छ भन्ने नै थियो । अब प्रधानमन्त्री अस्पतालबाट आएपछि भन्ने ठाउँमा पुग्नुभएको छ । समय हेर्दै जाउँ न । किन अहिले यसलाई टिप्पणी गरेर वातावरण बिथोल्ने खालको कुरामा जाने ?

अहिले राष्ट्रियसभामा खाली भएको एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिज्यूले नियुक्ति गर्ने सिट हो । पार्टीले निर्णय गरेर राष्ट्रियसभामा जाने सिटको अध्याय सकिएको छ ।

बामदेव कमरेड जननिर्वाचित प्रतिनिधि हुनुपथ्र्यो, यसमा कुनै विमतिको कुरा रहेन । उहाँको योगदान अरु नेताको भन्दा कम छैन । तर, आम निर्वाचनमा गएर जनताले एउटा म्याण्डेट दिएपछि पाँच वर्षको अवधिमा जनप्रतिनिधि भएर जाने कुरा र जनप्रतिनिधिको हिसाबले मुलुकको नेतृत्व गर्छु भन्ने कुराचाहिँ हामीले बनाएको संविधानसँग संगति नखाने कुरा हो । अब के–के कारणले विभिन्न खालका छलफल बहसहरु आउँछन्, त्यो त समयक्रमले पुष्टि गर्ला ।

हिजो संविधान संशोधन नगरिकन जाँदै नजाने अडानमा रहनुभएका मेरो आदरणीय नेता पछिल्लो दिनमा किन जान तयार हुनुभयो । इतिहासले यस्ता कुराको पनि उत्खनन् त भोलि गर्छ । तर, अहिले बिग्रह ल्याउनका लागि, कम्युनिस्टले पनि बहुमत ल्याएको बेला देश चलाउन सक्दैनन् भन्ने पुष्टि गर्न जुन जुन तत्वहरु क्रियाशील छन्, त्यसैलाई बल पुग्ने गरी कामहरु हाम्रा अनुभवी नेतृत्वबाट हुन्छ भन्ने मलाई लाग्दैन । यस्तो हुन्छ भने जनताको म्याण्डेट विरुद्ध हो र यसरी पार्टीको नेता हुन्छु भन्ने सोच्नुभएको छ भने त्योचाहिँ भ्रमपूर्ण सोचाइ हो ।

प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुपर्छ, नमानेदेखि पार्टी छाड्नुपर्छ भनेर जुन नेता (झलनाथ खनाल) का नाममा मिडियामा जे कुरा आएको छ, स्वयं उहाँ पार्टीको अध्यक्ष हुँदा पार्टीले गरेको निर्णयहरुका बारेमा के गर्नुभएको थियो भन्ने कुरा अहिलेको भनाइ र उहाँको गराइलाई स्मरण गरौं । भन्ने र गर्ने फरक हुन्छ भन्ने त उहाँले नै स्थापित गर्नुभएको छ । भनाइ र गराइ फरक हुन्छ भन्ने कुरा अगुवाहरुबाटै अहिलेकाले सिके भने त्यसको जवाफ उहाँले के दिनुहोला भन्ने सोचौं ।

बोल्ने स्वतन्त्रता सबैलाई छँदैछ । कसले के भन्नुहुन्छ भन्ने हिसाबले पनि नसुनेका कुरामा म धेरै टिप्पणी गर्न चाहान्न । अहिले राष्ट्रियसभामा खाली भएको एक सिट नेपालको संविधान अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिज्यूले नियुक्ति गर्ने सिट हो । पार्टीले निर्णय गरेर लैजाने सिट भनेको चाहिँ जनताले दिएको म्याण्डेटका आधारमा चुनिएका प्रतिनिधिहरुमार्फत राष्ट्रियसभामा जानेखालको व्यवस्था छ । अब त्यो एउटा अध्याय सकिएको छ ।

‘प्रधानमन्त्री अल्पमतमा परेको’ कुरा

यो कुरा त रमाइलो र तुष्टिका लागिमात्र हो । गर्नेहरुले गर्नै थाले भैगो नि त त्यसो हो भने । सधैंभरि यो गर्छु, त्यो गर्छु यो देखाउँछु त्यो देखाउँछु भनेर अर्थ छैन । आम चुनावबाट अहिलेसम्म हामीले २ वर्ष बितायौैं, केपी ओली नेतृत्वको सरकार बनेको । संसद र सडकबाट अरु पार्टीहरु र हाम्रा पार्टीका नेताहरुले कसले कति सहयोग गरेका छन् भनेर एउटा रिसर्च गर्ने हो भने नै कति जलन छ भन्ने कुराको एउटा निष्कर्षमा हामी पुग्न सक्छौं । यस्ता अभिव्यक्ति हिजो पनि थिए, भोलि पनि रहन्छन् । कुण्ठा भोलि पनि अभिव्यक्त भइरहन्छन् ।

संसदीय दलमा उहाँ सर्वसम्मत नेता चुनिनुभएको छ । प्रधानमन्त्री त्यही ढंगले हुनुभएको छ । बनाउने हामी जिउँदैछौं । पार्टीको अध्यक्ष उहाँ नै हो । अब अहिले नै त्यसमा आकाश नै खसिहाल्यो भन्ने छैन ।

प्रधानमन्त्री त पहिलेदेखि नै समस्यामै हुनुहुन्छ । तर, राजनीतिक र पार्टीको हिसाबले कुनै समस्या छैन, मिर्गौला प्रत्यारोपणको समस्या थियो । अब यो उपचारपछि मात्र उहाँ ठीक हुनुहुन्छ । कतिलाई त यही प्रत्यारोपण सफल नहोला कि भन्ने आशा पनि थियो होला नि । तर, हाम्रो प्रधानमन्त्रीज्यूले त पार्टीको भेलामै भाषण गरेर भन्नुभयो, म अपरेसन गरेको ५ दिन अस्पताल बस्छु, ६ दिनदेखि काममा फर्किन्छु । अहिले उहाँको स्वास्थ्य अवस्था सन्तोषजनक छ र चाँडै काममा फर्किनुहुन्छ ।

एकपटक जननेता मदन भण्डारीले एउटा उखान भन्नुभएको थियो –कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ । काग गराउँदै गर्छ, पिना सुक्दै गर्छ भनेजस्तै आ–आफ्ना आफ्ना भूमिका सबैले पूरा गर्ने हो । समयको गतिका आधारमा प्रवाह चाहिँ अघि बढिरहन्छ ।

प्रधानमन्त्री सबै मिलेर चुनेको हो । अध्यक्ष दुईजनालाई सबै मिलेर बनाएको हो । यसमा निहुँ खोज्ने कुरा छैन । भोलि महाधिवेशनमा पनि हामीले सहमतिका आधारमा गर्ने भनेका छौं । यदि महाधिवेशनमा विधि प्रक्रियाबाट टुंग्याउँ भनेर गयौं भने त्यसबेला अल्पमत र बहुमतको कुरा पनि आउला ।

अहिले त मूल नेतृत्वहरुको योजनामा पार्टी एकीकरण भएर यहाँसम्म आएको छ । त्यही प्रक्रियामा कुनै मान्छेहरुको बीचमा बिमति भयो भनेदेखि बहुमत र अल्पमतको कुराले के चाहिँ अर्थ राख्छ र ? यो त विचारको बहसपछि थाहा हुन्छ ।

माधव कमरेडको प्रसंग र विचारको बहस

यो बुझाइ आत्मसन्तुष्टिका लागि ठीकै हुन्छ । यथार्थमा केही होइन । यो पार्टी एकता गर्दाखेरि अल्पमत र बहुमतबाट पार्टी चलाउँ भन्नेखालको कुरा नै छैन । पार्टी एकता गर्दा नै सहमतिका साथ जाने भनिएको छ । सहमतिका साथ जाने भनेको मूलतः दुईटा अध्यक्षको सहमति । र, नेतृत्वको हाम्रो कोर लिडरशीप, नौ जनाको सचिवालय छ, त्यसको सहमतिका साथ जाने हो । त्यसैले बहुमत–अल्पमत गणितको कुरालेमात्रै राजनीति जान्छ र ? त्यसरी जाने हो भने त आ–आफ्ना डम्फू बजाए भइगयो नि ।

निशन्देह आन्दोलनमा लाग्नुभएको र आन्दोलनका बिभिन्न मोडबाट कम्युनिस्ट आन्दोलनलाई मूलधारमा ल्याउनका लागि योगदान गर्नुभएको नेताहरुको विमतिले पार्टी आन्दोलन एकीकृत संग्लो र गतिशील हुँदैन भन्ने हामीले अनुभूति गरेकै हो ।

२०५४ मा हाम्रो पार्टी विभाजित हुँदैनथ्यो भने २०५६ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्ने थिएन र मुलुकको परिदृश्य अर्कै हुन्थ्यो । त्यसलाई हामीले व्यवस्थापन गर्न नसक्दाखेरि हामीले जुन हण्डर ठक्कर खायौं, त्यसबाट अनुभवी नेतृत्वले शिक्षा लिएकै होला ।

अब हामीले महाधिवेशन तोकेका छौं । महाधिवेशनको बहस खुला गरेपछि त्यो बहसमा आउने क्रममा नै अनि पो विस्तारै धु्रवीकरण भएर कुन नेता–कार्यकर्ता कता लाग्छन् भन्ने अवस्था आउँछ । अहिले को नेता कता लाग्छ भन्ने के अर्थ छ र ?

हिजोको एमाले–एमाले एकातिर, हिजोको माओवादी–माओवादी एकातिर भन्ने हुँदैन । विचारको बहस चलेपछि तपाईले अनुमान नगरेका मान्छेहरु एक ठाउँमा उभिन्छन् । अहिले छुटिँदै छुटिँदैनन् कि भनेर बिहान–बेलुकै मिटिङ गरेर हाम्रो एकता भन्दै टेको लगाउनेहरु नै त्योबेला कहाँ पुग्छन् भन्ने कुरा त समयको गतिले बताउनेछ । जहाँसम्म सरकारको कुरा छ, पाँच वर्ष यो सरकारले काम गर्छ र समयमै आम चुनाव गराएर नेकपाको एकल दुईतिहाई बहुमत पुर्‍याएर मात्र छाड्छ ।

प्रधानमन्त्रीलाई यहीबेला अलि गलाउन सकिन्छ कि, प्रत्यारोपणपछि अलि दह्रो हुँदै आएपछि नगल्नुहोला कि भनेर गलेकै बेला, अलि कमजोर भएकै बेला अलि दबावमा राखियो भने केही प्राप्त गर्न सकिन्छ कि भन्ने मनसाय हो भने त्यो कमरेडली मनसाय होइन । त्यसले भावनात्मक एकतालाई सुदृढ गर्दैन ।

कम्युनिस्ट पार्टीमा लागेका हर कोही, सबै मान्छेहरु कार्यकारी छन् । सल्लाहकार भनेर परिभाषित गरेका मान्छेहरुले सल्लाह दिने हो, त्यसमा पनि उनीहरु सल्लाह दिने मामिलामा समेत सार्वभौम छन् । तीबाहेक हरेक सदस्य कार्यकारी छन् । केन्द्रीय कमिटीले भनेका कुराहरु १५ दिनभित्र नहुनुमा एउटै मात्र नेताको दोष छैन । समग्रतामा ९ जनाको सचिवालयले नै कार्यन्वयनका जिम्मा लिनुपर्छ ।

(स्वास्थ्यमन्त्री एवं नेकपा नेता ढकालसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment