Comments Add Comment

विद्यार्थीलाई यातना : जिम्मेवार को ?

शिक्षण संस्थाभित्र विद्यार्थीलाई यातना दिएका खबरहरु निरन्तर आइरहेका छन् । यसले शिक्षण संस्थाहरुप्रति प्रश्न चिन्ह उब्जिएको छ । कतै विद्यालयहरु यातना गृहमा फेरिँदै त छैनन् ? प्रहरी हिरासतमा समेत अभियुक्तलाई शारीरिक यातना दिनुहुँदैन भन्ने मान्यता बढ्दो छ । तर, किन शिक्षण संस्थाभित्र क्रुरता मौलाउँदो छ ?

शिक्षण संस्थालाई मात्र दोषी देखाएर अरु पक्ष यसबाट अछुतो हुन मिल्छ कि मिल्दैन ? के घटनासँग सम्बन्धित शिक्षक–शिक्षिकाहरुलाई कारबाही गरेर मात्र यो समस्याको समाधान होला ? यी घटनाहरुको सम्बन्ध हाम्रो अर्थसामाजिक मनोविज्ञानसँग के कस्तो छ ?

शिक्षाको उद्देश्यमाथि प्रश्नचिन्ह

अभिभावकहरुलाई आफ्ना बालबच्चाहरुलाई किन विद्यालयमा पठाइरहेछन् ? विषय यहाँबाट सुरु गर्नु मनासीब हुन्छ ।

यदि शिक्षा दिनुको उदेश्य आफ्ना सन्तानलाई शीप र असल संस्कृतिले उन्नत बनाउँनु हो भने अब सोंचमा परिवर्तन ल्याउन ढिलाई भैसकेकोछ । अभिभावकहरुको नजर जतिखेरसम्म बालबच्चाहरुले लिखित परीक्षामा प्राप्त गर्ने अंकबाट हट्दैन, तबसम्म यस्ता घटनाहरु घट्नुको साटो बढ्दै जाने देखिन्छ । परीक्षामा बनिबनाऊ कुरा लेखेर धेरै अंक प्राप्त गर्नु नै सन्तानको अन्तिम सफलता होइन ।

बढी अंक प्राप्त गरेर कुनै पोजिशन आउनु नै सबथोक अर्थात सफलता हो भन्ने मान्यताले घर गरेको छ । यसको दबाब शिक्षण संस्थाहरुमाथि परेको छ । शिक्षण संस्थाहरुको दबाब शिक्षक माथि छ । त्यसरी नै शिक्षकहरुको दबाब विद्यार्थीमाथि थोपरिएको छ । यसको नकारात्मक परिणामले विद्यार्थीहरुमाथि हिंसा र यातना भैरहेको छ ।

हामीकहाँ चर्चा भौतिक हिंसाको मात्र हुने गर्छ । तर, हर क्षण हुने मानसिक हिंसा सधैं ओझेलमा छ । बढी अंक ल्याएर प्रथम–दोस्रो हुनैपर्छ अन्यथा सफल होइदैंन भन्ने मानसिकताले गर्दा शिक्षण सिकाई प्रणाली पनि त्यही मानसिक साँचोमा फिट गरिएको छ । जसले गर्दा जीवनका तमाम परीक्षाहरु दिनबाट बालबालिकाहरु बञ्चित छन् ।

जिन्दगी आफैंमा एउटा ठूलो पुस्तक हो । त्यो पुस्तकका पानाहरु पल्टाउँदै जाने हो भने सिक्न, परीक्षा दिन र सफल हुन उनीहरुलाई भ्याइ नभ्याई हुन्छ । तर, हाम्रो शिक्षा प्रणाली र चिन्तनमा रहेको खोटले गर्दा यस्तो लाग्दैछ कि हामी बच्चाहरुलाई सृजनशील मानिस बनाउँन खोजिरहेका छैनौं । बरु धेरै अंक, डिग्री, एक थान जागिर र पैसावाला रोबोट बनाउँन खोज्दैछौं । यसमा बालबच्चाहरको कुनै दोष छैन या भए पनि सबैभन्दा कम छ ।

उपभोक्तावादी महत्वाकांक्षा

बच्चाहरुमाथि भैरहेको यातनाको कुरा गर्दा हाम्रो सामाजिक औसत मनोविाज्ञनको अध्ययन जरुरी छ । अहिलेको अर्थसमाजिक व्यवस्थाभित्र सहकार्य, सह अस्तित्व र समाजिक स्वार्थभन्दा पनि प्रतिस्पर्धा र नाफालाई केन्द्रमा राख्ने गरिन्छ । सफल हुनलाई अरुलाई उछिन्नैपर्छ भन्ने छ । “तिमी यूनिक बन, मौलिक र सृजनात्मक बन । आफ्नो जीवनलाई न्याय गर्नुको साथै समाजलाई पनि केहि योगदान गर ।” हुनुपर्ने स्कूलिङ यस्तो थियो । तर, त्यसको ठाउँमा हरेक कुरामा अर्को व्यक्तिसँग तुलना गर्ने तालिम दिइन्छ र भनिन्छ, “तिमीले सबैलाई जित्नुपर्छ । अरुभन्दा अगाडि जानुपर्छ ।

धेरैै अंक ल्याएर धेरै पढिलेखी टन्न पैसा कमाएर ठूलो मान्छे बन्नुपर्छ ।” यो स्कूलिङभित्र कहींनेर सहकार्य, सहयोग, सृजनशीलता, सामाजिक हीत र असल बन्ने कुरा हुँदैन । अन्ततः यस्तो प्रशिक्षणबाट तयार मानिस अरुलाई रबाफ देखाएर जिउने पत्रु उभोक्ता र खन्चुवा प्राणीमा परिणत गर्ने कुरा नै हुन्छ ।

त्यसमा अर्को गम्भीर सामाजिक मनोविज्ञान छ । अपवादबाहेक कुनै अभिभावकले आफ्ना बच्चाहरुलाई एउटा असल दार्शनिक, राजनीतिकर्मी, शिक्षक या समाजसेवी बनिदिए हुन्थ्यो भन्ने कामना देखिँदैन, सुनिँदैन । बच्चाहरुलाई आशीर्वाद दिंदा समेत “डाक्टर, इन्जिनिएर बन्नू है !” भनेको सुन्नमा आउँछ । मानौं कि यो दुनियमा डाक्टर, इन्जिनिएर बन्नु नै सफलताको अन्तिम खुड्किलो हो । यस्तो आग्रहयुक्त मानसिकताले शिक्षण संस्थाहरुमा निम्त्याउने भनेको हिंसा नै हो, अरु थोक होइन ।

विद्यालयमा विद्यर्थाीमाथि हुने हिंसा र यातना कम गर्ने हो भने शिक्षासम्बन्धि वर्तमान सोंचमा सबैले सुधारको निम्ति पहल गर्नु जरुरी । मेरो विचारमा विद्यार्थीहरुलाई दिइने यातनको पछाडि हाम्रो सामाजिक मनोविज्ञान मूल रुपमा दोषी छ । त्यसपछि मात्र व्यक्तिको कुरा आउँछ ।

अप्रत्यक्ष रुपमा हामीमाथि कस्तो सामाजिक प्रशिक्षण हाबी छ भन्ने कुरा नै प्रमुख हो । यसका लागि सरकार, शिक्षासँग सरोकार राख्ने निकाय, अभिभावक, शिक्षकदेखि विद्यार्थीको बीचमा जागरण पैदा गर्न ढिलाई हुँदासम्म यो समस्या घट्ने होइन बरु बढ्ने नै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment